एकताको सन्देशसहित प्रथम जिल्ला सम्मेलनको तयारी

एकताको सन्देशसहित प्रथम जिल्ला सम्मेलनको तयारी


रमेश विश्वकर्मा, गुल्मी

जिल्लाको संगठन विस्तार र विकासलाई सशक्त ढङ्गले अघि बढाउने उद्देश्यले नेपाली कांग्रेस जिल्ला समिति गुल्मीले प्रथम सम्मेलनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । गुल्मी कांग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले यही मंसिर २० र २१ गते प्रथम जिल्ला सम्मेलन गरिने जानकारी दिए ।

सभापति श्रेष्ठले पार्टीको विधानबमोजिम जिल्ला सम्मेलन, कार्यकर्ता प्रशिक्षण, आगामी वार्षिक कार्यक्रमको कार्ययोजना निर्माण लगायतका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।

नेपाली कांग्रेसको एकताको सन्देशलाई थप मजबुत बनाउन केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता, वरिष्ठ नेता रामचन्द्र पौडेलको विशेष आतिथ्यतासहित अन्य केन्द्रीय नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न हुने उनको दाबी छ ।

सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि जिल्लाका सबै स्थानीय तहमा यहि मंसिर ८ गते शनिबार विशेष भेला सम्पन्न गर्ने र सोही बमोजिम जिल्लाका ९३ वटै वडा समितिलाई थप क्रियाशील बनाउने जानकारी उनले दिए ।

मंसिर २ गते बसेको जिल्ला कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पार्टी सचिव खिलध्वज पन्थीले सरकार तथा स्थानीय तहले जनताको आवश्यकता बमोजिम कार्यक्रमहरु सञ्चालन गर्न नसकेको भन्दै आलोचना गरेका थिए । उनले वर्तमान सरकारको ९ महिने कार्यकाल र स्थानीय तहको हालसम्मको प्रगति समीक्षा गर्दै जिल्लामा सञ्चालन भएका एक दर्जनभन्दा बढि बहुवर्षिय आयोजनाहरुको निर्माण कार्य ठप्प भएको, निर्माण भएका आयोजनाहरु पनि गुणस्तरहीन तवरले सम्पन्न गरिएको र सुशासन कायम गर्न नसकेको जानकारी दिए ।

गुल्मी कांग्रेसले यसअघि नयाँ वर्ष २०७५ को अवसर पारेर गाउँ जाउँ गाउँमै रमाउँ ५० दिने महाअभियान नारासहित अभियान चलाएको थियो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति त्रैलोक्य प्रताप सेन, सचिव विष्णु कुमारी सापकोटा, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवर सहित जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको उपस्थिति थियो ।