विवादले बढायो करोडौँ नोक्सानको सम्भावना

विवादले बढायो करोडौँ नोक्सानको सम्भावना


muktiढोरपाटन सडक–विवाद – मुक्तिनाथ भुसाल
राष्ट्रिय महत्व बोकेको सालझन्डी–ढोरपाटन सडक लामो समयदेखि सन्धिखर्क सदरमुकाममा अलमलिएको कारण करोडौँ रुपैयाँको लगानी नोक्सान हुने सम्भावना बढेको छ । ६ वर्षदेखि आफ्नै रफ्तारमा अगाडि बढेको यो सडकखण्डको ट्रयाक खोल्ने काम बर्खाअघि नै सम्पन्न गरिएको थियो । रूपन्देहीको सालझन्डीदेखि पाल्पाको सत्यावती हँुदै सन्धिखर्क सदरमुकामको चुत्राबेंसी बजारमा पुगिसकेपछि सडक कताबाट लैजाने भन्ने विषयमा विवाद परेको छ । फुदवाङको अलुवाखोलादेखि गच्छेखोला हुँदै चुत्राबेंसी बजारको बगरमा पुगिसकेपछि करिब पाँच सय मिटर सडक अगाडि बढ्न सकेको छैन । चुत्राबेंसीका स्थानीयले सन्धिखर्कबाट र सन्धिखर्कबासीले चुत्राबेंसीबाट लग्नुपर्ने आ–आफ्ना अडान तेस्र्याएका कारण सडक अगाडि बढ्न नसकेको भुक्तभोगीको भनाइ रहेकोे छ ।
गच्छेखोलामा निर्माणाधीन करिब तीन करोड बजेटको पुल ढोरपाटन सडकले प्रयोग गर्ने अवसर गुमाउने हो भने त्यो क्षेत्रको चहलपलमा कमी आउनुको साथै अलुवाखोलादेखि चुत्राबेंसी बजारको बगरसम्म गरिएको लगानी यो सडकको नाममा खेर जानेछ । करिब दुई किलोमिटर सडकका लागि झन्डै पचास लाख रुपैयाँ लगानी भइसकेको सालझन्डी–ढोरपाटन सडक कार्यालयले जानकारी गराएको छ । चुत्राबेंसी बजारमा पुगिसकेको ढोरपाटन सडकको विवाद कारणवश समाधान हुन नसकेमा विकल्प के हुन सक्ला भन्ने विषयमा योजना प्रमुख मेघराज मरासिनीसँग जिज्ञासा राख्दा अलुवाखोलादेखि चुत्राबेंसी पुलसम्मको करिब साढे तीन करोड राज्यको लगानीलाई सदुपयोग गर्दै हाल रोकिएकै स्थानबाट भद्री खोलामा कज्वे निर्माण गरी सीधा अगाडि बढाउनु उत्तम विकल्प हो । तर, यो विकल्पमा सहमति हुन सक्दैन भने जिल्लाका राजनीतिक दल/प्रशासन/स्थानीय निकायलगायतका सरोकारवालाहरूको सहमतिमा आर्थिक/सामाजिक/प्राविधिक हिसाबले जहाँबाट सबैभन्दा उपयुुक्त ठानिन्छ त्यसमा कत्ति पनि विलम्ब नगरी निकास निकाल्नुपर्ने उनले बताए ।
सडक विवाद बढेपछि गठन भएको ढोरपाटन सङ्घर्ष समितिका अध्यक्ष रामहरि भुसालका अनुसार चुत्राबेंसी बजारमा खाई–नखाई कमाएको धनबाट आर्जित एउटा घडेरी वा घर ढोरपाटन सडकको तीस मिटर फराकिलो सडकले धेरैको बिचल्ली हुने कारण आफूहरू विरोधमा उत्रिनु परेको हो । नेपाली काङ्ग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालका अनुसार सालझन्डी–ढोरपाटनजस्तो महत्वपूर्ण सडक सदरमुकामबाट लैजानु सकारात्मक पक्ष हो । स्थानीयलाई कम क्षति हुने गरी सम्पूर्ण दल, स्थानीय, प्रशासनलगायतको सहमतिमा समस्या समाधानका लागि नेपाली काङ्ग्रेस सदैव तयार रहेको उनको भनाई छ । यस्तै, नेकपा एमालेका जिल्ला उपसचिव प्रेमनारायण गैरे पनि भुसालको भनाइमा सहमति जनाउँदै एमाले विकासविरोधी पार्टी नभएको र ढोरपाटन सडक जतिसक्दो कम क्षतिद्वारा सञ्चालनमा आउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्छन् । एमाओवादी नेता टोपबहादुर रायमाझीले पनि राज्यले सरकारी र सार्वजनिक जमिनको पहिचान गरी अतिक्रमित जमिन खाली गराएमा स्वतः समस्या समाधान हुने अभिव्यक्ति बारम्बार दिँदै आएका छन् ।
बूढापाकाहरूको भनाइलाई आधार बनाउने हो भने सन्धिखर्क र चुत्राबेंसी बजारको बीचमा रहेको बाँगी खोलाले कुनै समयमा ठूलै स्थान ओगटेको थियो । तर हालका दिनमा यो कुलोमा सीमित बन्न विवश बनेको छ र यसका चारैतर्फ अलिशान भवन निर्माण भइरहेका छन् । बाँगी खोलाको पुरानो चरन व्यक्तिको थियो वा सरकारी यकिन भन्न नसकिए पनि यसप्रति चासो देखाउने जिम्मेवारी प्रशासन अर्थात् राज्यको हो । अर्घाखाँचीमा विशेष नापीले आफ्नो कामकारबाही अगाडि बढाइरहेको परिवेशमा करोडौँ लगानी भइसकेको र सबैको चासोका रूपमा रहेको सालझन्डी–ढोरपाटन सडकको विवाद मिलाउनेतर्फ राज्यले ध्यान दिनु आवश्यक देखिए पनि लामो समय भइसक्दासमेत समस्या समाधानका लागि कुनै कदम चालिएको छैन । यसै विषयमा केन्द्रित भई प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसमक्ष जिज्ञासा राख्दा आफू जिल्लामा आएयता कसैले पनि समस्या छ भनी उजुरी नदिएका कारण आफूले विचार नपु¥याएको जवाफ दिए । प्रजिअ ढकालका अनुसार समस्याको गुनासो आफूमा आयो भने वार्ताद्वारा समाधान गर्ने कोसिस गरिने छ ।
आफ्नो गाउँ, टोल र जिल्ला बनाउने जिम्मेवारी सबै नागरिकको भए पनि अनुगमन र पहलकदमीका लागि राज्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ । रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान र बाग्लुङलाई प्रभाव पारेको ढोरपाटन सडक सन्धिखर्क सदरमुकामको चुत्राबेंसीमा आएर अड्किनु विडम्बनाको रूपमा लिन सकिन्छ । भविष्यमा चाइना जोडिने यो सडक सञ्चालन हुनासाथ हिमालदेखि तराईसम्म एकै दिनमा पुग्न र फर्कन सकिनेछ । निर्धारित समयअगावै कल्पना गर्नै नसकिएको पहाडी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न हुनु राष्ट्रको हितमा मानिए पनि चुत्राबेंसीको विवादले सडक र स्थानीयलाई समस्या गराएको छ । करिब ६ वर्र्षदेखि चर्चामा आएको यो सडकखण्डको महत्वलाई आँकलन गरी अलुवाखोलादेखि चुत्राबेंसी बजारको बगरसम्म आफ्नो उज्ज्वल भविष्यका लागि जमिन खरिद गरी घर बनाउनेहरूको भावनालाई सरोकारवालाहरूले बुझ्नु जति आवश्यक छ त्यति नै चुत्राबेंसी बजारमा ४ वा ६ आना घडेरी खरिद गरी घर बनाएका स्थानीयको समस्या पनि महत्वपूर्ण मानिन्छ । जुन अर्थमा पनि सरकारी र सार्वजनिक जमिनको मालिक राज्य हुने कारण चुत्राबेंसी बजारमा रहेका त्यस्ता जमिनको पहिचान गरी सालझन्डी–ढोरपाटन सडक सञ्चालन गर्नेतर्फ जिल्लाका दल, बुद्धिजीवी, व्यापारी, सङ्घ–संस्था र राज्य एकजुट बनेमा विवाद एक हप्ताभित्र समाधान हुन सक्नेछ । जुन कार्यका लागि प्रजिअ ढकालको आगामी कदम कस्तो रहने हो व्यग्र प्रतीक्षाको विषय बनेको छ ।