– सुदर्शन अर्याल
जनरल सर्जरी वार्डमा दुई घन्टा कुरेर बल्लतल्ल जँचाउले पालो पाएका रौतहटका पवन महतले आफ्नो कम्मर दुख्ने समस्या डाक्टरलाई भेट्नेबित्तिकै एकैसासमा सुनाए । ‘केहीबेर उभियो कि कम्मर दुख्छ, हिँड्न पनि सकिँदैन र उभिन पनि, के भएको होला ?’ यसरी सोधेका महतसँग कुनै प्रतिप्रश्न नगरी डाक्टरले ‘भिडियो एक्सरे गरेर ल्याउनुस्’ भनिन् । भिडियो एक्सरे गर्न कहाँ जाने भन्ने प्रश्नको उत्तर महतले ती डाक्टरबाट पाउन सकेनन् । बरु पटक–पटक सोध्दा ‘कहाँ जाने के गर्ने सबै म बताएर बसँु ? अरू बिरामीको उपचार गर्नुपर्दैन ?’ भन्दै हकारेकी डाक्टरसँग प्रतिवाद गर्ने कुनै आँट उनीसँग भएन र उनी पुगे अस्पतालकै भुँई तल्लामा रहेको ‘हेल्प डेस्क’मा । त्यहाँ पुग्दानपुग्दै त्यहीँ नजिकै उभिएका एक मानिस ‘के भयो ?’ भन्दै आए । सबै कुरा बताएपछि ‘आजै काम बन्छ’ भन्दै एक्सरे वार्डतर्फ लैजाँदा खुसी भएका महतको खुसी एकैछिनमा आक्रोशमा बदलियो । आजै काम बन्छ भन्दै लगेर ‘एउटा भिडियो एक्सरेको १३ सय रुपैयाँ लाग्छ’ भनेपछि मात्र ती मानिसप्रति शङ्का लाग्यो र बरु उपचार नै गराउन्न भन्दै हिँडेको महत बताउँछन् ।
अस्पतालका आवासीय चिकित्सकहरू अस्पतालको अनियमितता रोक्न भन्दै अस्पतालकै नाम नयाँ जुराएर ‘बिरामी अस्पताल’ राखी केही दिनअघि आन्दोलन गरिरहँदा माथिको घटनाले वीर अस्पताल डाक्टरहरूले भनेझैँ भौतिक पूर्वाधारले नभई ठगी र अनियमितताले बिरामी भएको पुष्टि भएको छ । ‘अस्पतालमा सुव्यवस्था कायम गराउन’ भन्दै आन्दोलन गरिरहेका डाक्टरकै कारण बिरामीहरू त उपचारमा ढिलासुस्तीको सामना गर्न बाध्य छन् नै, वीर अस्पतालमा बिरामीहरूलाई ठग्न बसेका ठगहरूलाई समेत यसले ठूलै मौका मिलेको छ ।
आवासीय चिकित्सक आन्दोलनमा गएपछि जनशक्ति कम रहेको भन्दै बिरामीले सहज रूपमा उपचार गराउन सकेनन् । यस्तो अवस्थामा छिट्टै उपचार गराइदिने भन्दै ठगहरूले बिरामीबाट चर्काे शुल्क लिने गरेका छन् । त्यसो त यस्ता ठगहरूले काम बनाइदिन्छु भन्दै पैसा असुलेर फरार हुने गरेको गुनासो पनि सुनिने गरेको अस्पतालका एक कर्मचारीले बताइन् । ती कर्मचारीका अनुसार त्यस्ता ठगहरू बिरामीहरूको भीड हुने समयमा दुई–तीनजनाको समूहमा पालैपालो बस्ने गरेका छन् । त्यस्ता ठगहरूले सकभर झुक्याएर ठग्ने र नभएमा एक दिनमा हुने कामको लागि पनि सात–आठ दिन लाग्छ भन्दै अत्याउने गरेका छन् ।
यसरी अस्पतालको मूल ढोकानजिकै बिरामीलाई सहयोग गर्न भनी खोलिएको सहयोग कक्ष पनि अस्पताल प्रशासनले भने सञ्चालनमा ल्याएको होइन । तर, ठगहरूका लागि भने यो बिरामी ठग्ने उपयुक्त ठाउँ बन्दै आएको छ । स्रोतका अनुसार यस्तो कार्यमा अप्रत्यक्ष रूपमा अस्पतालका चिकित्सकको समेत मिलेमतो रहने गरेको छ । यसरी ठगहरूमार्फत गएका बिरामीहरूलाई छिटो सेवा दिएबापत प्राप्त रकमको ३५–४० प्रतिशतसम्म चिकित्सकले पाउने गरेको स्रोतको दाबी छ ।
त्यसो त डाक्टरहरू पनि नियमित रूपमा उपस्थित हुने गरेका छैनन् । नियमित उपस्थित नहुने र एकै दिन आएर सबै हाजिर गर्ने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकै दुई दिनपछि टिकटमा लेखिएबमोजिमका डाक्टरहरू पनि उपस्थित नभएको र डाक्टरले बिरामीले राखेको जिज्ञासाको पनि झर्किएर उत्तर दिने गरेको बिहीबार जनरल सर्जरी वार्डबाट खुट्टाको जाँच गराएर फर्किएका राजेश शाहीको आरोप छ ।
डाक्टरहरूको यस्तो व्यवहार र ‘हेल्प डेस्क’ वरपर बसेर सहयोग गर्ने नाममा सोझासाझा बिरामीलाई ठगी गर्ने प्रवृत्ति बढ्दै गए पनि अस्पताल प्रशासन भने यस विषयमा अनविज्ञ छ । ‘यस्तो गुनासो पहिलोपटक सुन्दै छु । त्यस्तो पाइएमा दोषीलाई तत्काल कारबाही हुन्छ,’ वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले भने ।
तर, अस्पतालका एक कर्मचारी भने यस्तो समस्या पहिले पनि पटकपटक भइरहेको बताउँछन् । उनले भने, ‘यस्तो ठग्ने प्रवृत्ति पहिलैदेखि हुँदै आए पनि पीडितहरू गुनासो गर्न निर्देशकसम्म नपुग्ने भएकाले उहाँले पहिलोपटक सुनेको भन्नुभएको हुनसक्छ । यस विषयमा प्रशासन गम्भीर नहुँदा बिरामी ठगिने क्रम बढ्दै गएको छ ।’
पीडितहरू भने यसरी बिरामी ठगिनुको मुख्य कारण डाक्टरहरू नै रहेको बताउँछन् । उपचार गराउने डाक्टरले राम्रो व्यवहार गरेर बिरामीहरूलाई सल्लाह–सुझाव दिने हो भने पनि यस्तो प्रवृत्ति आफैँ कम हुँदै जाने उनीहरूको बुझाइ रहेको छ । आफूले तीनपटकसम्म सोधेको प्रश्नको डाक्टरले उत्तर नदिँदा नै आफू ठगको फन्दामा परेको रौतहटका महतले गुनासो गरे ।
वीर अस्पताललाई विशेष गरी गरिब, विपन्न, ज्येष्ठ नागरिक आदिका लागि उपयुक्त अस्पतालको रूपमा लिन सकिन्छ । यस्ता व्यक्तिलाई वीरमा तीन सय ३१ निःशुल्क शøया उपलब्ध छन् । जब कि चार सय ६० शøयामा एक सय २९ शøया मात्र सशुल्क छन् । गरिब तथा विपन्न नागरिकको अस्पतालमा ठगहरूको नियन्त्रण गर्न नसक्दा तीनै गरिब तथा विपन्न बिरामी नै ठगहरूको निशानामा पर्दै आएका छन् ।
वीर अस्पतालमा देशभरिका वार्षिक तीनदेखि साढे तीन लाखसम्म बिरामीले उपचार गराउने गरेको अस्पताल प्रशासनको दाबी छ । अस्पतालको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०७०/७१ मा तीन लाख ३९ हजार पाँच सय १७ जनाले ओपीडी विभागमा र ५१ हजार सात सय ५८ जनाले इमर्जेन्सीमा उपचार गराए ।
प्रतिक्रिया