माथिल्लो तामाकोशी ढिलाईप्रति ऊर्जामन्त्री पुनको चासो

माथिल्लो तामाकोशी ढिलाईप्रति ऊर्जामन्त्री पुनको चासो


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भएपनि विद्युत् उत्पादन हुने समय पछि धकेलिएको र लागत समेत बढ्दै गएको भन्र्दै मन्त्री पुनले चासो व्यक्त गरेका हुन् ।

पछिल्ला दिनमा आयोजनाको काम प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी यथाशिघ्र विद्युत् उत्पादन शुरु हुने वातावरण तयार पार्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन् । शुरुमा आयोजनाको लागत ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ ।

आयोजनाको भौतिक निर्माणको काम करीब करीब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादन मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ । लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन ।

यता, उत्पादन मिति सार्दै आइरहेको आयोजनाले आगामी असारमा परीक्षण उत्पादन शुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन शुरु गर्ने कार्यतालिका तय गरिएको थियो ।

मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमा नै समस्या समाधान गर्ने तयारी गरेका छन् ।