‘पच्चीस मिनेट गोप्य वार्ता’

‘पच्चीस मिनेट गोप्य वार्ता’


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र र नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहबीच महत्वपूर्ण वार्तालाप भएको छ । सोल्टी होटेलमा उहाँहरूबीच भएको २५ मिनेट लामो वार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, देशका समसामयिक राजनीतिक विषयमा वार्ता केन्द्रित भएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार राजा ज्ञानेन्द्रका जेठान सुरजशमशेर जबराका नातिको पास्नीमा आयोजित दिवाभोजपछि उहाँहरूको एकल भेटवार्ता भएको थियो । सोल्टी होटेलको छुट्टै कोठामा भएको उक्त वार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

मुलुकमा कम्युनिस्ट पार्टीको सरकार अस्तित्वमा रहेको, राजसंस्था पुनर्वहालीको चर्चा चलिरहेको र विगतमा गणतन्त्र घोषणा गराउन मुख्य भूमिका निर्वाह गर्ने कतिपय मुलुक कम्युनिस्ट सरकारप्रति असन्तुष्ट रहेको ठानिएका बेला काङ्ग्रेस पार्टीका वरिष्ठ नेता सिंहसँग पूर्व श्री ५ को भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । यद्यपि यो भेटघाट पूर्वनिर्धारित भने थिएन ।

पूर्व श्री ५ र वरिष्ठ नेता प्रकाशमान दुवै सुरजशमशेरको निम्ता मान्न त्यहाँ पुगेका बेला उहाँहरूबीच भेट हुन पुगेको हो । सो अवसरलाई सदुपयोग गर्दै दुई महत्वपूर्ण व्यक्तिहरूले आपसमा वार्तालाप गरेको बताइन्छ । गणतन्त्र घोषणापछि यति उच्चस्तरका नेता र पूर्व श्री ५ काबीच भेटवार्ता हुन सकेको थिएन । कुराकानीपछि छुट्टिने बेलामा सौहार्दपूर्ण भावमा उभिएको उहाँहरूको तस्बिर सार्वजनिक भएको छ ।