अरूको भलाइमै रहेछ परमानन्द

अरूको भलाइमै रहेछ परमानन्द


-वसन्तराज कुँवर
धेरै वर्षअघि एकदिन नार्कोनन् नेपालमा आएर दलबहादुर राई नामका पूर्वब्रिटिस सेनाका एक कर्मचारीले आफ्ना दुई छोराहरू ड्रग्समा फसेर ठूलो दु:ख पाएको पीडा पोखे । बुबाआमा नेपालमा र दुवै छोरा हङकङ बस्दारहेछन् । हङकङमा दुवै छोराको जीवन फुटपाथमै पुगेको रहेछ । आमाबुबाले तिनको ज्यान रक्षा गर्न बडो मुस्किलले उनीहरूलाई काठमाडौं त ल्याएछन् तर नेपालमा आएपछि उनीहरूको आतङ्क झनै बढ्न थालेछ । आमाबुबाले नै आफ्नै घरमा असुरक्षित महसुस गर्न थालेपछि सहाराका लागि उनीहरू नार्कोनन् नेपाल आएका रहेछन् ।
समस्या सुन्नेबित्तिकै नार्कोनन् नेपालले प्रहरी प्रशासनको समेत सहयोग लिई दुवै दाजुभाइलाई उपचार केन्द्रमा ल्यायो । उनीहरू केही दिनमै भागेर गई आमाबुबालाई काट्ने धम्की दिन थाले । नार्कोनन् नेपालले उनीहरूलाई पक्रेर फेरि फर्कायो । हेर्दाहेर्दै ती दाजुभाइ ड्रग्सबाट मुक्त भए र नार्कोनन्का कर्मचारी बन्नसमेत सफल भए ।
दुईमध्ये कमलजंग दाजु थिए । उनी सधैंजस्तो झगडा गरिरहने हुँदा हङकङ तथा नेपालका प्रहरी कारबाहीमा परिरहन्थे । उनको आतङ्कका सत्यकथाहरू विश्वास गर्न गाह्रो हुन्थ्यो । जब कमलजंग ड्रग्सबाट बाहिर आए, उनी कर्मचारी भएर स्कुलका विद्यार्थीलाई ड्रग्सविरुद्ध शिक्षा दिन थाले । यही क्रममा नगरपालिकाको मेयरको उम्मेदवार बनेका कमलजंगका बाबु दलबहादुरलाई अज्ञात व्यक्तिले गोली हानी अपाङ्ग बनाइदिए । बाबुको व्यवसाय सम्हाल्न कमलजंगले नार्कोनन् नेपालबाट बिदा मागे । मैले बिदा दिएँ । उनले गोली लागेका बाबुको स्याहारसुसार मात्र होइन पूरै व्यवसाय सम्हाल्न थाले । जुन बाबु कमलजंगलाई देख्दा मात्र पनि तर्सन्थे, त्यही कमलजंग रातदिन उनलाई स्याहार्न बसेको देख्दा उनी विश्वास गर्न सकिरहेका थिएनन् । जब पक्षघातबाट थलिएका उनलाई भेट्न म अस्पताल गएँ त्यतिबेला ती बोल्न नसक्ने बाबुले पहिले कमलजंगलाई हेर्दै दुवै हात उठाएर मलाई आशीर्हाद दिए । मैले कुरा बुझेँ । त्यतिबेला मेरा पनि आँखा रसाए ।
झन्डै एक वर्ष कमलले बुबालाई स्याहारसुसार गरी घर धाने । कुनैबेला उनीसँग डराएर घरै छोडी भाग्न बाध्य भएकी श्रीमती र बच्चाहरूलाई पनि सँगै राखी उनले माया दिन थाले । उनी बिहानै उठी सम्पूर्ण काम गरी केटाकेटीलाई स्कुल पुर्‍याउन पनि जान्थे । कमलजंगमा आएको यो परिवर्तन देख्दा हामी भावविभोर हुन्थ्यौँ ।
करिब दुई वर्ष घरको सेवा गरी भाइलाई घर चलाउने जिम्मा दिएर कमलजंग पुन: परिवारसहित हङकङ गए । मलाई भने पहिला त्यही ठाउँमा बिग्रेका कारण कमलजंग फेरि बिग्रलान् कि भन्ने डर थियो । उनी त्यसै स्थानमा बेस्सरी बिग्रिएका हुँदा त्यो स्थानमा जानु खतरनाक पनि थियो नै । हङकङ गएपछि कमलजंगसँग मेरो भेट भएन तर उनले राम्र्रै गरेका खबर सुनेको हुन्थँे ।
यसपटक भर्खरै अमेरिकामा एउटा पुरस्कार थाप्न गई र्फकंदा हङकङ छिर्ने मौका पाएँ । हङकङमा धेरै नेपाली ड्रग्समा परेका हुँदा म तिनलाई बचाउने कार्यक्रम सोचेर त्यहाँ पुगेको थिएँ । मैले कमलजंगको फोन पत्ता लगाई आफू त्यहाँ आउन लागेको बताएँ । कमलजंग एकदम खुसी भए । उनले मलाई आफूसँगै बस्न अनुरोध गरेँ, तर मैले भने नजिकै होटल खोजिदिन भनेँ । मे ११ मा बिहानीपख हङकङ विमानस्थल पुग्दा ‘नार्कोनन् टी-सर्ट’ लगाई विमानस्थलबाहिर कमल हामीलाई लिन आएका रहेछन् । उनी हामीलाई देखेर बच्चाझैं उफ्रे, दुवै हात जोडेर निहुरिए, मेरो सामान बोके र बसपार्कमा लगे । दुईतले बसमा चढुन्जेलमा नार्कोनन्मै उपचार गरी हाल त्यहाँ पुगेका विजय नामका भाइ पनि आइपुगे ।
कमलजंग अहिले त्यहाँ सुरक्षा अधिकृतका रूपमा जिम्मेवार काम गर्दा रहेछन् । उनी मेराअगाडि बच्चाझैं भएर प्रस्तुत हुन्थे । उनले बारबार भने, ‘सर, अहिले म ज्यादै खुसी छु, हजुरहरू नभएको भए म मरिसकेको हुन्थेँ ।’ उनको ‘मरिसकेको हुन्थेँ’ भन्ने शब्दले मलाई नरमाइलो लाग्यो तर पनि यथार्थ त त्यही थियो । वास्तवमै उनी मरिसकेका हुन्थे ।
बसबाट देखिने हरेक बिल्डिङ, बन्दरगाह, बजारहरू कमलले मलाई चिनाउँदै लगे । उनी आफूलाई नयाँ जीवन दिने नार्कोनन्का कर्मचारी देखेर खुसी मात्र होइन तिनको ऋण पनि तिर्न पनि प्रयास गरेझैँ देख्ािन्थे । उनी मलाई विभिन्न स्थानहरू चिनाउँदै थिए, म भने उनलाई वर्षौंअघि उनलाई नार्कोनन् ल्याउँदा हाडछाला मात्र भएको अवस्थाको कमलजंगलाई याद गरिरहेको थिएँ ।
मैले तीन दिन कमलसँग बिताएँ । एक दिन उनको ज्यादै ठूलो अनुरोधमा सँगै बसेँ । विश्वास गर्ने गाह्रो हुन्थ्यो, चौध वर्ष ड्रग्समा परी पटकपटक जेलसमेत पुग्न बाध्य भएका कुनै युवक उपचारपछि यतिसम्म पनि सुध्रन सक्छन् र समाजमा उच्च आदर्श र उत्पादक जीवन बिताउन सक्छन् भनेर । म कमललाई देखेर त्यो विश्वास गर्न बाध्य थिएँ । तीन दिनसम्म उनले मेरो सेवामै बिताए । मेरा लागि बिदा लिए । खुवाएकोखुवाएै गराए । अर्का सदस्य विजयले पनि मलाई जहाज चर्ढाई पहाडमा साक्लङ गराए । तिनीहरूले मलाई आफ्नै छोरालेभन्दा पनि बढी ध्यान दिए ।
र्फकने दिनअघि कमल र विजयसँग कसरी हङकङमा नेपालीलाई ड्रग्सबाट जोगाउने भन्नेबारेमा विचार-विमर्श भयो । कमल मलाई अझैं त्यहाँ बस्न अनुरोध गरिरहेका थिए, तर म बस्न मिल्ने अवस्थामा थिइनँ । विमानस्थलमा जाने समयमा उनले मेरी श्रीमतीलाई भनी चाउचाउका थुप्रै प्याकेट हालिदिए । मलाई फलफूलहरू किनिदिए । केही किनमेल गर्दा बाक्सा गह्रौँ भएकोले उनले बीचबजारमै काँधमा बाक्सा राखी बसमा पुर्‍याए । विमानस्थल सँगै आए र छुटि्टँदा उनले आँखाभरि आँसु पारे ।
कमलसँग छुटि्टँदा म ज्यादै खुसी र भावुक दुवै भएँ । उनीप्रति म कृतज्ञ थिएँ । धेरै मानिस उपचारमा नार्कोनन् आउँछन्-जान्छन् र उनीहरू खासै उपचारकेन्द्रका व्यक्तिहरूसँग सरोकार पनि राख्दैनन्, धन्यवाद पनि दिँदैनन्, तर कमल छुट्टै खालका थिए । कमलले पाएको नयाँ जीवनका लागि नार्कोनन् नेपालप्रति कृतज्ञ थिए । उनले पटकपटक भन्थे, ‘म नार्कोनन्को गुण तिर्नै सक्दिनँ, मेरो जीवनको कुनै मूल्य छैन ।’
अहिले कमल झन्डै २ लाख रुपैयाँ मासिक कमाउँदा रहेछन् । श्रीमती पनि कमाउँदी रहिछिन् । उनीहरूले दुवै छोराछोरीलाई डाक्टर बनाउने सपनाका साथ रकम जम्मा गर्दै रहेछन् । श्रीमतीले पनि मलाई देख्दा आँखाभरि आँसु पारी धन्यवाद दिइन् र मीठो खाना पनि खुवाइन् । कमलले नेपालको घर पनि धानेका रहेछन् ।
म नेपाल फर्कें । कहिलेकाहीँ मलाई लाग्थ्यो म प्रहरीमा उच्चतहमा पुग्न सकिनँ त्यसैले मैले चाहेको कुरा गर्न सकिनँ तर कमलजंग जस्ताकोे नयाँ जीवन देखेर फर्केपछि मलाई लाग्न थाल्यो, ‘यो नै मेरो जीवनको ठूलो कमाइ हो ।’ उनलाई भेटेर आएपछि दर्ुर्व्यसनमा परेकाहरूलाई नयाँ जीवन दिन म झनै उत्साहित भएको छु । मानिस ड्रग्सबाट निस्कन सक्छन् तर उपचारकेन्द्र जान जरुरी छ । कमलले काललाई जिते, तपाईंहरू पनि कमललाई बधाई दिन चाहानुहुन्छ भने फोन नं. ८५२५३९८२७०१ मा हङकङमा रहेका कमलजंगसँग कुरा गर्न सक्नुहुनेछ ।
जतिबेला म षड्यन्त्रपूर्वक सरकारी जागिरबाट हटाइएको थिएँ केही दिन मलाई लागेको थियो मबाट देश र जनतालाई सेवा गर्ने अधिकार छिनियो, तर अहिले आएर मलाई लागिरहेको छ कि हामीहरू सरकारी जागिर वा शक्तिमा नभई एक सामान्य नागरिकका हिसाबले पनि देश र जनताको अथवा दु:खमा परेका दाजुभाइको मद्दत गर्न सक्छौँ । आज कैयौँ मृत्युनजिक पुगेका युवक हाम्रो टिमको मद्दतले नयाँ जीवन पाएका छन् र विश्वभरि नै छरिएर उत्पादक जीवन बिताइरहेका छन् । जहाँजहाँ उनीहरू छन् म त्यहाँ पुग्दा उनीहरूले छोराछोरीलेझैं रेखदेख र मद्दत गर्छन् । एल. रोन हब्बर्डले भन्नुभएको छ, ‘हाम्रो जीवन अरूको भलाइका लागि खर्च गर्दा नै सुखी हुन्छ ।’ जतिबेला म कमलजंगजस्ता मृत्युलाई जितेर यो संसारमा सफल जीवन बिताउन सफल भएका मानिसहरू देख्छु र तिनलाई यो स्थितिमा ल्याउन आफूले पनि थोरै भए पनि योगदान दिनसकेको सम्झन्छु, त्यतिबेला मलाई गहिरो सुख प्राप्ति हुन्छ । कमलजंगको नयाँ जीवन मेरा लागि सुख दिने विषय भएको छ । यो नै हो मेरो जीवनको ठूलो कमाइ ।