धर्मसङ्कटमा उपप्रधानमन्त्री !

धर्मसङ्कटमा उपप्रधानमन्त्री !


मुलुककै जेठो र ठूलो वीर अस्पतालका एक वरिष्ठ न्युरो सर्जनले ‘चाकडी र घुस रकम पुऱ्याउन नसकेको’ भन्दै राजीनामा दिएका छन् । उनले दिएको राजीनामापत्रले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्राप्त उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धर्मसङ्कटमा पारेको छ ।

वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले आफ्नो असन्तुष्टि प्रकट गर्दै सोमबार पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामापत्रमा विगत एक वर्षदेखि तलबविहीन अवस्थामा रहेको, तर वीर अस्पतालको न्युरो सर्जरी विभागमा पद रिक्त हुँदाहुँदै र अर्को प्रतिस्पर्धी कोही नभएको अवस्थामा पनि सम्बन्धित पक्षको माग पूरा नगरेकै आधारमा आफ्नो पदस्थापन नगरिएको भन्दै राजीनामा दिनुपरेको व्यहोरा उल्लेख छ ।

डा. अधिकारीले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै राजीनामा गरेका हुन् । नवौँ तहमा कार्यरत डा. अधिकारीले आफूले वीर अस्पतालमा पदस्थापन हुन अथक प्रयत्न गर्दा ‘चाकडी र घुस’ उपलब्ध नगराएकै कारण पदस्थापनबाट झन्झटको सामना गर्नुपरेको आरोप लगाएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २०७५ वैशाख १४ गते स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै डा. अधिकारी विद्यार्थीहरूको थेसिस गाइडका लागि आवश्यक परेको भन्दै वीर अस्पतालमै दरबन्दी कायम गरिदिन आग्रह गरेको थियो ।

न्युरोलगायत विभिन्न रोगका सन्दर्भमा अनुभवी मानिने प्राडा अधिकारी बिरामीबीच सरल र लोकप्रिय मानिन्छन् । उनलाई वीर अस्पतालमै पदस्थापन गर्नुपर्नाको कारणसमेत पत्रमा उल्लेख छ ।

स्मरणीय छ, डा. अधिकारीको राजीनामापत्रले उपप्रधानमन्त्री यादव धर्मसङ्कटमा परेका छन् । राजीनामा स्वीकृत गर्दा आफूले घुस रकम मागेको, चाकडी चाहेको पुष्टि हुने र अस्वीकृत गर्दा उनलाई वीर अस्पतालमै पदस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएबाट स्वास्थ्यमन्त्री यादव धर्मसङ्कटमा परेका हुन् ।