सङ्क्रमणकालको मौका पारेर प्रधानमन्त्री बनेका अनेक आकृति र प्रवृत्तिलाई यो देशले व्यहोर्नु परिरहेछ, सायद संविधान जारी नभएसम्म नेपालले यस्तै अवस्थाको सामना गरिरहनुपर्नेछ । कुनै पनि देशले आफ्नो कार्यकारी प्रमुखबाट सुरक्षा, विकास र समृद्धिका निम्ति विशेष भूमिका निर्वाहको अपेक्षा गरेको हुन्छ । विपन्न र अल्पविकसित मुलुकहरूमा त्यसप्रकारको अपेक्षा अझै बढी हुने गर्दछ । तर, विपन्न मुलुकमा सान, मान र दामका लागि सर्वाधिक उत्तम साधन राजनीति हुने भएकोले जोकोही मानिस राजनीतिक क्रियाकलापमा संलग्न हुन चाहन्छन् र राजनीतिक आवरणमा निजी आकाङ्क्षा पूर्ति गर्न क्रियाशील रहन्छन् । ०६३ को राजनीतिक परिवर्तनयताको सात वर्षमा सात व्यक्ति प्रधानमन्त्री बने, छोटो समयमा धेरै प्रधानमन्त्री बनाउने विश्वकीर्तिमान नेपालले राख्यो, राजनीतिकर्मीहरूको ध्यान सत्ताकेन्द्रमा पुग्ने आकाङ्क्षामा सीमित हुँदा देशमा विद्यमान सबै प्रकारका समस्या जहाँको त्यहीँ रहन पुगेका छन् । परिवर्तनलाई संस्थागत तुल्याउँदै कानुनी राजको स्थापना गर्ने कार्यभन्दा प्रधानमन्त्री बन्ने आकाङ्क्षाले प्राथमिकता पाएका कारण देश प्रधानमन्त्री पदका आकाङ्क्षीहरूको बन्दी बनेको छ ।
प्रधानमन्त्रीको मुख्य काम संविधान होइन देश निर्माण हो, संविधान बनाउनकै लागि भनेर यहाँ भीमकाय संविधानसभा खडा गरिएको पनि छ, तथापि प्रधानमन्त्री बनेकाहरूको एउटै भनाइ हुने गर्दछ, ‘संविधान निर्माण नै मेरो प्रमुख कर्तव्य हो र मेरै कार्यकालमा संविधान जारी गरिनेछ ।’ सुशील कोइरालाले पनि संविधान निर्माणलाई नै प्राथमिकतामा राखेको दाबी गर्दै आउनुभएको छ र उहाँले आगामी माघ ८ गतेसम्ममा संविधान जारी गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गर्नुभएको छ । यद्यपि प्रधानमन्त्रीका रूपमा उहाँले त्यस निम्ति कुनै विशेष क्रियाशीलता देखाउन भने सक्नुभएको छैन । आफ्नो पालामा संविधान बनेको सन्तुष्टि लिन कुनै व्यक्ति प्रधानमन्त्री बनिरहनुपर्दैन, हाल जीवित रहेका हरेक नेपालीले आफ्नो पालामा संविधान बनेको सन्तुष्टि लिन सक्छन्– यदि बन्यो भने । जहाँसम्म भूमिकाको कुरा छ संविधानसभाका सदस्य र यसमा संलग्न हरेक राजनीतिक दलहरूले यस कार्यमा विशेष योगदान दिन सक्छन्, व्यक्तिविशेषले संविधान निर्माणको ‘क्रेडिट’ लिन सक्ने अवस्था नेपालमा छँदै छैन । त्यसैले कुनै प्रधानमन्त्रीविशेषले संविधान निर्माण आफ्नो पहिलो प्राथमिकता भन्छ भने ऊ देशका यावत् समस्याबाट भाग्न चाहन्छ या उसमा देश निर्माणको भिजन, योजना र कार्यक्रम छैन भनेर बुझ्नुपर्ने हुन्छ । विकास निर्माण, राष्ट्रिय समृद्धि प्राप्ति र शान्त एवम् सभ्य समाज स्थापनाको अगुवाइ गर्नेजस्तो महान् कार्य सम्पादन या सम्पन्न गर्न स्पष्ट र दूरदृष्टिकोणसहितको प्रतिबद्धता र इमानदारीको दरकार पर्दछ । दुर्भाग्यबस नेपाली राजनीतिमा दूरदृष्टिसहितको नेतृत्व यतिबेला एउटा तृष्णाको विषय बनिरहेको छ ।
स्वच्छ छविका इमानदार नेताको पहिचान बनाउनुभएका सुशील कोइराला देशको कार्यकारी प्रमुख बन्नुभएमा उहाँबाट के–कति काम हुनसक्छ भन्नेबारेमा कोइरालालाई नजिकबाट बुझ्नेहरू भ्रमित थिएनन् । भ्रम थियो त केवल कोइरालालाई टाढाबाट हेर्नेहरूमा । काङ्गे्रसबाहेकका राजनीतिक दल र सर्वसाधारण नागरिक कोइरालाप्रति सर्वाधिक आशावादी थिए, त्यसैले अधिक भ्रममा पनि यिनै थिए । प्रधानमन्त्री बनकोे ६ महिनामा कोइरालाप्रतिको भ्रमबाट सम्भवतः सबै मुक्त भइसकेका छन्, सुशील कोइरालाको प्रधानमन्त्री पदबाट मुक्ति अहिले जनजनको चाहना बनेको छ । प्रधानमन्त्री सुशील कोइरालाको स्थितिले सत्ताप्रति मानिसको मोह कुन हदसम्म हुँदोरहेछ भन्ने सन्देश दिइरहेको छ । यसरी प्रधानमन्त्रीको कुर्सी ओगटेर कोही महान् भएका छैनन् भन्ने नबुझेर हो या जानाजान उहाँले यसप्रकार व्यवहार प्रस्तुत गर्नुभएको हो, जे भए पनि ६ दशक लगाएर सुशील कोइरालाले बनाउनुभएको छवि उहाँ आफैँले ६ महिनामै ध्वस्त पारिदिनुभएको छ । पदीय उचाइ वृद्धिका लागि राजनीतिमा सहभागी भएकाहरू विगतमा सीधा उभिन, चलफिर गर्न र बोल्न सक्ने व्यक्ति प्रधानमन्त्री हुँदा तिनलाई विस्थापित गर्न अनेक ब्यूह रचना गर्दै हरतरहले सक्रिय हुने गर्दथे । तर, अहिले राम्रोसँग बोल्न, उभिन र हिँड्न नसक्ने सुशील कोइरालालाई प्रधानमन्त्री पदको बोझबाट मुक्ति दिई आरामीको बन्दोबस्त मिलाउन कोही कसैले अग्रसरता लिइरहेका छैनन्, यो आफैँमा रोचक छ । कोइरालापछिको प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा, केपी शर्मा ओली र रामचन्द्र पौडेलको नाम लिन थालिएको भए पनि उहाँहरू कसैले पनि कोइराला विस्थापनको योजना र अग्रसरता प्रस्तुत गर्नुभएको छैन । पदप्रतिको आशक्ति र क्यान्सरलाई समेत हैरान बनाउने क्षमतालाई खासखास कोइरालाहरूको विशेषता मान्न सकिन्छ । त्यसैले असक्त भएर सुशील कोइराला आफैँले पद त्याग गर्ने आशामा मौन प्रतीक्षा गरिएको हो भने देशको समय बर्बाद हुँदै छ भनेर तिनले बुझ्न आवश्यक छ ।
नेपाललाई यतिबेला चाहिएकोचाहिँ नरेन्द्र मोदीजस्तै गतिशील व्यक्तित्व हो, तर हाम्रो राजनीतिक वृत्तमा मोदीको कोटीका राजनीतिकर्मी कोही भएको आभास हुन सकिरहेको छैन । भएकैमध्येबाट काम चलाउनुपर्ने बाध्यताकाबीच ओली, पौडेल र देउवाको नाम सतहमा आएको हो । शेरबहादुर देउवासँग पटकपटक प्रधानमन्त्री बनेको अनुभव छ भने प्रधानमन्त्री पदको जिम्मेवारी लिने मौका नपाएका पौडेल र ओलीमा आफू प्रधानमन्त्री बन्न सके केही बढी गर्ने उत्साह र जाँगर रहेको अनुभूत गर्न सकिन्छ । सुशील कोइराला उल्लिखित तिनै नेताहरूमा सत्ता हस्तान्तरण गर्न इच्छुक देखिनुहुन्न । कोइराला थर नभएका कारण आफू स्वकीय सचिवको रूपमा टिक्न नसकेको भनी केही दिनअघि लक्ष्मण ढकालले दिएको सार्वजनिक बयानलाई गम्भीरतापूर्वक लिने हो भने प्रधानमन्त्रीको जिम्मेवारी गैरकोइरालालाई सुम्पन सुशील तयार हुनुहोला भन्ने विश्वास गर्न मिल्नेछैन ।
जोसुकै व्यक्ति भए पनि अबका प्रधानमन्त्री स्पष्ट विचार, दृष्टिकोण, नीति, योजना र कार्यक्रमसहित आउन् भन्ने आमअपेक्षा छ । संविधान निर्माणमा समेत निर्णायक र प्रभावकारी हस्तक्षेप गर्नसक्ने सामथ्र्य हाल चर्चामा आएको कुनै नेताले देखाए भने त्यो अनपेक्षित हुनेछ । देशमा उत्पन्न अराजकता, माफियागिरी, आपराधिक क्रियाकलाप, घुसखोरी र युनियानिज्मलाई नियन्त्रण गर्दै आर्थिक तथा भौतिक विकासलाई गति दिन सकेमा अबका प्रधानमन्त्रीलाई सफल मान्नुपर्ने हुन्छ । ०६३ यता प्रजातन्त्रप्रतिकै आस्था र विश्वासमा ह्रास आउने व्यवहार जो राजनीतिक वृत्तबाट भइरहेको छ यसलाई चिर्ने आत्मविश्वास र कार्यक्रम नभएका व्यक्ति प्रधानमन्त्री बनेको हेर्ने इच्छा जनताले राखेका छैनन् । अबका प्रधानमन्त्रीले दैनिक प्रशासनिकबाहेक आफूले गर्ने कामको निश्चित व्यहोरा अहिले नै सार्वजनिक गरे भने जनस्तरमा त्यसको सकारात्मक प्रभाव पर्न सक्दछ । प्रधानमन्त्रीको प्राथमिकतामा आर्थिक विकास पर्नुपर्छ, त्यसका लागि लगानीको वातावरण बनाउनु पहिलो कार्य हुनुपर्छ । टे«ड युनियानिज्म, आपराधिक क्रियाकलाप, अस्थिर एवम् दुईअर्थी कानुन र शान्ति सुरक्षाको अभाव लगानीका निम्ति बाधक बनेका छन् । भावी प्रधानमन्त्री यी समस्याको निदानमा स्पष्ट भएर अगाडि आउन आवश्यक छ । लगानीमैत्री वातावरण मात्र बनाउन सके भने त्यस्ता प्रधानमन्त्रीलाई सफल मान्न सकिन्छ र तिनले देशलाई ठूलै योगदान पु¥याएको ठानिनेछ । अहिले सुशील कोइरालाले पद त्याग गरेर नयाँ र गतिशील व्यक्तिलाई प्रधानमन्त्री बन्न सहयोग पु¥याउनुभएमा त्यसलाई उहाँको ठूलो योगदान मान्नुपर्ने अवस्था छ । तर, अबका प्रधानमन्त्रीलाई सानो काम गरेर ठूलो योगदान पु¥याएको ‘क्रेडिट’ मिल्ने छैन । देशको समय क्रमशः बर्बाद हुँदै गएको परिपे्रक्ष्यमा अबका प्रधानमन्त्रीले निश्चित समयभित्र गरिने निश्चित कामको सार्वजनिक प्रतिबद्धता प्रकट गरे भविष्यमा त्यही एउटा परम्परा बन्नेछ र देशमा कसले बढी काम गर्न सक्छ भन्ने सुप्रतिस्पर्धाको अध्याय आरम्भ हुनेछ । होइन भने अनेकौँ आकार–प्रकारका प्राणीलाई प्रधानमन्त्री बनाउन मात्र लोकतन्त्र स्थापना गरिएको भन्ने सन्देश जुन प्रवाहित भइरहेको छ त्यसैको पुष्टि मात्र हुनेछ ।
प्रतिक्रिया