– सिद्धार्थ गौतम
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट गत साउन तेस्रो साता गरिएको नेपाल भ्रमणको चर्चा नथामिँदै उक्त चर्चामा चार चाँद लगाउने गरी १५ अगस्ट (भारतीय स्वतन्त्रता दिवस)का दिन मोदीले नयाँदिल्लीमा भाषण दिए, ‘भारतले बुद्धभूमि नेपालबाट सिक्नुपर्छ ।’ यसबाट नेपाल र नेपालीको हृदयमा मोदीले आफ्नो स्थान अझ फराकिलो तुल्याए । आफ्नो दुईदिवसीय नेपालयात्रालाई त प्रधानमन्त्री मोदीले यति प्रशंसनीय र ऐतिहासिक सावित गरिदिए कि कट्टर भारतविरोधीहरूले समेत यतिबेला नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ वा फरक कोणबाट बुझ्न र विश्लेषण गर्न थालेका छन् । सदियौँको सम्बन्धभित्र पन्पिएको असमझदारी र द्वेषभावको तुष यति सहज किसिमले मेटिन सक्ने कल्पना ‘मै हुँ’ भन्ने राजनीतिक पण्डितहरूले पनि सायदै गरेका थिए होलान् । यस कोणबाट भन्नुपर्दा मोदी नेपालका लागि प्रिय तथा स्वयम् भारतका लागि स्तुत्य व्यक्तित्व बन्न पुगेका छन् भनिदिँदा अतिशयोक्ति ठहरिँदैन ।
मोदीको नेपालयात्रालाई यसरी उच्च मूल्याङ्कन गर्नुपर्ने कारण के छ ? वास्तवमा मोदीले नेपालका लागि के दिएका छन् या के गरिदिए र ? यस्ता प्रश्न पनि यहाँ कुनै–कुनै कोणबाट नउठाइएका होइनन् । झट्ट हेर्दा यो प्रश्न स्वाभाविकजस्तो पनि लाग्छ । तथापि, १७ वर्षपछिको कुनै भारतीय प्रधानमन्त्रीको भ्रमण भएकाले मात्र मोदीको नेपाल भ्रमण अहम् महत्वको ठानिएको होइन, यथार्थमै मोदीले ‘ऋषिमन’ प्रदर्शन गरी नेपाल र नेपालीको मन जितेका छन् । सोझै हात पर्ने गरी तत्काल भारतका नयाँ प्रधानमन्त्रीले के–कति दिए या नेपालले छिमेकी मित्रदेशलाई के दिन सक्यो भन्ने सवाल गौण हो, मुख्य कुरा त मोदीको भ्रमणले नेपाल–भारतबीचको सम्बन्धमा के–कति सकारात्मक तरङ्ग पैदा गर्न सक्यो र कति नवीन आयाम ल्यायो भन्ने नै हो । यस सवालको कसीमा मोदीको नेपाल–यात्रा चम्किलो कोसेढुङ्गा सावित भएको छ ।
मोदीले संविधान बनाउने कार्यमा जुट्न नेपाली नेता एवम् संविधानसभा सभासद्लाई मन्त्रमुग्ध तुल्याउँदै सुस्पष्ट भाषामा उत्प्रेरित गरे । मोदीले भाषणमा प्रयोग गरेको शब्द ‘ऋषिमन’ यतिबेला निकै चल्तीमा छ । संविधान कस्तो हुनुपर्ने र त्यो संविधान हासिल गर्न कस्तो मनोभावना हुनुपर्ने भन्ने सवालमा सुझाव दिँदै व्यक्तिगत, समूहगत, कुनै पनि खालको स्वार्थ नभएको विशुद्ध समाजसेवाले ओतप्रोत ‘बहुजनहिताय बहुजन सुखाय’ हुनुपर्ने भन्ने उनको ‘ऋषिमन’को आसय हो । हाम्रा नेताहरूले पनि मोदीको यस अकाट्य सुझावलाई सकारात्मक रूपमै बुझेको र मनन गरेको अनुभूति हुन्छ । यो हाम्रा लागि सानो उपलब्धि होइन । नेपालको समृद्धि हासिल गर्ने स्रोत के हो भनेर किताबको पन्ना पल्टाएजस्तै गरी मोदीले उदाङ्गै पारेर देखाइदिए । हाम्रो पर्यटन, जलस्रोत, लुम्बिनी, पशुपतिनाथ र जडीबुटीको महिमा उनले प्रस्ट्याइदिए । पटक–पटक यो विश्वलाई नै अचम्मित तुल्याइदिने गौतम बुद्धको जन्म भएको देश, राजा जनकको देश भनेर दोहो-याइदिए, जब कि हाम्रा नेताहरूले त्यसरी सुस्पष्ट सकारात्मक सन्देश जाने गरी गौरवसाथ कहीँकतै बुद्ध र लुम्बिनीको सन्दर्भ उच्चारण गरेका दर्विलो उपमा भेटिँदैन । यसरी बुद्ध र लुम्बिनीको महत्वसमेत छिमेकी देशका प्रधानमन्त्री मोदीले विश्वसामु झल्काइदिएका छन् ।
‘आफ्ना सम्भावनाहरूलाई उपयोग गर्ने सिलसिलामा छिमेकीको सहयोगको आवश्यकता महसुस हुन्छ भने भन्नुहोस्, हार्दिकतापूर्वक सहकार्य गर्न तयार छु’ भनेर प्रेमपूर्वक मोदीले जो भने, त्यसमा छलछामको कुनै गन्ध नरहेबाट नेपाल र भारतबीच जुन खालको शङ्कालु वातावरण थियो, एकप्रकारले अब निमिट्यान्न भएको छ । यस हिसाबले मोदीलाई महाभारतीय मानवसागरको बीचबाट मन्थन गरेर निस्केको एउटा अमूल्य रत्न नै भनिदिँदा पनि अतिरञ्जना भन्न मिल्दैन ।
मोदीको प्रशंसा यस लेखोटको उद्देश्य होइन, बरु छिमेकी भारतका प्रधानमन्त्रीका रूपमा उनले सिर्जना गरिदिएको माहोलबाट अब नेपालले कसरी आर्थिक विकास तथा मुलुकको समृद्धिका लागि लाभ हासिल गर्ने भन्ने सवालमा केन्द्रित हुने आग्रह हो । निकट भविष्यमै काठमाडौंमा सार्कको शिखर सम्मेलन आयोजना हुँदै छ । मोदीले नेपालको मन जितेका मात्र होइनन्, उनी आफैँ पनि नेपाल र नेपालीले दर्शाएको आतिथ्यभाव तथा भव्य स्वागत–सत्कारका कारण नेपालप्रति अन्तर्मनदेखि नै आकर्षित बन्न पुगेका छन् । छिट्टै नेपाल आउन आतुर रहेको उनको अभिव्यक्ति त्यसै आएको होइन । आगामी यात्राका क्रममा बुद्धजन्मभूमि लुम्बिनी जाने उत्कट अभिलाषा मोदीले दर्शाइसकेका छन् । लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुनु हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । किनकि, आजसम्म कुनै भारतीय प्रधानमन्त्रीले लुम्बिनीको भ्रमण नगरेको सन्दर्भबीच प्रधानमन्त्री मोदीको ऐतिहासिक यात्रापछि लुम्बिनीले आजसम्म नपाएको ‘एक्सपोजर’ पाउने ठोकुवा गर्न सकिन्छ । यसपछि विश्व बौद्ध समुदायले समेत मोदीलाई उच्च सम्मानको दृष्टिले हेर्नेछन् । बौद्ध चारधाममध्ये तीनवटा भारत (बोधगया, सारनाथ, र कुशीनगर) र एउटा नेपाल (लुम्बिनी)मा रहेको छ, मोदीको पाइला लुम्बिनीमा परेपछि मित्रराष्ट्र भारतबाटै करोडौँको सङ्ख्यामा बौद्ध तीर्थयात्रु लुम्बिनी ओइरिनेमा सन्देह राख्नैपर्दैन । यसले नेपालको पर्यटन तथा आर्थिक विकासमा कति टेवा पुग्छ, यहाँ सायद व्याख्या गरिरहनुपर्दैन । सायद यही सम्भावनाको चुरो ठम्याएर होला, समस्त लुम्बिनीवासीका साथमा सिङ्गै नेपाल मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुद्धको जन्मभूमि लुम्बिनीमा स्वागत गर्न आतुर बनेका छन् ।
लुम्बिनी र बुद्धको कुरा गर्दा बौद्धमार्गीको बाहुल्य रहेको छिमेकी चीन सन्दर्भबाहिर रहनै सक्दैन । त्यसमाथि पनि नरेन्द्र मोदी यस्ता भारतीय प्रधानमन्त्रीका रूपमा देखिँदै छन् जो इतिहासको कुनै कालखण्डमा कटुवत सम्बन्ध रहेको चीनसँग खुलेर मित्रताको हातेमालो गर्दै अघि बढ्न दृढ देखिएका छन् । गुजरातको मुख्यमन्त्री रहँदै पटक–पटक चीन यात्रा गरेका मोदीलाई चीनले पनि एक इमानदार छवियुक्त मित्रका रूपमा हेर्दछ । दुई विशाल एवम् समृद्ध छिमेकीबीच बढिरहेको आर्थिक सम्बन्धको लाभ नेपालले प्रचुर मात्रामा उठाउन सक्छ । वास्तवमा भारत र चीनबीच हुर्किंदो आर्थिक सम्बन्धमा नेपाल एक भरपर्दो पुल बन्न सक्छ, र यो भूमिका निर्वाह गर्दैगर्दा नेपालले स्वत: विकास र समृद्धिको बाटो पहिल्याउनेछ । छिमेकलाई अभावमै छोडेर आफ्नो समृद्धिमा रमाउन सकिन्छ भन्नेमा चीन र भारतका वर्तमान नेतृत्व सम्भवत: पटक्कै विश्वास गर्दैन । मोदीले त भारतको शानका लागि नेपालको विकास अनिवार्य रहेको अभिव्यक्ति मौका पर्दा दिँदै आएकै पनि छन् ।
अन्तमा, हालसम्म लुम्बिनीवासीप्रति राज्यले दर्शाउँदैआएको विभेदकारी रवैयामा मोदीको भावी लुम्बिनीयात्राले न्याय दिलाउने अपेक्षा गर्न सकिन्छ । मोदीको सम्भावित लुम्बिनी यात्राबारे चर्चा चल्दै गर्दा सरकारले मनोनीत गर्ने २६ सभासद्मा लुम्बिनीको ठेट प्रतिनिधित्व गर्ने व्यक्ति–व्यक्तित्वको चयन अपरिहार्य रहेको तथ्य स्मरण गराउनु सान्दर्भिक नै होला । लुम्बिनीको धार्मिक पर्यटकीय महत्वलाई अन्तर्राष्ट्रिय तहमा उठाउँदै नेपाल र नेपालीको समृद्धिका लागि सही तवरले भूमिका निर्वाह गर्न सक्ने पात्र चयन गरी संविधानसभामा स्थान दिलाउने कार्यमा सुशील कोइराला नेतृत्वको सरकारले पक्कै कञ्जुस्याइँ गर्दैन होला ।
(लेखक लुम्बिनी फाउन्डेसनका प्रेसिडेण्ट हुन् ।)
प्रतिक्रिया