पाठक मञ्च

पाठक मञ्च


pathakmanchकहाँ पुग्यो गायिका विष्णुको ‘रात्रिबस’ ?
एक दशकअघि बुटवल महोत्सवमा विष्णुको जादुमयी स्वर सुनेर सुन्दरमणि अधिकारीले गायिका बनाउँछु भन्दै विष्णुलाई काठमाडौंका लागि रात्रिबस चढाएका थिए । आज विष्णु यो देशकी महँगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणिले चढाएको विष्णुको जिन्दगीको रात्रिबस कहाँ पुग्यो कसैलाई पत्तो छैन । लाग्छ– विष्णु स्वयम् अनभिज्ञ छिन् । विष्णुको स्वर नसुन्ने त यो देशमा विरलै होलान्, तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाहा होला । देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश–विदेशको कन्सर्टमै देखापर्छिन् । उनीसँग आफ्नो न घर छ न एउटा मोबाइल नै । आखिर विष्णुलाई यस्तो कसले बनायो ? जवाफ खोज्न घोत्लिनै पर्दैन, यो सबको कारक सुन्दरमणि अधिकारी नै हुन् । विष्णु गीत गाउँछिन्, सुन्दरमणि पैसा बुझ्छन् । विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ । लाग्छ– विष्णुले सास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ ।
हुन त केही वर्षअघि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो, तर विष्णुले गाएर कमाएको करोडौँ पैसासँग गरे या विष्णुसँग ? आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमान्लाई हुन्छ ? विष्णु सुन्दरमणिको नजरबन्दमा छिन्, उनको अवस्था के छ कसैलाई थाहा छैन । न त उनका पिता तारा माझीलाई यसको जानकारी छ न दाजु बाबुराम माझीलाई नै । गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा । रिमोट सुन्दरको हातमा छ । यहाँ प्रश्न गर्नैपर्ने भएको छ– रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् ? डन चरी मारिँदा सदन अवरुद्ध गराउने दलका नेताहरू के गरिरहेका छन् ? यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहेका छन् ? एकमुष्ट जवाफ चाहियो ।
यसअघि गाियका विष्णु माझीको भूमिगत शैलीको जीवनका विषयमा निकै अघि एक साप्ताहिकले प्रकाश पार्ने जमर्को नगरेको त होइन । उक्त फिचरका सर्जकले पनि विष्णु माझीलाई उनीसँग विवाह गरेको भनिएका कलाकार सुन्दरमणिले सम्पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरेका थिए । ‘पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी विष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा । एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखापरेकी छैनन्,’ फिचरमा लेखिएको थियो । विष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ वर्ष बित्यो । स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ, तर कतै देखिन्नन् । समकक्षी कलाकारसँग उठबस छैन । कतिसम्म भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि पर्दा लगाएर गाउन बाध्य पारिएकोसम्म एक रेकर्डिस्टको भनाइ छ ।
गाएरै सबैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । जस्तो सञ्चार प्रविधिको यो युगमा उनीसँग मोबाइलसमेत छैन । उनको काठमाडौं बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका किन गुमनाम छिन् त ? उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिब दशकदेखि अनुत्तरित छ । विष्णुको करिअरलाई नजिकबाट नियालिरहेका र लोकसङ्गीतमा सक्रिय स्रष्टाहरू उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणि अधिकारीलाई । विष्णु माझी नेपाली लोक र दोहोरी क्षेत्रकी उज्ज्वल नक्षत्र हुन् । उनका गीत सुन्नेहरूले पनि उनको व्यक्तिगत जीवनको बारेमा जानकारी राख्दैनन् कि कसो हो ?
लगभग तीन वर्षको अन्तरालपछि पुन: गायिका विष्णु माझीको बारेमा यसरी लेख्दै छु । विष्णुको बारेमा आवाज उठाएबापत योभन्दा अगाडि मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो, तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु । चर्चित लोकगायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् । मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दूरी पर्छ । गायिका विष्णुबारे पछिल्लो समयमा सञ्चारमाध्यममा आवाज उठ्न थालेको छ र म चाहन्छु यथार्थ खुलस्त बाहिर आओस् अनि विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् ।
– बादल घिमिरे (कवि तथा गीतकार)