बाथबाट बच्न सुखी दाम्पत्यजीवन -नवीन उप्रेती

बाथबाट बच्न सुखी दाम्पत्यजीवन -नवीन उप्रेती


कुनै पनि दम्पतीबीच प्रेम र स्नेह रहनु आफैंमा सकारात्मक कुरा हो । यसले उनीहरूको वैवाहिक जीवन सुखद र सफल तुल्याउन अत्यन्तै मद्दत पुर्‍याउँछ । त्यसमाथि हालै गरिएको एक अनुसन्धानपछि आपसमा अधिक माया गर्ने दम्पतीलाई जोर्नीको दुखाइ हुँदैन भन्ने निचोडमा अनुसन्धानकर्ताहरू पुगेका छन् । ‘एक्लै जीवन बिताउने वा दु:खद् वैवाहिक जीवन व्यतीत गरिरहेका व्यक्तिलाई बाथको रोग हुने सम्भावना बढी हुन्छ,’ अमेरिकी अनुसन्धानकर्ता जेनिफर रिजले भनेकी छिन्, ‘बिहे गर्दैमा यो रोगबाट बच्न सकिने त होइन तर सुखी वैवाहिक जीवनले भने रोगबाट बच्न अवश्य मद्दत गर्छ ।’ बाथ त्यतिखेर लाग्छ जब प्रतिरक्षा प्रणालीले जोर्नीमा दबाब दिन्छ । यसले गर्दा जोर्नीको दुखाइ, सुन्निनेलगायतका समस्या देखिन सक्छन् । नाडी, हात तथा खुट्टाका औंला, पैतला र घुँडामा विशेष दुखाइ हुन्छ । यसले गर्दा रोगी अपाङ्ग हुनुका साथै जीवन जिउन असमर्थसमेत हुन पुग्छ ।

लादेनको सुत्ने कोठामा अश्लील भिडियो
आतङ्कवादी सङ्गठन अलकायदाका नाइके बिन लादेनको भौतिक अन्त्य भइसकेपछि उनीसँग जोडिएर अनेक चर्चा-परिचर्चा हुने क्रम कायम नै छ । यही क्रममा अमेरिकी गुप्तचर संस्था सीआईएको अगुवाइमा रहेको इन्टर एजेन्सी टास्क फोर्सले लादेनसँग जोडिएको एउटा नयाँ सन्दर्भ प्रकाशमा ल्याएको छ । जनाइएअनुसार लादेनको एवटावादस्थित ठेगानाबाट बरामद गरिएका विभिन्न सामग्रीबीच थुप्रै मात्रामा अश्लील भिडियो प्राप्त भएका छन् । लादेनको निवासबाट बरामद सामग्रीहरूबारे जानकारी जुटाइरहेको टास्क फोर्सले सो भिडियो कसले हेर्दथ्यो भन्ने निक्र्योलचाहिँ निकालिसकेको छैन । तर, ती सामग्री लादेनकै सुत्ने कोठामा रहेको एक काठको बक्सामा फेलापरेको बताइएको छ । स्मरण रहोस्, लादेनले पछिल्ला वर्षहरूमा इन्टरनेट, टेलिफोनलगायतका इलेक्ट्रोनिक वस्तुहरू प्रयोगमा ल्याउने गरेका थिएनन् ।

मरेपछि पनि सुख पाएनन् ज्याक्सनले
विश्वविख्यात पपपायक तथा डान्सर माइकल ज्याक्सन दिवङ्गत भएको केही वर्ष भयो, तर, उनको सम्पत्तिलगायतका व्यक्तिगत विषयसँग जोडिएका केही विवाद ताजै छन् । यी विवादको लहरमा हालै अर्को तरङ्ग पैदा गरेकी छिन् एक अमेरिकी महिला शेली स्मिथले । माइकलले आफ्नो जिन्दगी बर्बाद पारिदिएको दाबी गर्ने शेलीले भनेकी छिन्, ‘ज्याक्सनसँग यौनसम्बन्ध राख्दा मलाई हर्पिज ? दाद) रोग सर्‍यो, यसले अहिले मलाई हैरान बनाएको छ ।’ यसरी दादले आफूलाई निकै सताएको र यो रोग माइकल ज्याक्सनबाट नै सरेको दाबी गर्ने शेलीले ज्याक्सनको सम्पत्तिबाट एक करोड डलर छुट्याएर आफूले पाउनुपर्ने दाबी गरेकी छिन् ।

बच्चाको अवशेष कति पुरानो !
पुरातत्त्वविद्हरूले अलास्कामा साढे एघार हजार वर्ष पहिलेको हिमयुगकालीन बच्चाको अस्थिरपञ्चर फेलापरेका छन् । मरेपछि चिहानमा गाडिएको अन्दाजी तीन वषर्ीय उक्त बच्चाको अवशेषप्राप्तिलाई वैज्ञानिकहरूले असाधारण उपलब्धि बताएका छन् भने यसबाट उनीहरूले हजारौँ वर्षअघि एसियाबाट पलायन भई उत्तरी अमेरिका प्रवेश गर्ने मानिसको जीवनचर्या, सभ्यता, मृत्युपछिको संस्कार आदिबारे बुझन मद्दत मिल्ने आशा गरेका छन् । प्राप्त अवशेष र विशेषगरी दाँतको अध्ययनबाट उक्त शिशुको उमेर तीन वर्ष रहेको र हिमयुगीन कालखण्डको भएको निक्र्योलमा पुरातत्त्वविद्हरू पुगेका हुन् ।

हिरोइन बिग्रनुमा बाबुको हात
ड्रग्स तथा मदिरासेवन गरी खराब आचरण प्रस्तुत गरेको अभियोगमा गत वर्ष जेल तथा सुधारगृहमा केही महिना गुजारेकी हलिवुडकी विख्यात अभिनेत्री लिन्डसे लोहान यतिबेला पुन: जेलसजाय काटिरहेकी छिन् । यसपटक उनीमाथि कुनै डिपार्टमेन्टल स्टोरबाट महङ्गो जवारात चोरीे गरेको आरोप सावित भएपछि यो सजाय दिइएको हो । नाम र दामले सम्पन्न भएर पनि यस्तो खराब लतबाट लिन्डसे ग्रसित हुन पुग्नुको दोषी उनका बाबु माइकलले छोरी नभई आफूलाई ठानेका छन् । यसरी लोहान एकपछि अर्को गरी लगातार अनेक समस्यामा पर्नुको मूल कारण आफूले छोरीको उचित रेखदेख नगरेकैले गर्दा हो भनी माइकलले पश्चात्ताप गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।