छिमेकी मित्रराष्ट्र भारतले आफ्नो ६८औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ । हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको सबैभन्दा नजिकको छिमेकी देश भारतको स्वतन्त्रता दिवससँग कैयन नेपाली वीर तथा स्वतन्त्रता सेनानीका कथासमेत जोडिएर आउने सन्दर्भलाई मध्यनजर गर्दा मित्रराष्ट्रको खुसीसँग नेपाल पनि अछुतो रहन सक्दैन । त्यसमाथि यसपटकको भारतीय स्वतन्त्रता दिवस हाम्रा लागि खास प्रकारले सुखदायी बन्न पुगेको छ । भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपालीप्रति लालकिल्ला मैदानबाट दर्शाउनुभएको आत्मीय भाव तथा नेपाललाई दिनुभएको उच्च महत्वले यस्तो सुखदानुभूति गराएको हो ।
स्वतन्त्रता दिवसको खुसियालीमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बुद्धको जन्मभूमि नेपाल र नेपालीबाट भारत तथा भारतीयले सिक्नुपर्ने भनी दिनुभएको अभिव्यक्ति यतिबेला विशेष चर्चामा छ । हिंसाको बाटोमा लागेका विश्वभरका नौजवानलाई शान्तिको बाटोमा फर्किन नेपाल एक उत्कृट नमुना बनेको मोदी–अभिव्यक्ति हाम्रा निम्ति सुखदायक मात्र नभई नेपाल र नेपालीप्रति प्रधानमन्त्री मोदीको हृदयमा अगाध प्रेम तथा मित्रभाव रहेको पनि यसबाट सुस्पष्ट भएको छ । विश्वमञ्चमा नेपालको स्वाभिमान उच्च तुल्याउन उक्त मोदीवाणी एउटा सशक्त माध्यम बन्न सक्छ भन्नेमा तर्क–वितर्क गरिरहनै पर्दैन । एक विशाल, समृद्ध र शक्तिशाली छिमेकीले शान्ति र विकासको मार्ग पहिल्याउन छटपटाइरहेको नेपालजस्तो राष्ट्रप्रति दर्शाएको यो सद्भाव वास्तवमै स्तुत्य छ । हाम्रा आवश्यकता, समयको गति र भारतका प्रधानमन्त्रीको हार्दिकतालाई एक दुर्लभ अवसरका रूपमा बुझेर सदुपयोग गर्नेतिर लाग्ने हो भने नेपालको निमित्त मित्रराष्ट्र भारत एक विधाता नै सावित हुनसक्ने कुरालाई अतिरञ्जना ठान्न अवश्य मिल्दैन । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गर्नुभएको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीच सम्बन्धका आधारहरूलाई थप मजबुत तुल्याउनुका साथै द्विपक्षीय सम्बन्धका रूपान्तरणीय अवस्थालाई उत्तिकै प्रतिबिम्बित गरेको सन्दर्भ ताजै छ । नेपाल–भारत सम्बन्धमाथि कतिपय व्यक्तिविशेषले यदाकदा दर्शाउँदै आएका शङ्कालु दृष्टिकोणलाई सुदृष्टिमा बदल्न र द्विदेशीय सम्बन्धलाई नयाँ आयाम प्रदान गर्न भारतका प्रधानमन्त्रीको नेपालयात्रा सञ्जीवनीसरह बन्न पुग्यो । सन्देह, अनास्था वा अविश्वासका मलीन धब्बा कतै कुनाकाप्चामा रहेकै थिए भने पनि त्यो अब मेटिन पुगेको छ । कुम जोडेर उभिएका दुई छिमेकीका लागि यो लरतरो उपलब्धि होइन ।
नेपाल–भारत सम्बन्धको कुरा गर्दा दुईबीच सदियौँदेखिको सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धका आधार मात्र पर्याप्त हुँदैन । नेपालको आर्थिक विकास तथा समृद्धिका लागि भारतले पु-याएको योगदान त्यत्तिकै महत्वपूर्ण छ । नेपाल लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरेयताको अवधिमै पनि यहाँका मुख्य आर्थिक क्षेत्रहरूलाई समेट्ने गरी मित्रराष्ट्र भारतले अर्बौं आर्थिक अनुदानका परियोजना सम्पन्न गरिदिएको छ भने बहुस्तरीय कार्यक्रम समेटिएका कैयन अन्य परियोजनामा सहयोग जारी राखेको छ । प्रधानमन्त्री मोदीले नेपालयात्राका क्रममा गर्नुभएको सहयोगका कतिपय घोषणा नेपालको शान्ति, विकास र समृद्धिका लागि मित्रराष्ट्र भारतले दर्शाउँदै आएको चाहना वा प्रतिबद्धताकै द्योतकको रूपमा अथ्र्याउन सकिन्छ । सामाजिक–आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई अझै उच्चतम् तहमा विस्तार गर्नका लागि नेपालसँग हातमा हात तथा काँधमा काँध मिलाएर अघि बढ्ने भारतीय चाहना प्रधानमन्त्री मोदीले जो व्यक्त गर्नुभएको छ, छिमेकी मित्रदेशको यस सद्भावको उच्च सम्मानका साथ अधिकतम् लाभ उठाउन जनस्तरदेखि राज्यतहसम्मबाट भरपूर कोसिस गर्नु हामी सबैको दायित्व हुन आउँछ ।
स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत रनजित रायले दिनुभएको सन्देशमा उल्लेख गरिएझैँ पक्कै पनि नजिकको छिमेकीको नाताले नेपाल र भारत सभ्यतागत पुख्र्यौली सम्पत्तिका पनि साझेदार हुन् । दुई देशबीचको खुला सीमाले नेपाल–भारतबीचको अद्वितीय सम्बन्धलाई मात्रै उजागर नगरी जनता र सरकारका बीचमा रहेको घनीभूत सम्बन्धलाई समेत प्रस्ट्याइरहेको छ । छिमेकको मित्रले सदासयतापूर्ण सहयोगको हात दिँदै गर्दा राजनीतिक दलहरूले पनि समस्त नेपाली जनताको साथ लिएर राष्ट्रहितका खातिर जुट्ने प्रण गर्नुपर्छ । मुलुकको उन्नति–प्रगतिमा अहोरात्र सरिक भई जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्न र भावी पुस्तालाई युगीन विरासत उपलब्ध गराउने सिलसिलामा यो सुनौलो अवसर पनि हो । यस्तो दुर्लभ अवसरलाई पूर्ण रूपले सदुपयोग गर्न जुनसुकै दर्शन, विचार वा मान्यता बोकेकाहरू एकठाउँ जुट्नैपर्छ ।
प्रतिक्रिया