आजदेखि सवारी लाइसेन्स आवेदन खुला, घरमै बसेर फारम भर्न सकिने

आजदेखि सवारी लाइसेन्स आवेदन खुला, घरमै बसेर फारम भर्न सकिने


एक महिनादेखि बन्द सवारी अनुुमति पत्र लाइसेन्सको आवेदन आज शुक्रबारदेखि खुलेको छ । दसैं, तिहार तथा छठ जस्ता चाडपर्वका कारण लाइसेन्सको अनलाइन आवेदन बन्द भएको थियो । तर, नयाँ ट्रायल र फारम नखुले पनि रिट्रायल भने दसैंलगत्तै सुचारु गरिएको थियो ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायका अनुसार लाइसेन्स आवदेन खुलाउन सबै तयारी पूरा भइसकेको बताए । ‘लामो समयको अन्तरालपछि खुल्ने अनलाइन लाइसेन्स आवेदनले विभागको साइट तथा अन्य प्राविधिक समस्या आउन सक्ने भन्दै सजकतासमेत अपनाएका छौं ।’ उनले भने, ‘आवदेकले आज १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लिक गरी अनलाइन फारम भर्न सक्नेछन् ।’

अनलाइन फारम भर्दा तथा आवेदन दिँदा सेवाग्राहीलाई कुनै पनि बाधा तथा अवरोध नपरोस् भन्ने हिसाबले यातायात विभागले विभिन्न यातायात कार्यलायका दुई दर्जन कर्मचारीलाई तालिम दिएको छ । कुनै पनि प्राविधिक समस्याले आवेदनमा समस्या नआउने विभागका कर्मचारीको भनाइ छ ।

विभागका महानिर्देशक लावण्यकुमार ढकाल पेन्डिङमा रहेका करिब ६ लाख चालकलाई लाइसेन्स अब चाढै उपलब्ध हुने बताउँछन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मालिका नामक कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा दिएको थियो । गत केही हप्ता अगाडि पेन्डिङमा रहेका ६ लाख सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन मालिका कम्पनीलाई दिए पनि लाइसेन्स छपाइको अवस्था उस्तै छ । तर विभागबाट लाइसेन्स लिनुपर्ने पेन्डिङमा रहेका ६ लाखले अझै लाइसेन्स पाएका छैनन् । पुराना पाइपलाइनमा रहेको मागलाई पूरा गर्न सकिरहेको छैन । मन्त्रालयले छपाइको काम उक्त कम्पनीलाई अहिलेसम्म हस्तान्तरण गर्ने सकेको छैन । यस विषायमा यातायात विभाग अन्योलमा छ ।