निजगढ हब र वीरबलको तातो !

निजगढ हब र वीरबलको तातो !


‘नमच्चिने पिङ्गको सय झट्का’ भने झैँ औचित्यहीन र देशको औकात नभएपनि जबर्जस्ती देख्न लगाइएको सपना हो निजगढ विमानस्थल । निजगढको बारेमा स्वयम् राज्य र कथित योजनाविद् नै भ्रम र अविश्वास पालेर बसेका छन् । यसको प्रमाणको रूपमा निजगढ विमानस्थलको औचित्य रहे/नरहेको सुझाव दिन बनेको समितिले तिनै अन्यथा अभीष्ट राखेर राजनैतिक र प्रशानिक पहुँचमा निजगढको सपना बेचिरहेका गिरोहको प्रभाव र दबाब अनुरुपको प्रतिवेदन दिनुलाई लिन सकिन्छ । जनतालाई थाहा छ- यो बन्दैन, बन्नुको औचित्य र औकात पनि छैन । त्यसैले यो योजनालाई ‘माघको जाडोमा पोखरीभित्र नाङ्गै रातभर कसरी बस्यौ ?’ भनीलाई वीरबल अकबरले सोध्दा ‘महाराज, कसैले फुलचोकी डाँडोमा आगो बालेको रहेछ त्यसैको तातोमा आनन्दसँग बिताएँ’ भनेजस्तो हास्यास्पद तर्क लेपेर उक्त सुझाव समितिले राज्यलाई मुर्ख बनाउने प्रयास गरेको छ । विश्वले न्यूनस्तरको विवेक भएको सुचिमा राखेकोलाई थप प्रमाणित गर्ने यो भ्रमित योजना र दिएको सुझाव पनि हो । देशभर बनेका भ्यु टावर, कङ्क्रिटको रुख र स्थानीय उत्पादन झल्काउने संरचना र यो योजनामा केही फरक छैन ।

निजगढको प्रस्तावित विमानस्थल पर्यटकीय हब बनाउने भनिएको छ । लुम्बिनी, पोखरा र त्रिभुवन विमानस्थलको उपयोगिता सुन्य र विकल्पविहीन त होइन नि ! २० वर्षपहिले २ खर्ब अनुमानित गरिएको योजनामा अहिलेको लागत ७ खर्ब हाराहारीमा पुग्छ र, आर्थिक हैसियत नभएकोले समयमै पूरा हुन नसक्दा यसको लागत झनै बढ्ने निश्चित छ । हाम्रो आर्थिक हैसियत र निर्माणको औचित्य के ? बनेकै खण्डमा पनि के त्यसले देशलाई आर्थिक फाइदा दिन सक्छ ? २० वर्षअगाडि कोरिएको त्यो सपना जस्तो विभिन्न असम्भवलाई सम्भव देखाउन धुर्त तर्क गर्ने वीरबल र अकबरको कथा मान्ने हो भने पनि सम्भावनाको ‘तुष’ पनि अब मरिसक्यो । निजगढ पर्यटकीय हब बन्नै सक्दैन, किनभने यो २० वर्षमा हाम्रो नजिक नयाँदिल्लीमा विश्वको ठुलो र दोस्रो व्यस्त विमानस्थल बनिसक्यो (४ लाइन को रनवे ) । इन्दिरागान्धी विमानस्थलले अबको दुई वर्षपछि वार्षिक १०० मिलियन यात्रुको सेवा पुऱ्याउने लक्ष्य र क्षमताको तयारी गर्दै अगाडि बढेको छ । यसैबीच थाइल्याण्डको स्वर्णभूमि, सिंगापुरको चांगीलगायत छिमेकी भारत (विश्वका ७ ठुला विमानस्थल) र चीनमा विश्वकै ठुलामध्यका दर्जनौँ विमानस्थल निर्माण भइसक्यो । साथै, चीनको तिब्बतमा मात्र पाँच ठुला विमानस्थल बनिसक्यो र उत्तर प्रदेश (भारत)को अयोध्या र वनारसमा ठुला तथा सुविधायुक्त विमानस्थल बनिसक्यो । त्यसको प्रतिष्पर्धामा ‘निजगढ’ हब बन्ने सम्भावना छैन । उत्तर प्रदेशको अयोध्या र बिहारको बुद्धगया आज विश्वभरका हिन्दु र बौद्धहरूको प्रमुख गन्तब्य बनेको छ भने यी दुई धार्मिक पर्यटकहरू समेत हवाइजहाजबाट सिधै नेपाल आउने पर्यटक संख्यामा न्यूनीकरण हुने नै छ । किनकि, भारतीय जहाजहरूको उडानले अब छिट्टै विश्वसंजाल कब्जा गर्दैछ, हामी भने माछाबिनाको पोखरीमा जालो हाल्ने मुर्ख्याइँ गर्दैछौं, अर्थात् जहाजबिनाका विमानस्थल रचना गर्न हौसिँदै छौँ !

विगत् २० वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा मुख्य दुईथरि पर्यटक आउने गरेको देखिन्छ । एक- धार्मिक पर्यटक (बुद्धमार्गी र सनातनमार्गी), दोस्रो- प्राकृतिक दृश्यावलोकन गर्नेहरू हुन् । चीन, भियतनाम, कम्बोडिया, भारतमा जस्तो विकासको नमुना हेर्न पनि होइन अनि थाइल्याण्ड, इन्डोनेसियामा जस्तो मनोरञ्जनलक्षित पर्यटक पनि छैनन्, न त ब्यवसायगत सम्मेलन नै यहाँ हुन्छ । सनातनी हिन्दुहरू पनि भारतमा निर्माण भएको विश्वस्तरीय सडक-सुविधाको कारण सडक यातायातमा आउने छन् । कारण, भर्खर निर्माण सम्पन्न भएको अयोध्या र बनारसले दक्षिण भारतलाई जोडिसकेको छ भने अर्कोतिर २० वर्षअगाडि भारतको पर्यटन विकास बोर्डले बुद्धगयालाई सम्पूर्ण भारतलगायत विश्व पर्यटनको सर्किट संजाल बिछ्याइसकेको छ । विश्वभरका बुद्धमार्गीहरूको पहिलो गन्तब्य पनि भारतको उत्तर प्रदेश बनेको छ । यहाँनेर सोचनीय के छ भने अबको ५/७ वर्षमा भारतका दुई बिमान कम्पनी एयर इन्डिया र इन्डिगोले हज्जार भन्दा बढी ठुला जहाजमार्फत विश्व पर्यटन बजार कब्जा गर्दैछन् । स्मरण रहोस्, हालै एयर इन्डियाले २५० वटा एयर बस र ४७० वटा बोइङ खरिद गरेको छ । त्यसैगरी इन्डिगोले ३० वटा एयर बस ३५०/९०० सहित ५०० बोइङ खरिद गर्ने भएको छ । यसरी यी दुई बिमान कम्पनीको नाममा प्रत्येक हप्ता एक नयाँ बिमान भुक्तानी (डेलिभरी) भइरहेको छ ।

यसरी दुई छिमेकीको ठुला विमानस्थल र आफ्नै ध्वजाबाहक हज्जारौँ विमानमार्फत विश्वका पर्यटकलाई आफ्नै देशमा गन्तब्य पार्ने हुन् । अमेरिका, यूरोप, अष्ट्रेलिया, क्यानाडालगायतका देशबाट भारत र चीनमा सिधा उडान सुरु भइसक्यो भने हामीले आफ्नो देशको ध्वजाबाहक विमानको अभावमा कसरी पर्यटकीय हब बनाउन सक्छौं ? ४० वर्षपहिले पनि अन्तर्राष्ट्रिय उडान गर्ने देशमा नेपालका चारवटा जहाज थिए, आज पनि चार नै छन् । अनि कसरी भन्न सकेको निजगढ पर्यटकीय हब बनाउने वा बन्छ भनेर ! लाज लाग्नुपर्ने होइन यो देशका शासक र योजनकारलाई ? आज हामीलाई कम्तिमा १५ ठुला जहाजको आवश्यकता छ, तर बिनाजहाज ‘पर्यटकीय हब’को सपना बेच्ने हाम्रो नेतृत्व वर्गको पछिल्तिर दूराभीष्टका लागि बिचौलियाको पहुँच के ‘वीरबलको न्यानो’भन्दा कम छ ? निजगढ जहाजबिनाको विमानस्थल पानीबिनाको कुवा र नदीबिनाको पुलजस्तै होइन र ? आफ्नो जहाज नहुँदा अरु देशको जहाजको भरमा कसरी विमानस्थल चल्छ ? कुन देशमा चलेको छ ? अहिलेसम्म नेपालमा गल्फ, लुफ्थान्सा, अस्ट्रियन लगायत कैयन विमान कम्पनीले आफ्नो उडान रद्द गरेका छन्, र भोलि पनि यस्तै हुनेछ । पर्याप्तमात्रामा आफ्नै जहाज नहुँदा पोखरा र लुम्बिनीबाट अन्तर्राष्ट्रिय उडान गर्न नसकेको तर्फ सोच्नु पर्दैन ? त्यसैले जबर्जस्ती निजगढको ‘सपना’मा फजुल बजेट खर्च गर्न तत्काल रोक्नैपर्छ ।

नेपालले पहिले आफ्नै जहाजबाट कम्तिमा एसियाली राष्ट्रहरूको सबै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पहुँच पुऱ्याउन सक्नुपर्छ । त्यसको लागि कम्तिमा १५ वटा ठुला जहाज भयो भने पोखरा र लुम्बिनीबाट ५/५ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ विमानले अन्तर्राष्ट्रिय उडान भर्नुपर्छ । नेपालको भूगोल तथा जनसंख्याको आधारमा भएका तीनै विमानस्थललाई २४ घण्टा संचालन गरे पुग्छ । विकल्प खोज्नेहरूले नयाँ वा थप विमानस्थलको औचित्य पुष्टि गर्न पहिले आफ्नो देशको भूगोल, जनसंख्या, आर्थिक स्थिति, अन्तर्राष्ट्रिय उडानको पहुँच र क्षमताबारे गहन अध्ययन गर्नुपर्छ । जस्तो भनौँ, नयाँदिल्लीको इन्दिरागान्धी विमानस्थलले अर्को दुई वर्षपछि वार्षिक १०० मिलियन यात्रुलाई सेवा दिन सक्ने क्षमताको निर्माण गरिसक्यो । हाम्रो त्रिभुवन विमानस्थल, लुम्बिनी र पोखराको लक्ष्य र क्षमता के-कति हो ? कहिलेदेखि लुम्बिनी र पोखराबाट हाम्रो ठुलो जहाजले अन्तर्राष्ट्रिय उडान गर्छन् ? हाम्रो देशमा के-कस्तो कारणले कति पर्यटकको वार्षिक वृद्धि हुन्छ ? धार्मिक र प्राकृतिक पर्यटनमा सीमित हाम्रो पर्यटन उद्योगलाई कुनै समुहको दबाबमा कताको ‘स्मार्ट सिटी’सँग जोड्नुको अन्तर्य र अभीष्टलाई चिर्न नसक्नु हाम्रो शासक र योजनकारहरूको विवेकहीनता र गैरजिम्मेवारीपनको प्रमाण हो ।

विकल्प के ?

१. पेरिस, इस्तानबुल (टर्की), दोहा, दुबइ दर्जनौँ अन्य ठुला विमानस्थल जस्तैगरी हालकै ‘टिआईए’लाई धेरै बिस्तार गर्न सकिन्छ । अहिले भएको टिआईए लाई दक्षिण मनहरा खोला र उत्तर बागमती किनारसम्म बिस्तार गर्ने र पूर्व अहिलेको पेप्सीकोला जाने बाटो र पश्चिम एरपोर्ट गौशाला जाने सडक समेतलाई अन्डरपास गर्ने, भक्तपुरबाट काठमाडौं आउने सडकलाई ६ लाइनमा अन्डरपास गर्ने, साथै अर्को ६ लाइनको बाटो मनहरा कोरिडोरमा बनाइ पाटन पुग्ने र बागमती हुँदै काठमाडौं पुग्ने बनाउने, कोटेश्वर क्षेत्रमा चक्रपथबाहिर पर्ने सबै घर-जग्गा चल्तीको तीन गुणा मुआब्जा दिएर स्थानान्तरण गराउने !

२. पश्चिम र पूर्वको जमिनमाथि पिलर उठाइ दुवैतर्फ चौडाइ बढाउने, टावर र दमकल/एम्बुलेन्सलाई उत्तर र दक्षिणको कुनामा स्थानान्तरण गर्ने । यीबाहेक सबै कार्यालयलाई भूमिगत गर्ने, पूर्वी भागमा छोटो रनवे बनाउने, तब दुई लाइन धावनमार्ग आरामले बन्छ । एक लाइन छोटो रनवे आन्तरिक र दोस्रो अन्तर्राष्ट्रिय उडानका लागि बनाउने । सबै कवाडी जहाजको ब्यवस्थापन गरी अन्य निजी बिमानहरूको बेस स्थान स्थानान्तरण गर्ने । अर्थात्, आन्तरिक उडान गर्नेहरूकोे बेस (मुख्यालय वा रात्रि पार्किङ स्थान) काठमाडौं उपत्यकाबाहिर पोखरा, लुम्बिनी, विराटनग, धनगढी, नेपालगञ्ज या जुन जहाज कम्पनीलाई जहाँ उचित हुन्छ त्यहीँ पार्किङ गर्ने सुविधा दिने ।

३. सेनाको ब्यारेक समेतलाई भूमिगत गर्ने वा स्थानान्तरण गर्ने । विश्वमा कहाँ छ विमानस्थलमा जोडिएको सेनाको ब्यारेक ? किन त्यहाँ चाहियो ? भीभीआईपीको लागि हो भने सम्बन्धितको निवासमा हेलिप्याड बनाउने र एयर लिफ्ट गरेर विमानस्थल लैजाने/लेराउने गर्न सकिन्छ । विश्वमै नभएको ‘विमानस्थलमा सलामी’ किन नहटाउने ? दिनुपर्ने भए सम्बन्धितको कार्यालय वा निवासमै दिने अथवा यो अर्को पाटो रह्यो, ठुलो इस्यु त होइन ।

४. यसरी मनहरादेखि बागमतीसम्म धावन मार्गको लम्बाई बढाउन सकिन्छ । अहिले रहेको पूर्व पश्चिम मध्य भागलाई चौडा गर्दा एयरबस ३८० (८०० )समेत ल्याण्ड गर्न सक्छ ।

५. यसो गरेपछि पूर्वी भाग मात्र आन्तरिक उडान र उसको छुट्टै धावनमार्ग हुनेछ भने पश्चिम भाग अन्तर्राष्ट्रिय हुनेछ र, ह्याङ्गर (पार्किंग)लाई अहिले आन्तरिक विमानहरू र सेनाले ओगटेको जमिनसम्म बिस्तार गर्न सकिन्छ । यसको मतलब कम्तिमा ३० जहाज अट्ने हुन्छ । लुम्बिनी र पोखरालाई सुविधाजनक बनाउँदा अन्तराष्ट्रिय उडानको भार टिआईएमा घटाउन सकिन्छ । यसो भयो भने नेपालको लागि प्रयाप्त हुन्छ । पछि आर्थिक हैसियत बलियो भयो भने लुम्बिनी, धनागढीमा विमानस्थल फैलाउन सकिन्छ ।

६. गौचरनको पुरानो बाटो हालको पेप्सीचोकदेखि सिधा पश्चिम सिनामंगल सम्म चार लेनको सुरुङमार्ग बनाएर कोटेश्वरको सवारी चापलाई सहज पार्न सकिन्छ । यसो गर्दा जमिन अधिकरण खर्च बच्यो, वातावरण संरक्षण भयो, विवाद हट्यो ! ७–८ खर्बको ठाउँमा ४०-५० अर्बले हाम्रो आवश्यकता पूरा हुन्छ ।

तसर्थ, भूमाफिया र अन्य राजनैतिक कुदृष्टिको अभीष्ट पूरा गर्न निजगढको लागि रुनु र विवाद÷बहस गरिराख्नु पर्दैन । नेपालको न्यून जनसंख्या वृद्धिदर, बिग्रँदो आर्थिक अवस्था र सरदर १३ दिनमात्र बस्ने (प्रत्येक दिन सरदर ४१ डलर मात्र खर्च गर्ने) सस्ता पर्यटक आउने तथ्यांकलाई योजनाकारहरूले मनन गर्नुपर्छ । भुटान जस्तो देशले त दैनिक न्युनतम १०० डलर खर्च गर्न सक्ने पर्यटकलाई मात्र अनुमति दिन्छ अनि हामी भने ४१ डलर खर्च गर्ने पर्यटक आउने जान्दाजान्दै ‘पर्यटक हब’ बनाउने विमानस्थलको कुरा गरेर समय खर्च गरिरहेका छौँ । यो त वीरबलको तातो जस्तो कुरो मात्र हो । आर्थिक र ब्यवहारिक धरातलमा रहेर मात्र कुनै पनि योजना अगाडि बढाउनुपर्छ । सबै विकल्प खोज्नु या रोज्नुपर्छ । कुनै अन्य अभीष्टको लागि राष्ट्रले औकातबाहिरको योजना बनाउने मुर्खता गर्नु हुँदैन । भनिन्छ, ‘सय रुपियाँ छ भने २० को ब्याग किन र ८० ब्यागभित्र राख ! तर हामी भने सय रुपियाँ छ भने ९० रुपियाँकोको ब्याग किन्छौँ र १० मात्र ब्यागमा राख्छौँ ।’