‘यस्तो अवस्था कसैलाई नआओस् !’

‘यस्तो अवस्था कसैलाई नआओस् !’


bichar– सुदर्शन अर्याल
धनकुटाकी जानुका भट्टराई (नाम परिवर्तन) केही दिनअघि आफ्नो फेसबुकको अति विश्वासिलो साथीले बारम्बार काठमाडौं आउन आग्रह गरेपछि उसै अपरिचित साथीसँग बाँकी जीवनका सुखदु:ख साट्दै बिताउने उद्देश्ले त्यही युवकको विश्वासमा परिवारलाई समेत खबर नगरी काठमाडौं आइन् । काठमाडौंमा एकजना पनि सहारा नभएकी भट्टराई तब मात्र छाँगाबाट खसेजस्ती भइन् जब उनले बाँकी जीवन सँगै बिताउने सपना देखेको युवक न त उसले भनेको ठाउँमा लिन आयो न त सम्पर्कमा नै रह्यो । त्यसपछि भने उनी एकाएक असामान्य बनिन्, उनलाई दिउँसै मध्यरातको अनुभव भयो । ‘घर जाऊँ भने कसैलाई खबरै नगरी आएर पहिले नै घर जाने बाटो बन्द गरिसकँे, अब कहाँ जानू ?’ निन्याउरो अनुहारमा शनिबार काठमाडौंको बानेश्वरमा भेटिएकी भट्टराईले दु:खेसो पोख्दै भनिन् ‘यस्तो अवस्था कसैलाई नआओस् !’
त्यस्तै, काठमाडौं अनामनगरमा बस्ने रामेछापकी दीपिका तामाङ (नाम परिवर्तन)लाई पनि फेसबुकले गर्दा नै अनावश्यक तनाव र बेइज्जतको समेत सामना गर्नुप-यो । उनको समस्या थियो पासपोर्ट ह्याक गरी अश्लील तस्बिरको प्रयोग गरेको । उनको फेसबुकको पासपोर्ट ह्याक गरी उनको फेसबुक पेजमा अश्लील तस्बिरहरू पोस्ट गरी उनको बदनाम गराउने प्रयास गरिएको थियो । पहिलोपटक यस्तो समस्यामा परेकी तामाङले सोध्दै खोज्दै यसविरुद्ध उजुरी गर्न भनी प्रहरीकहाँ पनि पुगिन् । तर, सबै कुरा बुझ्दा उजुरी झन् समस्या मात्रै थपिने देखेपछि बरु यस्ता सामाजिक सञ्जालबाट टाढै रहनु उपयुक्त ठानेर चलाउनै छाडेको उनी बताउँछिन् ।
माथिका यी घटना अहिलेको बदलिँदो समाजसँगै सामाजिक सञ्जालमा बढ्दै गएको विकृतिको ज्वलन्त उदाहरण हो । यस्ता सामाजिक सञ्जालमा देखिएका विकृतिले एउटा कुनै व्यक्तिविशेषको मानमर्दन गर्ने मात्र नभएर सामाजिक सुव्यवस्था र सामाजिक सद्भावलाई समेत खलल पु-याउने चेष्टा गरिरहेको छ । तर, यसको नियन्त्रण गर्ने जिम्मा पाएको प्रहरी प्रशासनले यसको रोकथामका निम्ति कुनै प्रभावकारी काम गर्न नसक्दा दिन प्रतिदिन यस्ता गतिविधि बढ्दै गइरहेको छन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको तथ्याङ्कअनुसार हरेक वर्ष साइबर अपराधअन्तर्गत पनि सामाजिक सञ्जालमा हुने अपराधविरुद्धका उजुरीहरू वर्षेनी दुई गुनाभन्दा बढीले वृद्धि हुने गरेको छ । सामाजिक सञ्जालमा भएका अपराधविरुद्ध आ.व. ०६७/६८ मा १२ वटा उजुरी दर्ता भएकोमा त्यसको ठीक एक वर्षपछि उजुरीको सङ्ख्या बढेर ३२ वटामा पुग्यो । यो तथ्याङ्क आ.व. ०६९/७० मा आइपुग्दा बढेर ५८ वटा पुगेको छ । त्यसो त उजुरी दर्ता भएको विषयमा प्रहरीले पनि मुद्दा चलाउन खासै पहल गरेको भने पाइँदैन । यस्ता अपराधहरूमा प्रहरीले कारबाही गर्नेभन्दा मेलमिलापको नाममा अपराधीलाई उन्मुक्ति दिने गरेको छ । आ.व. ०६९/७० मा दर्ता भएको ५८ उजुरीमध्ये एउटा उजुरीको मात्र प्रहरीले अदालतमा मुद्दा दायर गरी बाँकी सबै मेलमिलाप आदिको बहानामा त्यसै छाडिएको महाशाखाका एक कर्मचारीले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७०/७१ मा भने १६ वटा उजुरी दर्ता भएकोमा १६ वटै उजुरीको मुद्दा अदालतमा दर्ता भएको थियो । यसबाहेक गत आवमा इमेलबाट धम्की दिने दुई, गैरकानुनी तथ्याङ्कविरुद्ध दुई, ह्याकविरुद्ध एक र कपीराइटविरुद्ध एक उजुरी दर्ता भएकोमा ती सबैविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।
यसरी दिन दुगुना रात चौगुना गरी सामाजिक सञ्जाल प्रयोगकर्ता र यसका अपराधहरूसमेत बढ्दै जाँदा पनि यसको अनुसन्धान गर्ने निकाय भने हनुमानढोकाको एउटा कोठाबाट विस्तार हुनसम्म सकेको छैन । यस्ता साइबरसम्बन्धी अपराधहरू देशमा जुनसुकै स्थानमा हुन सक्ने भए पनि यसको अनुसन्धान गर्ने अधिकार भने काठमाडौं प्रहरीलाई मात्र रहेको छ । त्यसैले पनि प्रभावकारी रूपमा काम गर्न नसकेको प्रहरी प्रशासन स्वयम्को गुनासो छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी विद्युतीय अपराधको अनुसन्धान गर्ने पहुँच नै प्रहरीलाई पर्याप्त नभएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ऐन नै संशोधन गरेर विद्युतीय अपराधको अनुसन्धान गर्ने क्षेत्राधिकार देशभरका अनुसन्धान गर्ने प्रहरीलाई दिनुपर्छ, अनि मात्र यस्ता अपराधलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ ।’
विद्युतीय सञ्चारमाध्यमका यस्तै अराजक गतिविधि रोक्न नेपाल सरकारले विद्युतीय कारोबार ऐन २०६३ जारी गरेको छ । उक्त ऐनले ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ भनी स्पष्ट व्यवस्था गरेको छ । तर, यो कानुनलाई लिखतमा मात्र सीमित भई कडा रूपमा कार्यान्वयन गर्न नसक्दा यस्ता समस्या घट्नुको सट्टा दिनप्रतिदिन बढ्दो छ ।
नेपालले परापूर्वकालदेखि नै ‘अनेकतामा एकता’को मन्त्रलाई सदा जप्दै आएको छ । यही पहिचान र ‘अनेकतामा एकता’को मन्त्रमार्फत नेपालले आज विश्वलाई एकताको पाठ सिकाएको छ । तर, पछिल्लो समय विभिन्न सामाजिक सञ्जालले सदियौँको यो सद्भावमा खलल पु-याउने चेष्ठा गरिरहँदा कतै कुनै दिन हामी आफैँ आपसी मनमुटाब र झगडाको सिकार हुने त होइनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ । नेपाली समाजमा सामाजिक सञ्जालका यस्ता अपराध खासै प्रहरीको निगरानीमा नरहने हँुदा पनि दिन प्रतिदिन यस्ता अपराधले सामाजिक सञ्जालका पेजहरू भरिन थालेको सामाजिक सञ्जाल प्रयोगकर्ताले आरोप लगाउने गरेका छन् ।
विशेषगरी फेसबुकको बढ्दो पहँुचले गर्दा फेसबुकलगायतका सामाजिक सञ्जालमा कानुनी रूपमा बन्देज गरिएका सामग्रीसँगै सामान्य मानिसका लागि पाच्य नहुने सामग्रीसमेतले दिनप्रति दिन प्रदर्शन गर्ने प्रवृत्तिले कतिपय मानिस बिनाकारण बदनामसम्म बन्न पुगेको घटनाहरू प्रशस्त मात्रामा पाइन्छ । यस्ता समस्यालाई समयमा नै समाधान गर्नतर्फ सबैको चासो नजाने हो भने एक दिन सामाजिक सञ्जालकै कारण ‘अनेकतामा एकता’को पहिचानलाई एकादेशको कथा बन्ने भन्दै यसतर्फ समयमा नै ध्यान पु-याउनुपर्नेमा विज्ञहरूको सुझाव रहेको छ ।