– मीना सुवेदी
देशमा तिजको रमझम सुरु भएको छ । नेपालीको मन चाडपर्व भनेपछि फुरुङ्ग हुन्छ । प्रत्येक चाडपर्वले नेपालीको जीवनमा नयाँ उमङ्ग र पे्ररणा ल्याउन मद्दत गर्ने र तिजसँगै छिट्टै महान् पर्व दशैँ र तिहारसमेत आउने हुनाले तिजको आगमनले खुसी छरेको हो ।
अटल सौभाग्यको कामनाका साथ हिन्दू नारीहरूले भगवान् शिवको पूजा–अर्चनासहित मनाउने हरितालिका अर्थात् तिज भाद्र शुक्ल द्वितीयाका दिन सुरु हुन्छ । यसै दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तिज पर्व पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुने चलन सनातनदेखि चल्दै आएको छ । महिलाको महान् धार्मिक पर्वका रूपमा लिइने तिजको व्रतमा पतिको लामो आयुको कामना गरी निराहार ब्रत बसेर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्रो गरेर ब्रत पूरा गर्ने परम्परा छ । तिजको दिन रातो पहिरनमा सुन्दर गहनाले सिंगारिएका नारीहरू टोल–छिमेकमा रहेका शिवमन्दिरमा गएर शिव–पार्वतीको पूजा–आराधना गर्दै नाचगान गरी मनको वह पोख्ने गर्छन् ।
पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी तिजको ब्रत बसेर सफल भएको धार्मिक किंबदन्तीसँग जोडिएको छ । यसैले तिजको अवसरमा अविवाहित युवती पनि ब्रत बस्ने गर्छन् । यस पर्वमा निराहार बसी शिव–पार्वतीको पूजा–आराधना गर्नाले विवाहित महिलाको सौभाग्य वृद्धि हुने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको छ । महिलाहरू सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिनु नै तिजको महŒव होे । काठमाडौंको पशुपततिनाथलगायत अन्य शिवमन्दिरहरूमा बिहानैदेखि रातो कपडा पहिरिनेको भीड लाग्छ । त्यसो त भगवान्को आराधना मात्रै तिजको परिचय होइन । तिजका अवसरमा गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलन अर्को सुखद पक्ष हो । विवाहित चेलीको वर्षभरिमा एक दिन भए पनि तिजमा माइत जान पाउने र आफ्ना बाल्यकालका साथीसङ्गीसँग भेटघाट गरी विभिन्न गीत र नृत्यबाट मनोरञ्जन लिने हुनाले चेलिबेटीका लागि यो पर्वको विशेष महŒव रहन्छ ।
तिजमा चेलिबेटीलाई माइती पक्षले लिन जानैपर्छ । आफ्नो जन्मघर छाडेर टाढिएका चेलीलाई वर्ष दिनको तिजमा माइतीले लिन नजाँदा दु:ख लाग्छ । जब चेलीहरू माइती आउँछन् तब मात्र सबैलाई खुसी र आनन्दको अनुभव हुन्छ । कर्मघरमा रहेका चेलीलाई तिज आउनुभन्दा सात–दश दिन अघिदेखि नै माइतीबाट लिन पठाउने चलन हुन्छ । माइती लिन नआएसम्म बुहारीलाई नपठाउने चलनसमेत छ । बूढाबूढी भइसके पनि माइती वा मामाघर जान महिलालाई सधैँ हतार हुन्छ ।
तिजका दिन विवाहित महिला मात्र होइन स–साना बालिकाले समेत बिहानै उठेर नजिककै नदी, खोला, तलाउ, कुवा वा धारामा स्नान गर्छन् । सक्नेले दिनभरि निराहार ब्रत बसी राति पनि शिव–पार्वतीको पूजाआजा गर्नुका साथै तिजका गीत गाएर जाग्राम बस्छन् । चौथीका दिन पनि बिहानै स्नान गरेर शुद्ध भई ब्रत गरेपछि मात्र खाना खान्छन् । तिजको चौथीलाई गणेश चतुर्थी भनिन्छ । गणेश चतुर्थीका दिन साँझ चन्द्रमाको दर्शन गर्नुहुँदैन, झुक्किएर चन्द्रमाको दर्शन गरियो भने पनि कलङ्क लाग्छ भन्ने धार्मिक मान्यता छ । पञ्चमीका दिन पनि विवाहित नारीहरू नजिकैको जलाशयमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझेर शरीरमा माटो लेपन गरी स्नान गर्छन् । दिनभरि अरुन्धतीसहित कश्यप, अतृ, भारद्वाज, विश्वमित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा गरेर हलोले नजोतिएको अन्न वा फलफूल खान्छन् । पञ्चमीका दिन राति पनि धेरै नारी एकै ठाउँ भेला भई तिजका गीत गाएर रमाइलो गर्छन् । पञ्चमीको भोलिपल्ट चेलिबेटीहरू आ–आफ्नो घर फर्कन्छन् ।
अन्तमा, हिजोआज तिजमा अस्वस्थ प्रतिस्पर्धा गरी महँगा लुगा, गहना लाउने चलन बढ्दो छ । यसो गर्नु ठीक होइन, किनकि तिजको भीडभाडमा गहना चोरिने र अन्य दु:खद् घटना पनि घट्न सक्छन् । साथै कुनै पनि चाडबाडका नाममा बढी तडकभडक र अनावश्यक खर्च गर्ने बानी हटाउनसमेत अभियान नै चाल्नु अपरिहार्य भएको छ ।
प्रतिक्रिया