नयाँ शक्तिको खाँचो भएकै हो त ?

नयाँ शक्तिको खाँचो भएकै हो त ?


bichar– इन्द्रबहादुर बराल
वर्तमान राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको आवश्यकताबारे पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका नेता डा. बाबुराम भट्टराईले विचार सार्वजनिक गरेलगत्तै विद्युत्जस्तै मुलुकभर प्रवाहित हुन पुग्यो । अझै पनि नयाँ राजनीतिक शक्तिको औचित्य र आवश्यकताको विशेष चर्चा–परिचर्चा चलि नै राखेको छ । यसले के सङ्केत गर्दछ भने मौजुदा प्रमुख भनिएका राजनीतिक शक्तिमा नेपाली जनता पूर्णरूपले आश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले सुषुप्त तरिकाले विश्वासिलो अर्थात् भरपर्दो राजनीतिक सङ्गठन वा पार्टीको आवश्यकता महसुस गरिएको हुनुपर्छ । एकाएक एकजना स्थापित नेताको एउटा अभिव्यक्तिले यति ठूलो चर्चा पाउनुलाई सरकार, व्यवस्थापिका–संसद् र संविधानसभाले सामान्य रूपमा लिनुहुँदैन भन्ने देखिन्छ । यदि नयाँ शक्तिको प्रसङ्ग र सान्दर्भिकतालाई सामान्य र हलुका ढङ्गले मात्रै बुझ्ने कोसिस भयो भने नि:सन्देश दुर्भाग्य नै हुनेछ । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भई सरकारसमेत निर्माण भएर संविधान बनाउने प्रक्रिया थालनी हुँदा–नहँुदै अनायासै विकल्पको खोजी हुनुलाई अत्यन्तै गम्भीरतापूर्वक लिनुपर्छ । यद्यपि, कसैले चाहँदैमा तत्काल नयाँ शक्ति उदय भइहाल्ने भन्ने होइन र यसो भन्दैमा नयाँ शक्तिको उदयलाई रोक्न पनि सायद सकिन्न, मिल्दैन । नेपालको राजनीतिक इतिहासलाई केलाउने हो भने नयाँ शक्तिको खोजी भएकै छैन भन्न सकिँदैन । यसर्थ, वर्तमान सरकार र समग्र संविधानसभालाई उक्त नयाँ शक्ति निर्माणको खाँचो दर्शाउनेहरूले कम्तीमा पनि खबरदारी गरेको भने हुन सक्छ ।
अहिले आमनेपाली जनता यो संविधानसभाले अघिल्लो संविधानसभाको नियति भोग्न नपरोस् भन्ने चाहन्छन् । त्यसका लागि सुशील कोइरालाको सरकारले गहन जिम्मेवारीका साथ आफ्नो दायित्व पूरा गर्न मन, वचन र कर्मले दह्रो पाइला चाल्नुको विकल्प देखिँदैन । यदि तदारुकतापूर्वक संविधान निर्माणदेखि अमनचयन कायम गराउँदै जनचाहनाअनुरूप अगाडि बढ्न सकिएन भने पक्कै पनि डा. बाबुराम भट्टराईले भनेजस्तै ‘नयाँ शक्ति’ले विद्यमान प्रमुख राजनीतिक दलहरूलाई विस्थापित गराउँदै चामत्कारिक प्रदर्शन नगर्ला भन्न सकिने अवस्था छैन । यस परिप्रेक्षमा प्रमुख प्रतिपक्षी र सरकारमा सहभागी दलहरूले जवाफदेहिताको पाठ सिक्नैपर्छ ।
जनताप्रति दायित्व पूरा गर्न सरकारमै बस्नुपर्छ भन्ने छैन । इच्छाशक्ति चाहिन्छ– विपक्षमा बसेरै पनि देश र जनताको यथेष्ट सेवा गर्न सकिन्छ । हुन त चोरगोरुले चोरी खाने गरेको खर्क देखेपछि पुलुक्क आँखा लगाउँछ भन्ने नेपाली कहावत छ । हाम्रा नेताहरू पनि सत्ताको रसास्वादनका निम्ति लालायित भई पुरानो सत्ता रसास्वादनको झझल्कोमा चुर्लुम्म डुब्दै जनताको चाहनालाई रछ्यानमा फालेर अस्वस्थ हारालुछीमा अल्झिन पुगे भने त्योभन्दा अर्को विडम्बना के नै होला । मौजुदा प्रमुख राजनीतिक शक्तिहरूको विगतलाई हेरेर आगतको अनुमान गर्दै प्रक्षेपण गरिएको नयाँ राजनीतिक शक्तिको चर्चाले यथार्थ बोध गराउन खोजेको प्रतीत हुन्छ । नयाँ शक्ति निर्माणको एउटा कार्ड फालिएको पनि हुनसक्छ प्रतिक्रियाका लागि । मुलुकको धमिलिएको राजनीति अझै थेग्रिसकेको छैन । धमिलो पानीमा माछा मार्ने अवसर खोजेर बस्नेहरूको पनि कमी यहाँ छैन । उपयुक्त मौका पर्खेर बस्नेहरूले छिमेकी मुलुकतिरको इसारा पनि व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेकै हुनुपर्छ । अब कुनै नेपाली अनभिज्ञ छैनन् होला दक्षिणी राजनीतिको प्रत्यक्ष प्रभाव यहाँ नपर्ला भनेर । यसर्थ, एउटा शक्ति दक्षिणतिर फर्केर बसेको छ, अशीर्वाद पाइएला र पुन: गुमेको सत्ता हत्याउँला भनेर । यस्तो सम्भावनालाई सहजै इन्कार गर्न मिल्लाजस्तो लाग्दैन । यसरी एकातर्फ पुरानो शक्ति ०६३ भन्दा पहिलेको अवस्था पुनस्र्थापनाको झिनो सम्भावना बोकेर नयाँ स्वरूपमा देखापर्ने स्थिति छ भने अर्कोतर्फ डा. बाबुराम भट्टराईले फालेको कार्डले मूर्त रूप नलेला भन्ने पनि छैन ।
यस्तो राजनीतिक अवस्थाको अनुमान नै नगरी सीधा हिसाबले अघि बढ्नाले दुर्घटना निम्त्याउन पनि सक्छ । यस्तोमा पछाडि फर्कंदै अघि बढ्दै गर्नुले सुरक्षित यात्राको सुनिश्चितता हुन्छ । त्यस्तो सुरक्षित राजनीतिक यात्राको निम्ति हरसम्भव उपायहरूको अवलम्बन गर्नु सत्ता र प्रतिपक्ष दुवैको दायित्वभित्र पर्ने यथार्थ हो । जनता कसैका गोठाला वा खेताला होइनन्, वास्तवमै मालिक हुन् । यदि समयमै विचार पु-याइएन र जनताप्रति उदासीन भइयो भने ‘मालिक’ले आफ्ना सेवक चुड्कीको भरमा फेर्न पनि सक्छन् । यदि डा. भट्टराईले आफ्नो पार्टीभित्रको असन्तुष्टि र कुण्ठाबाट नभई देश र देशवासीका लागि स्वच्छ हृदयले नयाँ शक्तिको खाँचो औँल्याइएका हुन् भने त्यसका लागि जनता तयार पनि रहनुपर्छ । नेपाली जनताले निश्चय पनि साथ दिनेछन् । तर, पुरानो जनयुद्ध वा सशस्त्रको बाटो भने नेपाली जनताले कदापि स्वीकार्ने छैनन् । अब नेपालीले हत्या, हिंसा र आतङ्कको छायामा होइन शान्तिपूर्ण, अहिंसात्मक र लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा रहेर आर्थिक र सामाजिक क्रान्तिको खाँचो महसुस गरेका छन् । त्यस्तो खाँचो पूर्ति गर्ने नयाँ शक्तिको आवश्यकता देखिँदै गर्दा डा. बाबुराम भट्टराईले मुख खोल्नाले सनसनी फैलिएको छ । अझै पनि त्यही नयाँ शक्तिबारे उनको अभिव्यक्ति तथा कलम चलिरहनुले त्यस्तो शक्तिको आवश्यकता खड्किएको रहेछ भन्न सकिन्छ । त्यसैले वर्तमानका जिम्मेवार राजनीतिक दलहरूले समयमा नै आ–आफ्ना कमी–कमजोरीलाई सच्याउँदै यिनै मौजुदा शक्तिले नै राष्ट्रिय दायित्व पूरा गरुन् भन्ने जनचाहनाको सम्मान हुन सके अन्यथा मान्न सकिँदैन ।
हुनत कुनै एक वा सोभन्दा बढी कसैले पनि चाहँदैमा नयाँ शक्ति निर्माण भई राष्ट्रिय राजनीतिमा आफ्नो सशक्त भूमिका पाइहाल्छ भन्नु त्यति परिपक्वता मान्न सकिँदैन । तथापि, डा. बाबुराम भट्टराईले आफूलगायत केही यस्ता चर्चित नेता जसले मुलुकको समृद्धिमा योगदान पु-याउने सामथ्र्य राख्छन्, त्यस्ता युवा नेताहरूको साथ लिएर अन्य दल वा विचार बोकेका समूहबाट समेत क्रिम योङ लिडर खोजी नयाँ शक्ति निर्माण गरेमा निश्चय पनि देशको अन्योल र अनिश्चितताको अन्त्य भई मुलुकले नयाँ गोरेटो भेट्टाउनेमा सन्देह रहँदैन । किनकि, मुलुकको धेरै समय बर्बाद भइसकेको र भइरहेको छ । २००७ सालदेखि आजपर्यन्त अस्थिर राजनीतिले मुलुकको आर्थिक अवस्था धराशायी तुल्याएको छ । देशको जर्जर आर्थिक अवस्थाले मुन्टो उठाउन सकिरहेको छैन । मगन्ते र भिखारी भएर नेपाली नागरिकले कति दिन बाँच्ने ?
त्यसैले, मौजुदा राजनीतिक शक्तिलाई सहमति, सहकार्य र एकताको संस्कृतिमार्फत् उन्नत गर्दै राष्ट्र निर्माणमा एकताबद्ध भएर जुटौँ । यदि त्यसो गर्न सकिँदैन भने दृढअठोटका साथ सबै राजनीतिक दलमा रहेका र आशा एवम् भरोसा गरिएका क्रिम योङ लिडरको टिम बनाएर राष्ट्रिय दायित्व पूरा गर्न कम्मर कसेर लाग्नु एक मात्र विकल्प देखिन्छ । त्यसका लागि हिम्मतका साथ आफ्नो राजनीतिक एवम् सामाजिक जीवनलाई पनि दाउमा राख्नैपर्छ । व्यापारमा जस्त राजनीतिमा पनि जोखिम मोल्नैपर्छ । सुझबुझका साथ लोकतान्त्रिक मूल्य र मान्यतामा अडिएर थालनी गरिने राष्ट्र निर्माणको जगलाई कसैले हल्लाउन सक्ने छैनन् । अन्यथा, अग्रगामी राजनीतिक शक्तिको असफलतामा पश्चगामीहरू नयाँ स्वरूपमा भयावह भएर आउन सक्ने सम्भावनालाई नजरअन्दाज गर्नु भूल हुनेछ ।