फरक धारवालाहरूको भागाभाग
चलचित्रकर्मीहरूमाझ आफूलाई फरक किसिमले प्रस्तुत गर्न खोज्ने या आफू अरूभन्दा फरक हो भन्ने भान गराउन खोज्ने अनि सिनेमा पनि फरक खेल्ने भनेर आफ्नो उपस्थिति नै ‘फरक’का लागि भनेर प्रचारप्रसार गराउने केही फरक भनौँदा कलाकारको अवस्था दयनीय बन्न पुगेको छ । नेपाली सिनेक्षेत्रमा यतिबेला उनीहरूको फरक उभ्याई अन्तत: फेल खान थालेको छ ।
मूलधारका सिनेकर्मीहरूलाई सिनेकर्मी नै नठानेर आफ्नो बेग्लै समूह बनाउने अनि आफ्नो समूहले नेपाली सिनेमाको धार फेर्नेछ भन्दै बखान गरी हिँड्ने केही कलाकर्मीलाई अन्त्यमा दर्शकहरूले नै फेरिदिएका छन् । फरक धारका चलचित्र निर्माण गर्ने चलचित्रकर्मी तथा कलाकारको रूपमा आफ्नो पहिचान स्थापित गर्न खोज्ने ती चलचित्रकर्मीलाई दर्शकले साथ नदिएपछि यी फरकखालका सोच, उद्देश्य अनि गन्तव्य लिएर आएकाहरू मूलधारका चलचित्रकर्मीसँग हातेमालो गर्न बाध्य भएका छन् । अपवादमा एउटा चलचित्र चल्यो भन्दैमा आफ्नो छुट्टै समूह खडा गरेर मूलधारका कथा, विषय र चलचित्रकर्मीहरूलाई गन्दै नगन्ने यिनीहरूले उठाएका विषय र चलचित्रहरू नाम र दाम दुवै रूपमा असफल हुन थालेपछि कलाकारहरू मूलधारमै आएका हुन् भने निर्देशकहरूले विषय र प्रस्तुति पनि मूलधारकै समात्न थालेका छन् ।
आफूलाई फरक धारको निर्देशक भन्न रुचाउने चलचित्र छड्केका निर्देशक निगम श्रेष्ठ अहिले कता छन् ? सबै अनविज्ञ छन् । छड्के नामक फरक धारको चलचित्र बनाएर उनले आफू र निर्माता दुवैलाई उठ्नै नसक्ने गरी थला पारिदिए । यता फरक धारकी अभिनेत्री ऋचा शर्मा, केकी अधिकारी पनि लापत्ता नै छन् । फरक धारका चलचित्र मेकरको समूहकी अभिनेत्री भनेर चिनिने यी दुईको साथमा रिमा विश्वकर्मा, बेनिसा हमाल अनि निशा अधिकारीको पनि अवस्था यतिबेला त्यस्तै धुमिल छ ।
आफूलाई फरक धारको चलचित्र बनाउने निर्देशक भन्न रुचाउने चलचित्र ढुवानीका निर्देशक पीताम्बर पाण्डे ढुवानीका निर्मातालाई करोडौँमा डुबाएपछि आफू पनि फरार छन् । चलचित्र हेर्ने दर्शकको भेल कता बगेको छ भन्ने नबुझ्दा यो समूह असफल हुन पुगेको जानकारहरू बताउँछन् । निर्माता, निर्देशक र नायिका मात्र होइनन् कि केही फरक धारका नायक कुनै समय आफूलाई राजेश हमाल र दिलीप रायमाझीभन्दा हिट मान्दथे । युवा पुस्ताका केही दर्शकले भाउ दिँदैमा आफूलाई गजबको अभिनेता मान्ने यिनीहरू पनि अहिले दुलोमा छिरिसके । विनय श्रेष्ठ, कर्मा, सौगात मल्ल, अर्पण थापालगायतका केही नायकको कुनै चर्चा नै छैन अहिले । राजेश हमालदेखि दिलीप रायमाझी र श्रीकृष्ण श्रेष्ठदेखि आर्यन सिग्देलसम्मको समीक्षा यिनीहरू नै गर्दथे । यो र ऊ भनेर समीक्षा गर्ने यिनीहरू आफैँ गुमनाम हुने अवस्थामा पुगे । म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा आएका विमलेश अधिकारी पनि मूलधारमा नायक/नायिका अनि चलचित्रलाई गन्दै गन्दैनथे । उनको विचारमा नेपाली चलचित्र निर्माणको धार एउटै किसिमको भयो रे ! यस्तो विचार पोख्ने उनले पनि केही फरक धारका चलचित्रमा काम गरे । तर, ती चलचित्र एकपछि अर्को रूपमा असफल हुन थालेपछि चलचित्र क्षेत्रलाई चेञ्ज गर्न आएका उनी आफैँ चेञ्ज भएर अहिले मूलधारको शरणमा आउने तयारीमा छन् ।
सहरभित्रका केही सीमित दर्शकको रुचिलाई ध्यानमा राखेर मल्टिप्लेक्स हलमा चलाउन पाइने लोभ र मोहमा फसेर फरक धारको चलचित्र बनाउँछु भनेर गफ दिँँदै हिँड्ने चलचित्रकर्मीको हालत यतिबेला यसरी नाजुक हुन थालेको छ । बजार र दर्शकको सङ्ख्या मूलधारकै चलचित्र हेर्नेहरूको बढी छ भन्ने कुरा पछिल्लोपटक राम्ररी बुझ्न थालेका छन् यिनीहरूले । यही कुरा बुझेकै कारण फरक धारका चलचित्रकर्मीको माहौल छाडेर मूलधारमा आउँदा दयाहाङ राई, सुवास थापाहरूले चलचित्र बजारमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । यिनीहरूले कहिले पनि आफूलाई यो धार र ऊ धार भनेर छुट्याएनन् । यसकारण पनि अभिनयको कुनै धार र फरक दर्शक हुँदैनन् भन्ने सोचका यिनीहरू अहिले हरेक विषय र कथामा बन्ने चलचित्रहरूमा व्यस्त भइरहेका छन् । त्यसैले कलाकारिता र अभिनय विधालाई यो र ऊ भनेर छुट्याउन खोज्ने अनि कलाकारहरूलाई फरक धार र मूलधार भनेर अलग पार्न खोज्ने केही निर्देशक र कलाकारको उपस्थिति अहिले पातलिँदै जान थालेको हो । यसकारण पनि आफ्नो काममा मात्र ध्यान दिऔँ, अर्काको काम, विचार या सोचप्रति चासो नदिऔँ भन्ने पाठ पनि यसले सिकाएको छ ।
सिनेमाण्डुमा ‘इन्द्रेणी खोज्दै जाँदा’
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासद्वारा आयोजित सिनेमाण्डुको १७औँ शृङ्खलामा ‘इन्द्रेणी खोज्दै जाँदा’ (चेजिङ रेन्बोज्) प्रदर्शन गरिएको छ । नेपाल–भारत पुस्तकालयमा गत साता प्रदर्शित उक्त सिनेमा काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल–२०१३ मा नेपाली फिक्सनअन्तर्गत उत्कृष्ट ठहरिएको चलचित्र हुनुका साथै यसलाई टोरन्टो नेपाली फिल्म फेस्टिभलमा समेत जुरी च्वाइस अवार्ड मिलेको थियो ।
फिल्मका निर्देशक तथा लेखक सहारा शर्मा, निर्माता अभिमन्यु दीक्षित, कलाकारहरू कृतिका लम्साल, सहयोग अधिकारी र प्रणव केसी ‘सिनेमाण्डु’को सो शृङ्खलामा अतिथिका रूपमा उपस्थित थिए । निर्माण पक्षले ‘इन्द्रेणी खोज्दै जाँदा’को कथावस्तुबारे जानकारी दिँदै फिल्ममा नेपाली मध्यमवर्गीय युवाहरूले आफ्ना सपना पूरा गर्न गर्नुपर्ने सङ्घर्षलाई चित्रित गर्न खोजिएको जानकारी गरायो । निर्देशक सहाराले युवाहरूको दैनन्दिन समस्यालाई फिल्ममा सक्दो झल्काउन खोजिएको प्रस्ट्याइन् भने निर्माता अभिमन्युले आफूहरूले चलचित्रमा कुनै पनि विचार लाद्न नखोजेको स्पष्टोक्ति दिए । यस्तै, उपस्थित दर्शकसमक्ष सहाराले आफूहरूको पहिलो प्रयास भएकाले सिनेमामा प्रशस्तै कमी–कमजोरी रहेको बताउँदै गर्दा दर्शकहरूले चाहिँ ‘इन्द्रेणी खोज्दै जाँदा’ अत्यन्तै उत्कृष्ट सिनेमा रहेको भन्दै प्रशंसा गरेका थिए । भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रमुख एवम् कवि/लेखक अभय कुमारले समेत सिनेमाण्डुको हालसम्मको शृङ्खलामा यति प्रतिभावान सिनेकर्मीहरूको समूह आफूले नभेटेको भन्दै ‘इन्द्रेणी खोज्दै जाँदा’का निर्देशक, निर्माता एवम् कलाकारहरूको खुलेर प्रशंसा गरे ।
शर्मालाई लघुकथा सम्मान
लघुकथा समाजले लघुकथा दिवस मनाएको छ । लघुकथा समाजले सर्वनामको सहकार्यमा आयोजना गरेको कार्यक्रममा लघुकथाका क्षेत्रमा विशिष्ट योगदान दिने श्रष्टा साहित्यकार मोहनराज शर्मालाई ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’बाट सम्मानित गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले शर्मालाई सम्मान गरेका थिए । सात हजार पाँच सय पाँच नगद राशिसहित पद्मा–रामचन्द्र लघुकथा सम्मान यसै वर्षदेखि प्रदान गर्न थालिएको हो । लघुकथाका शोधार्थी पुष्करराज भट्टले आफ्ना हजुरबुबा र हजुरआमाको नाममा उक्त सम्मानको व्यवस्था गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै कमलमणि दीक्षितले शर्मालाई शुभकामना व्यक्त गर्दै आफू पनि लघुकथाकार हुन लागेको रहस्य खोले । सम्मानित व्यक्ति वरिष्ठ साहित्यकार मोहनराज शर्माले लघुकथा आकारमा सानो भए पनि त्यसमा आख्यानका सम्पूर्ण तŒवहरू समाहित हुनुपर्ने, अनि मात्र त्यो लघुकथा हुने बताए । उनले लघुकथाको तात्विक विकास हुनैपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. जयनारायण गिरीद्वारा लेखिएको लघुकथा प्रतिक्रिया सर्वनामका कलाकारहरूले मञ्चन गरेका थिए । मञ्चमा कलाकारहरू मीना खड्का, अर्जुन न्यौपाने र श्याम खड्का थिए । उक्त लघुकथा गिरीको लघुकथासङ्ग्रह ‘कसिङ्गर’बाट लिइएको थियो । कार्यक्रममा तुलसीहरि कोइराला, अशेष मल्ल र लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनले बोलेका थिए ।
ग्वंग:लाई साहित्य साधना सम्मान
समी साहित्य प्रतिष्ठानले यस वर्षको साहित्य साधना सम्मान वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:लाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्य साधनाको सम्मानमा सम्मानपत्रसहित ९० हजारको नगद राशि पनि रहेको छ । यसैगरी प्रतिष्ठानले समी युवा प्रोत्साहन पुरस्कार नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । प्रकाशनका क्षेत्रका विगत लामो समयदेखि क्रियाशील अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनले साहित्य र समाजमा विशिष्ट योगदान दिँदै आएका व्यक्ति तथा युवाहरूलाई उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । हरेक वर्षको असोज ५ गते प्रदान गरिने साहित्य साधना सम्मान यसअघि गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, डा. मोहनहिमांशु थापा र वसन्तकुमार शम्मा नेपाललाई प्रदान गरिसकेको छ ।
सम्मान तथा पुरस्कारको घोषणा गर्दै समी साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार प्रदीप नेपालले हरेक वर्ष सम्मानित व्यक्तित्वलाई प्रदान गर्ने नगद राशिमा दश हजार रुपैयाँ बढाउँदै गएको बताए । साहित्य साधना पहिलोपटक प्रदान गरिँदा ५० हजार रुपैयाँ राशिको थियो ।
प्रतिक्रिया