गिरिजाप्रसाद कोइराला जतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो त्यसताक बालुवाटार (प्रधानमन्त्रीनिवास) मा चार दाह्री र चार साडीको चकचकी रहेको चर्चा हुने गर्दथ्यो । चार दाह्रीमध्येका एक हुनुहुन्छ– मोहन चापागाईं । ‘नेपालवाद’का प्रणेता चापागाईंले नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा लामो र स्मरणीय योगदान पु-याउनुभएको छ । दार्शनिक चेतका राजनयिक उहाँ आफैँले राज्यसत्तामा कहिल्यै कुनै पद धारण गर्नुभएको छैन, तर एक समय सत्तासीनहरूको भित्रियाका रूपमा उहाँको भूमिका निकै महŒवपूर्ण मानिन्थ्यो । वर्तमान प्रधानमन्त्री सुशील कोइरालासँग चापागाईंको निकै पुरानो अन्तरङ्ग सम्बन्ध छ, एकताक उहाँहरू बराबरी आलोचना खानेमा पर्नुहुन्थ्यो । चापागाईंले लामो समय वामपन्थी आन्दोलनमा बिताउनुभएको हो, तर बीपी कोइरालालगायत काङ्गे्रसका नेताहरूसँग उहाँको बेग्लै सम्बन्ध र सम्पर्क रहँदै आएको थियो र छ । बीपीपछि गिरिजाप्रसाद र अहिले सुशील कोइराला मोहन चापागाईंका प्रिय पात्र हुन् । काङ्गे्रसमा औपचारिक हैसियत नदिए पनि गिरिजाप्रसाद कोइराला व्यक्तिगत पत्र लेखेर चुनावी अभियानमा वक्ताको रूपमा चापागाईंलाई खटाउने गर्नुहुन्थ्यो । त्यसो त सन्तनेता किशुनजीले पनि विभिन्न समयमा चापागाईसँग पत्राचार गर्ने गर्नुहुन्थ्यो । किशुनजीले उहाँलाई केन्द्रीय कार्यकर्ता’को दर्जा दिनुभएको थियो । एक समय कोइरालाहरूले चापागाईंको बुद्धिको खुब उपयोग–प्रयोग–दुरुपयोग गरेका भए पनि प्रधानमन्त्री भइसकेपछि सुशील कोइरालाले मोहन चापागार्ईंलाई बिर्सनुभएको छ । रोगका कारण शिथिल भएकोले प्रधानमन्त्री कोइराला धेरै कुराहरू सम्झन सक्ने अवस्थामा हुनुहुन्न । तर, मोहन चापागाईंलाई समेत बिर्सिने गरी कोइराला शिथिल हुनुभएजस्तो पनि देखिँदैन । सुशील कोइरालाको शुभचिन्तक–हितैषीका रूपमा चिनिनुहुने मोहन चापागाईसँग घटना र विचारले गरेको रोचक वार्तालाप यहाँ प्रस्तुत छ :
० चापागाईंज्यू, तपाईं विषय र वस्तुलाई बेग्लै रूपमा देख्न खोज्नुहुन्छ, अहिलेको राजनीतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ।
– विषय र वस्तु भन्नासाथ अहिलेको सन्दर्भमा राज्य र राजनीतिसँग जोडेर हेरौँ । राज्य विषय हुँदैन, यो त विकसित प्रक्रिया हो । तर, गडबडी के भइदियो भने राज्यबाट राष्ट्र बनेको नेपालको विकसित स्वरूपलाई ०६२/६३ पछिका आफूलाई परिवर्तनकारी शक्ति भन्ने राजनीतिक दलहरूले ‘नयाँ संरचना’ भने, ‘नयाँ नेपाल’ भन्ने नारा दिए । उनीहरूले त्यहीँ नै गल्ती गरिसके । यसरी गल्तीबाट सुरु भएको कुरा अझै सच्चिन सकेको छैन ।
० ‘नयाँ नेपाल’ बनाउने भावना त राम्रै कुरा हो, होइन र ?
– गलत हो । किनकि, सैद्धान्तिक दृष्टिकोणले त राज्य विकसित हुन्छ, कहिल्यै पनि नेपाल ‘नयाँ’ हुँदैन । यो निर्मित प्रक्रिया होइन । सिभिलाइजेसनको प्रक्रियामा ‘निर्मित’ हुन्छ भने सांस्कृतिक प्रक्रियामा अनिर्मित वा अमूर्त स्वरूप हुन्छ । राज्य अमूर्त हुन्छ । अमूर्तलाई निर्मित भन्नासाथ खण्ड–विखण्ड हुने भयो । कि त आजका राजनीतिक नेतृत्वहरूले नेपाललाई खण्ड–विखण्डमा लैजानुपर्ने भयो । तसर्थ, यो त अचेतन मनले अर्थात् सोच्दैनसोची निस्केकोजस्तो लाग्छ । नेपाल विकसित हुन्छ, उन्नतिशील प्रक्रियामा जान्छ, तर नेपाल ‘नयाँ’ हुँदैन । यहीँनेर गलत राजनीति भयो भन्ने मेरो आशय हो ।
० ०६२/६३ को आन्दोलनयताको राजनीतिक परिस्थिति वा निर्णयप्रक्रियाहरू संवैधानिक या कानुनीभन्दा पनि मनोवेगमा आधारित भयो भन्ने तपाईंको आशय हो ?
– यसलाई प्रस्ट्याउन म यस्तो उदाहरण दिन चाहन्छु । केही दिन पहिले गणतन्त्रात्मक भारतका प्रधानमन्त्री नेपाल आएर गए । सन् १९४७ मा जब भारत स्वतन्त्र भयो, अङ्ग्रेजले भारत छोडेर जाने भयो, त्यसबेला संविधानत: वा प्रक्रियागत रूपमा भारतीयले नियम तोडेनन् । अर्थात्, अङ्ग्रेजलाई सहसा हटाएनन् । लर्ड माउन्टवेटन राष्ट्राध्यक्षकै रूपमा वा एलिजावेथकै प्रतिनिधिका रूपमा स्वीकार गरेर अघि बढे उनीहरू । संविधान निर्माण गरिसकेर २६ जनवरीमा मात्र भारतलाई गणतन्त्र घोषित गरियो । यहाँचाहिँ ठीक उल्टो के भयो भने ११ गते वैशाखमा राजाबाट प्रतिनिधिसभा जीवित गराउने घोषणा गराइयो, पछि मनोनीत प्रकारका सांसदहरू ल्याएर या मनपरी व्यक्तिलाई ‘माननीय’ बनाएर राजालाई ‘सस्पेन्ड’ तुल्याइएको भनियो । ‘राजा’ भन्ने कुरा सस्पेन्ड हुँदैन । संवैधानिक प्रक्रियामा गल्ती भइसकेपछि त कानुनी प्रक्रिया यसै गलत हुने भइहाल्यो । यहाँ यसरी राजनीतिक प्रक्रियाहरू गलत हुँदै गए ।
० क्रान्ति भन्ने कुरा वैधानिक बाटोबाट हुँदैन, परिवर्तनका लागि त छलाङ नै मार्नुपर्छ भन्ने भनाइ गलत हो कि व्यवहारचाहिँ गलत हो त ?
– क्रान्ति भनेको टुङ्गोमा पुग्ने कुरा भएकोले क्रान्तिको विरोधी म पनि होइन । माओवादी नेतृत्वले गरेर आएको प्रक्रियाको मैले कहिल्यै विरोध गरिनँ । तर, उनीहरूले जब दिल्ली गएर १२बुँदे सम्झौता गरी आए, त्यो पनि उनीहरूकै शब्दमा ‘संसद्वादी दलहरू’सँग, यसपछि सोसलिस्ट इन्टरनेसनलको सदस्य भएको काङ्ग्रेसको नेता गिरिजाप्रसादले गएर कम्युनिस्टसँग गठबन्धन गर्नुपर्ने अवस्था आयो । यो त राजासँग प्रतिस्पर्धा गर्न नसकेपछि रिस र आवेगमा आएर गरेको प्रस्टै छ । रिसको झोकमा विश्वेश्वरको विचारलाई या बीपीलाई नै पन्छाएर कम्युनिस्टसँग मिल्न गए गिरिजाबाबु । यसको परिणामस्वरूप ०६२/६३ को आन्दोलन भयो । त्यसलाई क्रान्तिको रूपमा टुङ्ग्याइदिएको भए ‘प्रक्रिया’ मिल्थ्यो, तर राजासँगै सम्झौता गरेर संसद् घोषणा गराइएको छ भने त्यही संसद्ले राजालाई हटाउने कुरा कसरी कानुनसङ्गत हुन्छ ? हुँदै भएन ।
० यतिबेला यो कुरा गरेर के फाइदा ? के कुनै अदालतमा यो विषयमा अब मुद्दा चल्न सक्छ र ?
– भागबन्डाको राजनीति छ, न्यायपालिकामा समेत भागबन्डा चल्छ भने कुन अदालतमा मुद्दा चल्न सक्ला या नसक्ला भनी दिमाग चिथोर्नुको के अर्थ रहला र ? अदालतमा प्रश्न उठे पनि कसले फैसला गर्ने ?
० भनेपछि ०६३ सालको परिवर्तनपछिको राजनीतिक परिवेशप्रति तपाईं सहमत हुनुहुन्न ?
– क्रान्तिमा लगेर टुङ्ग्याइदिएको भए यस्तो सहमति या असहमतिको प्रश्नै उठ्दैनथ्यो । विदेशी पाहुना, गिरिजाप्रसाद र राजा बसेर राति साढे दश–एघार बजे गरेको सम्झौताअनुसारको घोषणा हो त्यो त । सम्झौताअनुरूप प्रतिनिधिसभा पुनस्र्थापन नगरिदिएको भए त्यतिबेलै एउटा वारपारको टुङ्गो लाग्थ्यो– राजा परास्त हुन्थे, जेल जान्थे या मारिन्थे या राजनीतिक दलका नेतृत्व नै समाप्त भएर जान्थे । सम्झौता गरिसकेपछि त त्यसको पालना हुनुप-यो नि । यसरी संवैधानिक या कानुनी प्रक्रिया नपुगेपछि त्यससँग असहमत हो कि भन्ने प्रश्न गरिरहनै परेन नि ।
० विगतमा जे–जसरी भयो–भयो अब फर्किन सम्भव छैन भन्ने गरिएको छ, तपाईंको दृष्टिमा फर्कन सम्भव छ कि छैन होला ?
– संसारमा हरकुरो परिवर्तनशील छ । मानव समाजमा के फर्किन्छ के फर्किन्न भन्ने कसैले चाहेर या नचाहेर हुने होइन । कुनै बेला मैले यही घटना र विचार साप्ताहिकमै पढेको थिएँ, जसमा अफगानिस्तानका जहिर शाहको एउटा प्रसङ्ग उठाइएको थियो । रुस, अमेरिका सबै असफल भएपछि जर्मनीमा बसेका जहिर शाहलाई फर्काएर ल्याउने प्रस्ताव गर्दा उनले मानेनन् । नेपाल पनि पृथ्वीनारायण शाहले एकीकृत गरेको देश हो । यदि यस्तै विकृत प्रकारको चकचकी चलिरहन्छ भने यो देशै रहँदैन । म त बूढो पनि भएँ, तपाईंहरू हेर्दै जानुहोला, यस्तै राजनीति जारी रहने हो भने त यो स्वरूपको नेपालको ‘एक्जिस्टेन्स’ रहँदैन ।
० ०६३ को आन्दोलनको उत्कर्ष भनेको नेपालको विघटन नै हो त त्यसो भए ?
– त्यसैगरी बुझ्दा हुने भयो अब । किनकि, यहाँ सिद्धान्तविहीनताको विकास भयो । राजनीतिक दल त सिद्धान्तमा चल्नुपर्ने हो । नेपाली काङ्ग्रेस संवैधानिक राजतन्त्रको पक्षमा थियो । अझ बीपी त ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्दै बित्नुभयो । प्रचण्डजीहरू जो आउनुभएको छ, उहाँहरूको राजनीतिको ठेगानै भएन । माक्र्सवादको गन्तव्यमा उहाँहरू पुग्न खोज्नुभएको थियो भने त बाटो हिँड्ने चालढाल त्यस्तै हुनुपथ्र्यो नि । उहाँहरू पनि सम्झौतामै आउनुभयो । यतिसम्म कि हालै मैले एमाओवादीका नेता बाबुराम भट्टराईको एउटा अभिव्यक्ति कुनै पेपरमा पढेँ, बाबुरामजीले भन्नुभएको छ, ‘फेडरल गभर्नमेन्ट नेपालमा चल्दैन, धेरैभन्दा धेरै चले तीस वर्ष हो । युरोपमा पनि जातीय र भाषाका आधारमा बनेका राज्यहरू समाप्त भएर युरोपियन युनियन गठन हुन पुग्यो ।’ उनीहरू सङ्घात्मक संरचनाबाट एकीकृत ‘युरो’ स्वरूपमा आएजस्तै यहाँ पनि अन्तत: त्यस्तै अवस्था आउँछ भन्ने बाबुरामजीको आशय हो । यसरी उहाँ पेपरमा यस्तो धारणा व्यक्त गर्नुहुन्छ, त्यही कुरा आफ्नो पार्टीमा राख्न सक्नुहुन्न । मैले भन्न खोजेको के भने मुलुकका नेता यस्ता छन् भने मुलुक विघटनतिर जानु के आश्चर्य हुन्छ त ?
० कम्युनिस्टहरू जाति, क्षेत्र, धर्मको कुरा नगरी समानताको कुरा गर्छन् भन्ने सामान्य बुझाइ हो, तर हामीकहाँका कम्युनिस्टचाहिँ जाति र क्षेत्रको रट लगाउँछन्, यसको कारण के होला ?
– यी सबै व्यक्तिगत स्वार्थबाट प्रेरित भएकोले हो । अस्ति भर्खर सम्पन्न एमालेको नवौँ महाधिवेशनको सन्दर्भ हेरौँ न ! उद्घाटन कार्यक्रममा कम्युनिस्टहरूले आफ्ना आदर्श मान्दै आएका माक्र्स, एङ्गेल्सजस्ता कम्युनिस्ट दार्शनिकका तस्बिर राखिएनन्, तर बन्दसत्रमा फेरि तिनलाई सजाइयो । यसको मतलब परिस्थिति र परिवेशअनुसारको नितान्त स्वार्थकेन्द्रित व्यवहार गर्न थालेका छन् यहाँका कथित कम्युनिस्टहरूले । कुनै बेला मनमोहन अधिकारी प्रधानमन्त्री र माधव नेपाल उपप्रधानमन्त्री थिए । माधवले त्यतिबेला खुब विदेश भ्रमण गरे । यसरी विदेश जाँदा उनले ‘आफूहरूले बाध्यतावश मात्र कम्युनिस्ट पार्टी भन्नुपरेको, तर व्यवहारत: आफूहरूले कम्युनिस्ट छोडिसकेको’ भनेर युरोपियन तथा अन्य पश्चिमा राष्ट्रहरूलाई बुझाउने चेष्टा गरेका थिए । एमालेले यसरी परिस्थिति हेरेर जालेमाले कुरा गर्नु या ढोँग रच्नुभन्दा सीधै भनिदिए हुने हो उनीहरूले कि हामी कम्युनिस्ट होइनौँ, माक्र्सवाद छाडिसक्यौँ भनेर । उनीहरूले खुलस्त यति स्वीकार गर्न सके देश लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्ने माहोल पैदा हुन्थ्यो । नेपाल प्रगतितिर लम्कन सजिलो पथ्र्यो ।
० कम्युनिस्टप्रतिको मानिसका बुझाइ र नेपालका कम्युनिस्टको व्यवहारमा अन्तर पर्नुको रहस्यचाहिँ के होला जस्तो लाग्छ तपाईंलाई ?
– आममानिसले हरेक कुरालाई सूक्ष्म ढङ्गले चिन्तन गर्ने क्षमता राखेका हुन्नन् । उनीहरूलाई सानोतिनो कुरामै लोभ देखाएर वशमा पार्न या अल्झाउन सकिन्छ । विभिन्न चटके ‘बाबा’हरूकहाँ मानिसको भीड लागेजस्तै हो यहाँका कम्युनिस्टको पछाडि जनता लाग्नु पनि । यिनीहरू जनतालाई गफ दिएर सपना देखाइरहेछन् र मृगतृष्णाजस्तै त्यो सपना साकार तुल्याइदिने भनी भेँडा बनाइरहेछन् । नितान्त शासन–सत्ता र शक्ति आर्जन गर्ने स्वार्थबाट प्रेरित भएपछि कम्युनिस्टको सिद्धान्त र व्यवहारमा फरक परेको हो ।
० तपाईंले नेपाल विघटनको अवस्थासम्म पनि पुग्नसक्ने औँल्याउनुभयो, यसलाई जोगाउनचाहिँ के गर्नुपर्ला त ?
– रुस टुक्रिनुभन्दा अघि नै मैले रेडियो नेपालको चिन्तनमनन भन्ने कार्यक्रममार्फत ठोकुवा गरेको थिएँ कि रुसी सङ्घ विघटन हुनेछ, तर अमेरिकाको फेडरल सिस्टम ‘स्वेच्छिक’ भएकोले मजबुत बन्दै जानेछ । आखिर यस्तै भयो । भन्न खोजेको के भने पृथ्वीनारायणले एकीकृत गरेको नेपाल राज्यमा जबर्जस्ती सङ्घीयता लादिँदै छ । ‘जबर्जस्ती’ गरिनाले यसको आधार अत्यन्त फितलो हुन्छ र टिक्न नसकी अन्तत: विघटनमा पुग्छ । यसैका आधारमा अब आफैँ विचार गरौँ नेपाललाई विघटनबाट जोगाउन के गर्नुपर्ला !
० कम्युनिस्टहरूले त अनेक छलकपट र गल्ती गरेछन् रे लौ, तर जे–जे भन्यो चुपचाप मानिदिएर उनीहरूलाई प्रोत्साहित गर्ने नेपाली जनताकोचाहिँ गल्ती देख्नुहुन्छ कि देख्नुहुन्न तपाईं ?
– नेपाली जनता ज्यादै समझदार छन् । कमसेकम अहिले आएर त्यस्तो अनुभूति गर्न सकिन्छ । राजनीतिक दलका व्यवहार र औकात हेरेर अब जनताले कस–कसलाई कहाँ राख्नुपर्ने हो, त्यसैअनुसार ठेगान लगाइदिनेछन् ।
० जनताले धेरै धैर्य प्रदर्शन गरेका हुनाले राजनीतिक नेतृत्वको दादागिरी बढेको हो भनिन्छ नि त ?
– हेर्दै जानुहोला, यतिबेला रोजगारीका लागि विदेशमा रहेका नेपाली युवाले एक दिन यहाँका शासक भनाउँदाहरूलाई कठघरामा उभ्याउनेछन् । अरू चाहिन्न, तिनैले यो काम गर्नेछन् ।
० उनीहरू सङ्गठित भएर स्वदेश फर्कने सम्भावना कति होला र ?
– स्वतस्फुर्त रूपमा उनीहरूले यो काम गर्नेछन् । विदेश गई त्यहाँ रहेका नेपाली युवाका कुरा सुन्दा जताततैबाट यस्तै सङ्केत मिल्दछ । माक्र्सको नाममा समानताको नारा दिएर सङ्गठित गर्ने, अनि आफू सत्तामा पुगेर त्यसको स्वादमा डुबेपछि कार्यकर्ता या जनतालाई अलपत्र छोडिदिने प्रवृत्ति उत्कर्षमा पुगिसकेकाले अब यिनका दिन सकिए । विदेशमा रगत पसिना बगाएर मुलुक धान्ने पौरखी नेपालीले आफ्ना पसिनामा पौडी खेल्नेहरूलाई अब त्यसै के छोड्थे र !
० निरङ्कुशताबाट प्रजातान्त्रिक दिशामा गएको भन्दै नेपाल सङ्क्रमणको अवस्थाबाट गुज्रिएकै सात दशक पुग्न लाग्यो । यो प्रक्रिया अझै कति चलिरहला भन्ने लाग्छ तपाईंलाई ?
– बीपी र महेन्द्रजस्ता राष्ट्रवादी सोच–चिन्तन बोकेका नेताको अभावले यस्तो भइरहेको हो । उनीहरूले आफ्नो सोचलाई व्यवहारमा उतार्ने स्थिर अवरसर नै पाएनन् । अहिले त कस्तो देखियो भने ‘कार्यकर्ता’ रहिन्जेल असल र ‘नेता’ बनेपछि बेइमान बन्ने संस्कारको विकास भयो । यस्तै प्रवृत्तिका कारण परिस्थिति बिग्रिएको हो । जनतामा चेत पलाएपछि सधैँ यस्तो त कहाँ रहन्छ र ?
० नेपाल कहिले बन्ला त ?
– छिमेकका चीन र भारत आ–आफ्नै विकासको गतिमा अघि बढिरहेका छन् । नेपालसँग उनीहरू दुवैको विशिष्ट प्रकारको स्वार्थ गाँसिएको हुनाले उनीहरूको विकास–गतिसँगै प्राप्त हुने ‘जुठोपुरो’बाटै भए पनि नेपाल केही न केही बन्दै जाला । हाम्रा नेताहरूले चलाखीपूर्ण व्यवहार अवलम्बन गर्न सकेमा यी दुई छिमेकीको प्रतिस्पर्धाबाट लाभ उठाएर उनीहरूभन्दा समृद्ध बन्ने मौका पनि छ । नेपाल बन्ने सवालमा अहिले यत्ति मात्र भन्न सकिन्छ ।
० कम्युनिस्टको सङ्ख्या अत्यधिक भएको देश बन्न धेरै समय लाग्छ भनी तर्क गर्नेहरू पनि त छन् नि ?
– कम्युनिस्टले जे कल्पना गरेका छन्, यो पूरा हुन सक्ने कुरै होइन । आफूलाई कम्युनिस्ट ठान्ने मैले ‘नेपालवाद’ भन्ने गरेको कारण पनि यही हो । माक्र्सकै डेस्टिनेसन (गन्तव्य) गलत छ ! उनी एक दार्शनिक मात्रै हुन् । तसर्थ, यहाँ शास्त्रीय हिसाबले बुझ्दै आइएका कम्युनिस्ट अब बिस्तारै हराउँदै जाने छन् ।
० तपाईं र सुशील कोइरालाबीचको सम्बन्ध काङ्गेसभित्र र देशमै पनि विशेष चर्चाको विषय बन्दथ्यो, कोइराला प्रधानमन्त्री बन्नुभएपछि उहाँका काम या कार्यशैली कस्तो लागिरहेको छ तपाईंलाई ?
– उहाँ प्रधानमन्त्री भएर पनि त्यसअनुसारको दम देखाउन नसक्नुभएको महसुस गर्दै आएको थिएँ । तर, हिजो–अस्ति मात्र उहाँले ‘संविधान नबनेसम्म म छोड्दिनँ, राष्ट्रपतिले पनि छोड्दैनन्’ भन्ने जो अभिव्यक्ति दिनुभयो, यसले चाहिँ बल्ल उहाँमा मुलुकको प्रधानमन्त्रीमा देखिनुपर्ने गुण थोरबहुत देखिन थालेछ भन्ने अनुभूति गराएको छ ।
० सुशील कोइरालाकै नेतृत्वबाट यो देशले नयाँ चरणमा प्रवेश पाउने सम्भावना कति देख्नुहुन्छ ?
– त्यस्तो आशादायी सम्भावना त म देख्दिनँ । उहाँसँगको दुई दशकभन्दा बढी अवधि दोस्तीका क्रममा देखे–बुझेको र हाल उहाँको स्वभावमा आएको परिवर्तनका आधारमा त सुशील कोइरालामा पनि सिद्धान्तविहीनता मौलाउन थालेका देख्छु म । उहाँ पनि कसैले दिएर खाइरहेको र अब यसलाई कसरी बचाउने भन्ने सोचबाटै प्रेरित भएको आभास मिल्दै छ । यसर्थ, उहाँबाट पनि मुलुक अघि बढ्ने, निकास पाउने अपेक्षा गर्न सकिन्न ।
० सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान माघ ८ भित्र बनाउँछौँ भन्ने प्रतिबद्धता जसरी नेताहरूले व्यक्त गरिरहेका छन्, यो पूरा हुनेमा तपाईं कति विश्वस्त हुनुहुन्छ ?
– यहाँका नेताका प्रतिबद्धता पहिले पनि देखिएकै हो । यदि साँचो कमिटमेन्ट हो भने संविधान बनाउन माघ ८ पनि कुर्नुपर्दैन, आठै दिनमा मस्यौदा बन्न सक्छ । यहाँ काङ्ग्रेस, कम्युनिस्ट, मधेसवादी कुनैले पनि आफ्नो अडान त्याग्ने बहादुरी दर्शाउन अहिलेसम्म सकेका छैनन् । त्यो आँट नभएसम्म कसरी दिन सक्छन् यिनले संविधान ? दिए पनि त्यो जीवित रहन सक्दैन । ०४७ कै संविधान अमूर्त रूपमा ज्युँदै राखेका छन् यिनले, अनि कसरी नयाँ दिने ?
० होइन ! ०४७ को संविधान मरेको छैन र अझै ?
– छैन–छैन । राजाबाट संसद् ब्युँतिएको घोषणा गराउने अनि त्यही संसद्को आडमा मनपरी निर्णय गर्दै गएबाटै उनीहरू संवैधानिक तथा कानुनी रूपमा चुकिसकेका छन् । अमूर्त तवरले ०४७ को संविधान बाँँँचिरहेकै छ ।
० यसको मतलब त्यो संविधान फेरि ब्युँतन पनि सक्छ ?
– भूमिका निर्वाह गर्नेले सही भूमिका खेले त्यो अझै पनि ब्युँतन सक्छ । धेरैले भने– मोदी आएर बोलिदिए, अब मुलुक बन्छ ! ए बाबा, अरूले मुलुक बनाइदिने होइन, बनाए आफैँले बनाउने हो । जे गर्ने हो हामी नेपालीले नै गर्ने हो । संविधानको झमेला कायम राख्ने कि ०४७ मै गएर निकास दिने भन्ने निक्र्योल पनि हामीबीचबाटै हुन सक्छ । कमल थापाजस्ता मौकापरस्त व्यक्तिलाई अघि नसारेर ज्ञानेन्द्र शाह आफैँ अग्रसर भएका थिए भने माहोल त अर्कै हुन सक्ने रहेछ भन्ने देखिएन र ?
० तपाईं के सोचेर राजनीतिमा लाग्नुभएको थियो र यति लामो राजनीतिक जीवनमा के पाउनुभयो ?
– म सामन्ती पृष्ठभूमिको परिवारबाट आएको हुँ । शोषण, उत्पीडन देखेर शोषणरहित शान्त र समृद्ध समाज निर्माणको कल्पना गरेको थिएँ मैले । कम्युनिस्ट भएर लाग्दा त्यो साकार हुन्छ कि भनेर मैले पुष्पलाललाई समर्थन गरेँ । तर, जब मैले माक्र्सवादको गहन अध्ययन गरेँ, के बुझेँ भने दार्शनिक पाटोमा उनी सफल भए पनि शासन गर्ने हिसाबमा उनको दर्शन असफल थियो । शासन गर्ने दर्शन नै थिएन त्यो । यति बुझेपछि ०४७ को आन्दोलनपछि म एन्टीकम्युनिस्ट मुभमेन्टमा जान्छु भनेर गिरिजाप्रसाद कोइरालाको सहारा खोजेँ । तर, ‘माले, मसाले, मण्डले एक हुन्’ भन्ने चर्चित अभिव्यक्ति दिने गिरिजाप्रसादले पनि खुट्टो छोडेपछि यतिबेला म सङ्गठनविहीन छु, म दार्शनिक स्वरूपमा छु । त्यसैले मलाई यतिबेला कुनै आशापेक्षा पनि छैन । म समाजलाई दर्शन–चिन्तन दिने चेष्टा गर्छु र यसैमा आनन्दित पनि छु ।
प्रतिक्रिया