सुशीलको स्वास्थ्य सुध्रिएको खुसीको अर्थ

सुशीलको स्वास्थ्य सुध्रिएको खुसीको अर्थ


special-articleपरिवारमा थपिएको नवागन्तुक बालक चार हातखुट्टाको सहारामा घस्रन छोडेर उभिन खोजेको क्षण आफैँमा सुखद् र रमणीय मानिन्छ । आफ्ना बालबालिका सीधा उभिएर पाइला सार्न थालेको दिन परिवारमा बेग्लै खुसियाली प्रादुर्भाव हुन्छ । केही दिनयता देशमा त्यस्तै ‘खुसियाली’ छाएको छ– ‘प्रधानमन्त्री सुशील कोइराला आफ्नै हातले गाँस लिन सफल हुनुभएको छ । उहाँ आफैँ ठिङ्ग उभिएर हिँड्न र भ-याङ उक्लनसमेत समर्थ हुनुभएको छ । त्यति मात्र होइन, कोइरालाले बालुवाटार (बासस्थान) बाट सिंहदरबार (कार्यालय) सम्म पुगी फाइलहरूसमेत आफ्नै हातले पल्टाएर हेर्न थाल्नुभएको छ । प्रधानमन्त्री कोइरालाले अन्य पार्टीका नेता र ‘मनले खाएका’ आफ्नै पार्टीका नेता–कार्यकर्तासँग अक्सिजन र ग्यास सिलिन्डरबिना नै भेटघाट पनि सुरु गर्नुभएको छ ।’ त्यसैले सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उभ्याएर ‘राज’ गरिरहन चाहनेहरूमा यतिबेला खुसी सीमाविहीन बनेको छ । तिनले आफ्नै खुसीका यी क्षणहरूलाई सरकारी सञ्चारमाध्यमहरूमार्फत निस्फिक्री प्रचारप्रसार गरी सुशील कोइराला घरबाट कार्यालयसम्म जान सक्नुहुन्न भन्नेहरूलाई ‘बलियो झापट’ दिएका छन् । हाम्रा प्रधानमन्त्री आफैँ खाना खान सक्ने, ठिङ्ग उभिन, हिँड्न, आवश्यक पर्दा मानिसहरूसँग भेटघाट गर्न र कार्यालयसमेत एक्लै जान सक्ने हुनुलाई गौरवमय घटनाका रूपमा प्रचार भएपछि प्रश्न उठाउनैपर्ने भएको छ, ‘के देशले खोजेको नेतृत्व यस्तै हो ?’
एकताक नेपालमा रमाइला पात्रहरू हावी थिए । प्रचण्ड, विजय गच्छदार, सुजाता कोइराला, वामदेव गौतम, हिसिला यमी, लक्ष्मणसिंह खड्का र ऋषि धमलाहरूको ‘सक्रियता’ हेर्दा लाग्थ्यो– देश सुहाउँदो पात्रहरू सतहमा आएका छन्, यिनलाई सुहाउने देश र देशलाई सुहाउने यिनै हुन् भन्ने महसुस धेरै नेपालीले गरेका थिए र नेपालमा आफूलाई ‘अनफिट’ महसुस गर्ने कतिपय नेपालीले देश छोडेर परायभूमिमा आफूलाई ‘सेटल’ पनि गरिसकेका छन् । देशप्रति समर्पित कुनै पनि मानिस नेपालको राजनीति तथा राजनीतिकर्मीको भूमिकासँग सन्तुष्ट हुन सक्दैन । काजी भीम मल्लदेखि गणेशमान सिंह, रूपचन्द्र विष्ट र कृष्णप्रसाद भट्टराईसम्मका महात्माहरूले चरम असन्तुष्टि प्रकट गर्दै देहत्याग गरेका हुन् । इमानदार तथा योग्य प्रमाणित हुन नसकेका मानिसहरूको जिम्मा लगाएर ‘ती’ महात्माहरू बिदा भइसकेपछि इतिहासमा सुशील कोइरालाजस्ता ‘इमानदार एवम् स्वच्छ छवि’का नेता मुलुकलाई प्राप्त भएको छ । तर, उहाँकै योग्यता–क्षमता र कार्यर्शलीका जसका कारण ‘इमानदार र स्वच्छ छवि’को प्रतिष्ठा एवम् विश्वसनीयता नै डगमगाउने स्थिति बनेको छ । खोपाको भीमसेनलाई शक्तिशाली मानेर– ठानेर पूजा गर्नेले एउटा आत्मसन्तुष्टि प्राप्त गर्न सक्ला, तर सङ्क्रमणकालमा एक प्रभावी र प्रतापी नेतृत्वको आवश्यकता खटिएका बेला नेपालीलाई उपलब्ध हुन आएको नेतृत्व स्वस्थानी ब्रतकथाकी सुकन्या गोमा ब्राह्मणीलाई प्राप्त पति शिव शर्माजस्तो पो देखिए, बचालाउन् कि भनेको त आफैँ कसरी बाँच्लान् भनेजस्तो पो भयो । राष्ट्रको चिन्ता गर्नुपर्ने व्यक्तिकै चिन्ता राष्ट्रले गर्नुपर्ने भएपछि देशले तत्काल निकास र विकास पाउने आशा विसर्जन हुँदै छ । बेइमान, छलकपट र धोकाधडीका निकटतम मित्रका रूपमा समेत चिनिएका गिरिजाप्रसादको कार्यकालले उत्पादन गरेका विकृति, विसङ्गति र बेथिति सुशील कोइरालाको कार्यकालमा अन्त्य नभए पनि नियन्त्रित हुने अपेक्षा सुशीललाई नजिकबाट नबुझ्नेहरूले गरेका थिए । बुझ्नेहरूले त सुशील कोइरालालाई प्रधानमन्त्रीको जिम्मेवारी ‘गँड्यौलालाई बन्दुकको भारी’ हुने अनुमान पहिल्यै गरेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता कोइरालाले दुई कुरामा ज्यादा ध्यान पु-याउनुपरेको छ– आफ्नो स्वास्थ्य र बनिबनाउन छवि । कोइराला ‘स्वच्छ तथा इमानदार’ भनिने आफ्नै छवि जोगाउन यति सचेत हुनुभयो कि सरकारले लिनुपर्ने हरेक महŒवपूर्ण निर्णयहरूमा कसै न कसैको स्वार्थ लुकेको ठान्नुभयो र निर्णय लिन सधैँ डराइरहनुभयो । सुशील कोइरालाको इमानदारी परीक्षणका निम्ति उहाँलाई प्रधानमन्त्री बनाइएको थिएन/होइन । देशलाई राजनीतिक सङ्क्रमणबाट निकास र आर्थिक विकासको अगुवाइका निम्ति उहाँलाई यस हैसियतको जिम्मेवारी दिइएको थियो । ‘इमानदारी’ जोगाउने नाममा कुनै महŒवपूर्ण निर्णय नै गर्न नचाहने कोइरालाले ‘त्यही छवि’ पनि जोगाउन सक्नुभएको ठानिँदैन । आफ्नो सम्पूर्ण बलबुता नातेदार तथा परिवारका सदस्यहरूलाई मौका दिनका लागि प्रयोग गरेपछि उहाँको ‘इमानदार तथा स्वच्छ’ छवि सडक विभागले गरेको पिच (कालोपत्रे) झैं असमयमै खुइलिएको ठानिँदै छ । ऐतिहासिक महत्वका निर्णय लिनुपर्ने यो सङ्क्रमणकालीन घडीमा निर्णय लिनै नचाहने–नसक्ने व्यक्ति प्रधानमन्त्री हुँदा देशले समय मात्र बर्बाद गर्नु परिरहेछ । अन्धाले टेलिभिजनको रिमोट कन्ट्रोल कब्जा गरेजस्तै देखिएको छ– सुशील कोइरालालाई प्रधानमन्त्री पद ।
सुशील कोइराला संविधान निर्माणको प्रतिबद्धता पटकपटक प्रकट गर्दै हुनुहुन्छ र आफ्नै कार्यकालमा संविधान निर्माण गर्ने चाहना उहाँले राख्नुभएको बुझिन्छ । संविधान प्रधानमन्त्रीले बनाउने होइन र कदाचित संविधान बनेछ भने पनि त्यसको ‘क्रेडिट’ प्रधानमन्त्री मात्रलाई जाँदैन । छिमेकी मित्रराष्ट्र भारतमा संविधान निर्माण हुँदा जवाहरलाल नेहरू प्रधानमन्त्री थिए, तर भारतीय संविधानको स्मरण हुनासाथ अम्बेडकरको नाम जोडिएर आउँछ– नेहरूको होइन । संविधानसभा सदस्य र सत्तारुढ पार्टीको सभापतिका रूपमा उहाँले निर्वाह गर्ने भूमिका नै पर्याप्त हुनसक्छ– यदि कोइरालामा केही गर्ने क्षमता जीवित छ भने । आफ्नो कार्यशैली, कार्यक्षमता र सोचका कारण प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाको तुलना रंगनाथ पौडेल र नगेन्द्रप्रसाद रिजालहरूसँग हुन थालेको छ । सुशीलको अक्षमताको दोष अहिलेसम्म काङ्गे्रस पार्टीले ग्रहण गर्नुपरेको छैन, तर उहाँका विरुद्ध विपक्षीहरूको ‘मौनता’ भने अर्थपूर्ण छ । इतिहासकै अकर्मण्य प्रधानमन्त्रीको आलोचना गरेर सायद विपक्षीहरू काङ्गे्रसलाई कुनै गतिशील नेतृत्व खोजीका निम्ति पे्ररित गर्न चाहँदैनन् । सुशील कोइरालाको अकर्मण्यता अन्तत: काङ्गे्रसकै बर्बादीको कारण बन्ने आशामा प्रतिपक्षीहरूको मौनता विस्तारित भएको हो भने उनीहरूको दृष्टिमा त्यो सही पनि हो । तर, रामचन्द्र पौडेल र शेरबहादुर देउवालगायत काङ्गे्रसका नेताहरूको मौनतालाई चाहिँ जायज र आवश्यक ठानिएको छैन । देशलाई गति दिन र काङ्गे्रस एउटा गतिशील पार्टी भएको प्रमाणित गर्न काङ्गे्रसभित्रैबाट एक सार्थक पहल हुन ढिला भइसकेको छ । सुशील कोइरालाले आज एक प्लेट लिटो खानुभयो, लौरोबिना उभिनुभयो या पूरै आँगन कसैको हात नसमाईकन घुम्नुभयो भन्ने प्रकारका ‘उपलब्धि’मा रमाउनुपर्ने अवस्था अब छँदै छैन । प्रधानमन्त्री पद जसको भागमा परे पनि परिवर्तनको अगुवाइ काङ्गे्रसले गर्दा मात्र सरकारको नेतृत्व काङ्गे्रसमै रहने सम्भावना हुन्छ भन्ने यथार्थप्रति रामचन्द्र पौडेल र शेरबहादुर देउवालगायतका नेताहरू सचेत हुन वाञ्छनीय छ । होइन भने सुशील कोइरालाको नाममा काङ्गे्रस ‘सती’ जानुपर्ने अवस्थाबाट बच्न निकै मुस्किल पर्नेछ ।