बीपी: श्रेष्ठ विचारक र प्रयोगकर्ता

बीपी: श्रेष्ठ विचारक र प्रयोगकर्ता


bichar– दामोदर पौडेल
साउन ६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाको नास्वर शरीरलाई उहाँले छोडेको दिन हो भने २६ भदौ उहाँको जन्मदिन हो । युवा अवस्थादेखि क्यानसरजस्तो प्राणघातक रोगबाट पीडित बीपीले जीवनको उत्तरार्धसम्म पनि दृढ आत्मबलको कारण त्यो रोगसँग सङ्घर्ष गर्न सक्नुभयो । ०३९ मा उहाँको देहावसानलाई हामीले एउटा कठोर र सङ्घर्र्षपूर्ण यात्राको अन्त्यको रूपमा पनि लिन सक्दछौँ । प्रथमतः उहाँको आत्मशक्तिका कारण उहाँ क्यानसरजस्तो रोग लाग्दा पनि त्यसबाट प्रताडित हुनुभएन भने अर्कोतर्फ समाजका लागि उहाँले जीवनको अन्त्यसम्म आफूलाई समर्पित गरिरहनुभयो ।
उहाँले सङ्घर्ष महŒवपूर्ण हो सफलता परिवेश हो भन्ने मन्त्रलाई सधैँ आत्मसात् गर्नुभयो । सङ्घर्ष जहिले पनि लोकतन्त्रका लागि हुनुपर्छ र जनताको अधिकारका लागि हुनुपर्छ भन्ने मान्यतालाई उहाँले मूलमन्त्र बनाउनुभयो । राजतीतिक दल भनेका जनताका सेवक हुन् र उनीहरूको हैसियत जनताका मालिक बन्ने हदसम्म कहिल्यै पनि हुनुहँुदैन भन्ने उहाँको मान्यता थियो । नेपाली काङ्ग्रेस लोकतन्त्र र जनाधिकारका लागि सङ्घर्ष गर्दछ र आफ्नो दलका लागि विषेश छुटका लागि सङ्घर्ष गर्दैन भन्ने उहाँको उक्ति आफ्नो दलको विशेष अधिकारका लागि सङ्घर्ष गर्नेहरूलाई शिक्षा हुन सक्दछ । सङ्घर्ष गर्नु ठूलो कुरा होइन त्यसको मर्म जनताको अधिकार संरक्षण गर्नमा निहित छ छैन भन्ने विषय बढी महŒवपूर्ण हो ।
सुरुमा कम्युनिस्ट विचारका साहित्य र समाचारका सम्बन्धमा पनि उहाँको त्यही विचार रहेको पाइन्छ । कम्युनिस्ट र कम्युनिस्ट विचार राम्रो लाग्दालाग्दै पनि लोकतन्त्रको विरोधमा कम्युनिस्टहरू रहेकाले गर्दा कम्युनिजमले लोकतन्त्रलाई आत्मसात् गर्न सकेन भने त्यो आत्मघाती र जनविरोधी हुन पुग्दछ भन्ने उहाँको निष्कर्ष रहेको देखिन्छ । त्यही सन्दर्भमा यहाँले भन्नुभएको छ कि साम्यवादमा लोकतन्त्र थपेमा त्यो समाजवाद हुन्छ र नेपाली काङ्ग्रेस समाजवादको पक्षमा छ ।
उहाँले समाजवाद भनेको जनताको जीवनस्तर उठाउने माध्यम हो भन्ने मान्यता राख्नु मात्र भएको थिएन बरु समाजवाद समयसापेक्ष पनि हुन्छ, तर जनताका निम्नतम् आधारभूत आवश्यकता भने पूरा हुनुपर्दछ भन्नेमा समेत उहाँ प्रस्ट हुनुहुन्थ्यो । उहाँले हरेक नेपाली उहाँको समयको आधारमा खान पुग्ने, घरमा एउटा दुहुनो गाई भएको, बच्चाबच्चीहरूलाई पढाउन सक्ने, बिमारी हुँदा उपचार गर्ने चिन्ता गर्नु नपर्ने हुन सक्नुपर्दछ भन्ने आफ्नो मान्यता भएको बताउनुभएको थियो । जनताको निम्नतम आवश्यकतामा सम्झौता नगरी विकास बाँड्ने हो गरिबी बाँड्ने समाजवाद होइन । त्यसैले देशमा समाजवादलाई बढी लागू गर्न विकास पनि बढी नै हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । यो नेपालका लागि मात्र होइन विश्वकै समाजवादका लागि कालजयी विचार हुन सक्दछ ।
भौतिक रूपमा नयाँ अवस्था नआई वैचारिक रूपमा मात्र फड्को मारेको कल्पना गर्नु अपरिपक्वता हो । महामानव बीपी कोइरालाको मानसिकता पनि त्यही थियो । हरेक नयाँ विचार समाजका लागि आवश्यक छ । तर, त्यो विचारलाई समाजमा लागू गरेर समाजलाई त्यहीअनुसार उन्नत गरेपछि मात्र नयाँ विचारको औचित्य कायम हुन सक्दछ । विचार लिनु नराम्रो होइन । तर, त्यसका साथसाथै काम पनि हुन आवश्यक छ । विकासबिनाको विचारको सघनता विकासको टाटउल्टाइको अर्को रूप हुन सक्दछ । बीपी त्यही विषयमा सजग हुनुहुन्थ्यो । उहाँ कहिल्यै राजसंस्थाको पक्षमा रहनुभएन । उहाँलाई र लोकतन्त्रलाई राजसंस्थाले सधैँ धोका दियो । अन्ततोगत्वा जनता र विकासलाई नै राजसंस्थाले धोका दियो । तर, जब राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी नेपाल फिर्ता हुनुभयो त्यतिबेला उहाँले राजासँग राष्ट्रियताको सवालमा सम्झौता गर्न सकिने विचार राख्नुभयो जुन कुरा अहिले पनि माओवादीसमेतले गरेका पाइन्छ । राजनेताहरूलाई झिनामसिना विरोधसँग मतलब हुँदैन । उनीहरूका लागि देश र समाजको कसरी बढी कल्याण गर्न सकिन्छ भन्नेसँग चासो र सरोकार रहेको हुन्छ । यही तथ्यलाई ध्यान दिएर उहाँले त्यस परिस्थितिमा राजाका क्रियाकलापलाई कसरी जनताको अहितमा कम गर्न सकिन्छ भन्ने भावनामा आधारित भएर उहाँले त्यो धारणा राख्नुभएको हो । राजसंस्थाको अन्त्य हुन सक्ने अवस्था सिर्जना नभइसकेको अवस्थामा र परिस्थितिका आधारमा मूल्याङ्कन गरेर देश र जनताको हितमा काम गर्न सक्नुपर्ने तथ्यलाई उहाँको भावनाले आत्मसात् गरेको छ ।
उहाँले राजनीतिको माध्यमबाट मात्र होइन साहित्यको माध्यमबाट पनि धनी–गरिबको विभेद, महिला र पुरुषबीचको विभेद, सामाजिक विभेदलाई कटाक्ष गर्नुभएको छ । बीपीको राजनीति, साहित्य, समाजसेवा सबै मानवतामा आधारित थियो । मानवताविरुद्धको सोच र व्यवहारलाई उहाँले जहिले पनि कटाक्ष गर्नुभएको थियो । उहाँको परिवारबाटै समानताको सुरुवात भएको हो । २००७ सालभन्दा पहिला नाबालिका सुशीला कोइरालासँग विवाह भएपछि कोइराला परिवारले उहाँलाई पढायो र सुशीला कोइरालाले स्नातकोत्तर पास गर्नुभयो भने बीपीले स्नातक गर्नुभएको थियो । त्यो समयमा बुहारीलाई पढाउने कल्पना गर्न सकिँदैन थियो । लौहपुरुष गणेशमान र मंगलादेवीको पनि त्यही हैसियत थियो । नेपालको इतिहासमा बीपी–गणेशमान ठूला समाजसुधारक पनि थिए भने सुशीला कोइराला र मंगलादेवी सिंह वास्तवमा नै वीराङ्गना थिए । बीपीको कुरा गर्दा नेपाललाई ठूलो गुन लगाउनेहरूलाई सम्झनु अवश्य पनि राम्रो पक्ष नै हुनेछ । उहाँहरूसँगै सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, रामनारायण सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइरालाजस्ता थुप्रै विचारक र योद्धाले देश र समाजका लागि योगदान दिनुभएको हो ।
समयअनुसार लोकतन्त्रको हितका लागि काम गर्ने र गैरलोकतान्त्रिक शक्तिलाई लोकतान्त्रिक शक्तिमा परिणत गर्नु बीपीको लक्ष्य थियो । उहाँले लोकतन्त्रलाई बलियो बनाउने सबैभन्दा कारगर उपाय भनेको लोकतन्त्रविरोधी शक्तिलाई लोकतान्त्रिक बनाउनु पनि हो भन्नुभएको छ । अहिलेको सन्दर्भमा बीपीको राष्ट्रिय मेलमिलापको अर्थ पनि लोकतन्त्रलाई बलियो बनाउनु र जनताको अधिकार र हितलाई सुरक्षित गर्नु हो भन्ने अर्थमा लिइनुपर्दछ र राष्ट्रिय मेलमिलापको महानता कालजयी छ भन्ने बुझ्न जरुरी छ । राष्ट्रिय मेलमिलाप भनेको लोकतन्त्रलाई बलियो बनाउनु हो । यसका लागि गैरलोकतान्त्रिक शक्तिलाई लोकतान्त्रिक बनाउनु पनि हो । गिरिजाप्रसाद कोइराला यस अर्थमा एक गतिशील मेलमिलापको अर्थ बुझ्ने र लागू गर्ने राजनेताको रूपमा काम गर्न सफल हुनुभएको हो । माओवादी राजनीतिलाई हिंसाबाट लोकतन्त्र र जनहितकारी राजनीतिमा परिणत गर्नु आफँैमा कम ठूलो सफलता होइन । देशमा माओवादीहरू राजनीतिको मूलधारमा आउनुले लोकतन्त्रको सुरक्षामा अवश्य पनि ठूलो सहयोग भएको छ । मेलमिलापको नयाँ रूप भनेको लोकतन्त्रको मूलधारबाट लोकतान्त्रिक समाजवादको माध्यमद्वारा देशको अग्रगमन नै हो । लोकतान्त्रिक परिपाटीले जनतालाई नै सबैभन्दा बलियो बनाउँछ र यसका लागि पहल नै हाम्रो अहिलेको लक्ष्य र यथार्थ हुनुपर्दछ जुन समयको माग र आवश्यकता पनि हो । नेपालमा माओवादी मित्रहरू मात्र होइन, त्योभन्दा पहिला नै एमालेहरूले पनि बहुदलीय जनवादको सोच ल्याएर एकदलीय एकाङ्गीपनले गर्दा नै साम्यवादीहरूले समाजलाई राम्रो परिणाम दिन नसकेको अवस्था हो र उहाँहरूको ठ्याक्कै शब्द प्रयोग गर्नुपर्दा ‘मोनोटनस’ राजनीतिक अवस्था कम्युनिस्ट व्यवस्थाको असफलताको कारण रह्यो । उहाँहरूले रोज्नुभएको बाटोलाई उहाँहरूले जेसुकै नाम दिनुहोला केही फरक पर्दैन, तर त्यो लोकतन्त्रमा आधारित व्यवस्था हो । यो तथ्यलाई बीपीले पहिला नै बुझ्नुभएको थियो ।