उत्पत्ति र विकाससँगै सभ्यता अँगाल्न सुरु गरेदेखि नै मान्छेको दुनियाँमा सम्मानको अर्थ छ र महŒव पनि । यदि सम्मान र महŒव नहुँदो हो त आज मान्छेको दुनियाँको रूप र व्यवहार अलग्गै हुन्थ्यो । यिनकै दुनियाँमा अस्तित्व जमाएको सम्मान कमजोरले बलियालाई गर्ने चलन छ । गरिबले धनीलाई, साना पदकाले ठूला र उच्च पदकालाई सम्मान गर्ने चलन चलाइएको छ । अमेरिका धनी छ । उसलाई गरिब राष्ट्रले सम्मान गर्छन् । परमाणु बमसहित अत्याधुनिक हतियार उत्पादन र बिक्रीका हिसाबले, कम्प्युटर उत्पादन र विश्वमा खपतका हिसाबले, हवाईजहाज उत्पादन र कोकाकोला नामको पेयपदार्थ उत्पादन र विश्वभरि खपतका हिसाबले अमेरिका करिब ३० वर्षअघिदेखि संसारमै एक नम्बरको शक्तिशाली बन्न पुगेको छ । हतियार, कम्प्युटर, हवाईजहाज र कोकाकोलारूपी चार पखेटाका कारण अमेरिका विश्व आकाशमा उडेकोउड्यै छ । यी चार प्रकारका उत्पादनले आजसम्म कसैले टक्कर दिन नसक्ने गरी शक्तिशाली सावित भएको छ अमेरिका । त्यसैले उसलाई सदाबहार कमजोर र गरिब भएका, बनाइएका र हुनेवाला राष्ट्रहरूले सम्मान गरिरहेका छन् । ती राष्ट्रहरूका लाइनमा नेपाल पनि उभिएको छ जसले अमेरिकालाई सम्मान गर्छ । ऊ शक्तिशाली र यो कमजोर, ऊ धनी र यो गरिब भएकै कारण यसले उसलाई साष्टाङ्ग दण्डवत् गर्र्दै आएको छ । पुष्टिका लागि थप व्याख्याको आवश्यकता महसुस गरिएको छ्रैन । बराबर शक्तिशाली वा बराबरीमा पुग्न लागेकाहरूले एक–आपसमा हात मिलाउँछन् लच्किएर सम्मान गर्दैनन् । आजको विश्वमा उत्पादन र पुँजी विकास, वृद्धिका दृष्टिकोणले चीन र भारतले अमेरिकालाई कडा टक्कर दिइरहेका छन् । प्रतिस्पर्धीको रूपमा अगाडि आएका यिनीहरूले उसलाई लम्पसार परेर सम्मान गर्दैनन् ।
सम्मान खराब शक्तिशाली र धनीले होइन, असल र सुकर्म गर्नेहरूले पाउनुपथ्र्यो चाहे सुकर्ममा विश्वास राख्नेहरू गरिबै किन नहुन् । अन्यत्रका पात्रहरूलाई उदाहरण बनाउन जरुरी छैन । नेपालभित्रकै पात्रहरूलाई उदाहरण बनाउँदा पनि सजिलैसँग बुझ्न सकिन्छ । दुई–चारजना वकिल छन् काठमाडौंमा । तिनले कानुनलाई सम्मान गरेर वा अपमान गरेर दुईमध्ये एक प्रक्रिया अपनाएर अर्बौंको सम्पत्ति जोडेका छन् । भूतपूर्व गरिब ती वकिलहरूले एक पैसा पनि सम्पत्ति करको रूपमा राज्यलाई शुल्क बुझाएका छैनन् भन्ने कुरा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई मात्रै होइन पुराना अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, सबै भूतपूर्व प्रधानन्यायाधीशहरू, सबै भूतपूर्व बार एसोसिएसनका पदाधिकारीहरू, देशभरिका इमानदार वकिलहरूलाई थाहा छ । तर, जब सम्मानको सवाल आउँछ सम्मान तिनकै हुन्छ, सयपत्री फूलको माला तिनकै गलामा झुन्ड्याइन्छ, राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने सवालमा बहस कार्यक्रममा तिनलाई नै निम्त्याइन्छ र टेलिभिजनमार्फत तिनकै फाल्तु विचार सुनाइन्छ । अर्कोतिर असल कर्ममा विश्वास गर्ने वकिलहरू जो कमाइबापत राज्यलाई कर बुझाउँछन्, पैसा नहुनेहरूको निःशुल्क पनि मुद्दा लड्छन् तिनको भागमा सम्मानको ‘स’ पनि पर्दैन । दिनको पाँच लाख कमाउने डाक्टरहरू छन् यही देशमा । अर्कोतिर छन् डाक्टर गोविन्द केसी जस्ता जो अरूका लागि मर्न तयार छन् । तर, सम्मानको हकमा डाक्टर गोविन्दको होइन, पैसाका लागि बेच्न नमिल्ने सबै चिज बेच्न तयार डाक्टरलाई यो देशमा सम्मान गरिन्छ । कुल मिलाएर जो वास्तविक सम्मानको हकदार हो उसलाई सम्मान गरिएन जो सम्मानका लागि कारणसहितले उपयुक्त छैन उसलाई सम्मान गरियो । नेपालमा मात्रै होइन, यही तरिका संसारका प्रायः सबै मुलुकमा अपनाइयो । त्यसैकारण मान्छेहरू असल होइन, धनी बन्नतिर बल गर्न थाले । अनुशासित होइन, शक्तिशाली बन्नतर्फ लागे । यही प्रक्रिया अपनाउँदै विश्व मानवले एकै प्रकारको चरित्र प्रदर्शन गर्न लागे । धनी र शक्तिशालीलाई सम्मान– गरिब, कमजोर, इमानदार र नैतिकवानहरूलाई अपमान र असहयोग ।
तर, यसपटक अचम्म भयो । नेपाल र नेपालीको इतिहासमा पत्याउनै नसकिने किसिमको अवस्था सिर्जना भयो । त्यो अवस्था सिर्जना गर्ने पात्र हुन्– भारतका मानवताका पक्षधर प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी । तिनै नरेन्द्रमोदीले विगत लामो समयअघिदेखि विश्वमा धनी र शक्तिशालीले मात्रै सम्मान पाउनुपर्छ, कमजोर र गरिबले मात्रै धनी र शक्तिशालीलाई सम्मान गर्नुपर्छ भन्ने एकलकाँटे पुरानो चिन्तनको विरुद्धमा नयाँ चिन्तन र व्यवहार प्रदर्शन गरे । धनी र शक्तिशालीले पनि गरिब र कमजोरलाई सम्मान गर्नुपर्छ, कमजोर र गरिबबाट पनि सिक्नुपर्छ भन्ने सन्देश विश्व मानवलाई नेपालको संविधानसभा भवनबाट दिए । गरिबको उपस्थितिबिना धनीको अस्तित्व संसारमा रहन सक्दैन भन्ने सशक्त सन्देश दिए । नरेन्द्र मोदी भारतका शक्तिशाली प्रधानमन्त्री हुन् । शक्तिशाली तिनले पुरानो नियमअनुसार भौगोलिक क्षेत्रफलका हिसाबले सानो, जनसङ्ख्याका हिसाबले पनि सानो, भौतिक प्रगतिका हिसाबले भारतभन्दा गरिब नेपाललाई हेप्न पथ्र्यो, तर हेपेनन् मात्रै होइन, नेपाल राष्ट्र बनेपछि कुनै विदेशीले गरेको चर्चालायक सम्मान कुनै हो भने यही हो, जुन नरेन्द्र मोदीले नेपाललाई दिए । उनले नेपालीले नसोचेको सम्मान दिए । भारतीय प्रधानमन्त्रीले नेपालको संविधानसभा भवनबाट सम्बोधन गर्ने क्रममा नेपालले पर्यटन विकासमार्फत आफूलाई आर्थिक रूपले मजबुत बनाउन सक्ने बताए । जडीबुटी, जलविद्युत् विकासबाट आज लोडसेडिङको समस्या व्यहोरिरहेको नेपालले आउने दश वर्षमा नेपालको मात्रै होइन, भारतको अँध्यारो पनि हटाउन सक्ने बताए । त्यसका लागि कुनै पनि खालको सहयोग गर्न तयार रहेको पनि बताए । इतिहासको पाना पल्टाएर हेर्ने हो भने नेपालमा थुप्रै देशका अनेक नामका धेरै सरकारप्रमुख र राष्ट्रप्रमुखहरू आएका छन्, तर नरेन्द्र मोदीले जस्तो सकारात्मक सोच नेपालका लागि कसैले राखेनन् । नेपालका राजनीतिक दलमध्ये केहीले भारतले सिमाना मिचेर नेपाली राष्ट्रिय अस्मिता धरापमा पारेको भन्दै विरोध गर्थे । भारतका पुराना शासकहरूको हेलचेक्र्याइँ वा बेवास्ताका कारण नेपाली भूमि अतिक्रमण भएको साँचो पनि हो । आफ्नो भूमि अतिक्रमण हुँदा नेपाली राजनीतिक दल र जनताले चित्त दुखाउनु स्वाभाविक पनि हो । तर, नरेन्द्र मोदीले हाम्रो संविधानसभा भवनबाटै नेपाल सार्वभौम राष्ट्र हो भन्ने अभिव्यक्ति दिएपछि एकाध किलोमिटर नेपाली भूमि भारततिर लगिएको भए पनि अब त्यो फिर्ता हुने प्रक्रिया अगाडि बढ्ने छेकछन्द देखिएको छ । भारतमा पुराना शासकहरूले राज गर्दासम्म सिमानामा भारतीय सुरक्षाकर्मीको अपमान र ज्यादती सहँदै आएका नेपालीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नेपाली छिमेकीहरूलाई सम्मान र सहयोग गर्नु’ भन्ने आदेश पालना गर्दै भारतीय सीमा सुरक्षाबलका कर्मचारीले अन्तर्वार्ता दिएरै भने, ‘अबदेखि हामी नेपाली जनतालाई सम्मान गर्छौं, सहयोग गर्छौं, कत्ति पनि चिन्ता नमान्नुहोला ।’ आफ्नो वचनको प्रभावले नरेन्द्र मोदीले नेपाली मन जिते, सिमानाका सुरक्षाकर्मीको व्यवहारमा परिवर्तन गरेर नेपाली स्वाभिमानको सम्मान गरे । संसारका हरेक राष्ट्रले परराष्ट्र नीति र छिमेक नीति तय गर्छन् । तर, आज धेरै मुलुक छिमेक नीति र परराष्ट्र नीतिमा असफल भएका छन् । यसकारण विश्वमा द्वन्द्व घट्दो होइन, बढ्दो अवस्थामा देखिन्छ । इराक र इरानबीच करिब आठ वर्ष युद्ध भयो । उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढिरहेको छ र उत्तर कोरियाले दक्षिण कोरियामाथि कुनै पनि बेला हमला गर्न सक्ने चेतावनी दिएको छ । क्युवा र अमेरिकाबीचको चिसो आजसम्म समाप्त भएको छैन । यी प्रमाणलाई आधार मान्दा भन्न सकिन्छ– विश्वका शक्तिशाली मुलुकसमेत छिमेक नीति र परराष्ट्र नीतिमा असफल भएका छन् । सफल हुँदा हुन् त द्वन्द्व र युद्ध हुने थिएन । अब सवाल यतिबेलाको भारत र नरेन्द्र मोदीको छ, पुराना भारतीय शासकको छिमेक नीति पूरै असफल भएको थियो । परिणामस्वरूप भारतको सम्बन्ध छिमेकी मुलुक पाकिस्तान, बंगलादेश, श्रीलङ्कालगायतसँग सोचेअनुसारको सुमधुर थिएन । नेपालीले पनि आफू हेपिएको महसुस गरेकै थिए चाहे सिमाना मिचिएको मुद्दा होस् चाहे अन्य अन्य शीर्षक र सवालमा । तर, नरेन्द्र मोदीले छिमेक नीतिमा परिवर्तन गर्दै आफूले प्रधानमन्त्री पदको शपथ लिने समयमा सार्क राष्ट्रका छिमेकी सरकारप्रमुखहरूलाई निम्त्याएर चियानास्ता खुवाए । यो प्रक्रिया मोदीको छिमेकीलाई सम्मान दिने र साथै हिँड्ने नयाँ र सकारात्मक असरदार तरिका थियो ।
त्यति मात्र होइन, नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारतका पुराना शासकले नेपाललाई गर्दै आएको सहयोगभन्दा बढी सहयोगको घोषणासमेत भयो । यी सबैका अतिरिक्त नेपालले सके भारतलाई सहयोग गर्ने र भारतले सके नेपाललाई सहयोग गर्ने घोषित–अघोषित नीतिअनुरूप भारतले नेपाललाई स्कुलभवन, कलेजभवन, बाटो, अस्पताल, गाडीलगायतका सहयोग गर्दै आएको र नेपालले भारतलाई पानी र रगत दिइरहेको अवस्थामा भारतले सधैँभरि आफूले दिएकोचाहिँ चर्चा गर्ने नेपालले दिएको पानी र रगतबारे चाहिँ कहिल्यै चर्चा गर्ने गरेको थिएन । यसपटक नरेन्द्र मोदीले बिजुलीरूपी पानी खरिद त गर्ने हो नै नेपाली रगत नबगी भारतले कुनै पनि युद्ध नजितेको प्रसङ्ग समेत कोट्याएर नेपाली रगतको सम्मान पनि गरे । भारतले नेपाली रगतको पहिलोपटक सम्मान ग-यो । नेपाली युवा भारतीय सेनामा निकै लामो समयअघिदेखि सेवारत छन् । जब–जब भारतको कुनै अन्य राष्ट्रसँग युद्ध हुन्छ त्यहाँ नेपाली सेना प्रयोग भएकै छ र नेपाली नागरिक मारिएकै छन्, नेपाली रगत बगेकै छ । तर, नेपालले भारतको नाममा चढाएको त्यो नेपाली रगतको चर्चा कहिल्यै भएको थिएन, यसपटक नरेन्द्र मोदीले त्यो सत्प्रयत्न गरे । सिङ्गो नेपाललाई उनले सम्मान गरे । यसरी मोदीले नेपाल र भारतका मात्रै होइन, विश्वकै नयाँ–पुराना शासकहरूलाई छिमेकीसँग कुन तरिकाले सुमधुर सम्बन्ध राख्नुपर्छ भन्ने सिकाउने काम गरे । हिजोका दिनमा जुन छिमेकनीति भारतले अपनायो, त्यो सम्पूर्णतः सही थियो भन्न सकिन्न । अब भने छिमेकनीति तर्जुमा गर्दा नरेन्द्र मोदीबाट भारतीय अन्य नेताहरूले त सिक्नेछन् नै, नेपाली राजनीतिज्ञहरूले पनि मोदीबाट सिकेर मुलुकलाई विश्वमानवका माझमा शिर ठाडो हुने गरी अगाडि बढाउन सक्नेछन् । हेर्दै जाऊँ, नेपाल र भारतका नेताहरूले मोदीबाट के सिक्छन्, कति सिक्छन् र कुन तरिकाले दुई देशको सम्बन्धलाई चिरकालपर्यन्त सकारात्मक र गाढा बनाउँदै लाने छन् ।
प्रतिक्रिया