बीपीको विचार र अनुयायीका आचार

बीपीको विचार र अनुयायीका आचार


sampadakeeyaनेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व बीपी कोइरालाको सम्झनामा नेपाली काङ्ग्रेसले सुरु गरेको बीपी विचारयात्रा भदौ २४ का दिन सुन्दरीजल पुगेर टुङ्गिँदै छ । बीपीको भौतिक शरीर रहिरहेको भए सम्भवतः यतिबेला उनको १००औँ जन्मोत्सवको तयारी धुमधामले चलिरहेको हुने थियो । तर, तीन दशकअघि नै महाप्रस्थान गरेका संस्थापक नेता बीपीको सम्झना र सम्मानमा काङ्ग्रेसले विशेष अभियानकै रूपमा जन्मशताब्दी वर्ष मनाउँदै छ । बीपी विचारयात्रा पनि यसैको एक हिस्सा हो । नयाँ पुस्तालाई काङ्ग्रेस र बीपीको योगदान तथा महŒवबारे जानकारी गराउने मूल उद्देश्यका साथै समयमै लोकतान्त्रिक संविधान निर्माण गर्न अनुकूल वातावरण बनाउन सहयोग पु-याउने ध्येय राखिएको विचारयात्रा भने काङ्ग्रेसभित्र सुरुमै विवादको विषय बन्न पुग्यो । बीपीको नाम जप्ने, तर बीपीलाई नै बिर्सनेजस्तो अनौठो रोगले सताइएको काङ्ग्रेसका लागि बीपीको नाममा ‘विचारयात्रा’ आयोजन गरिनु सुखद् विषय नै हुनुपर्ने हो, तर पार्टी–उपसभापति रामचन्द्र पौडेलको विशेष तदारुकता देखिएको यस कार्यलाई पार्टीभित्रैको एक पक्षले ‘व्यक्तिगत राजनीतिक लाभ हासिल गर्ने माध्यम’ ठानेर उपेक्षा गरेको पाइयो । काङ्ग्रेसभित्र मेलमिलाप होइन गुटको राजनीति भुसको आगोझैँ बल्किएर रहेको यथार्थको यो ज्वलन्त उदाहरण हो ।
बीपीले तीन दशकसम्म गरेका सबै आन्दोलन असफल भएपछि राष्ट्रिय मेलमिलापको नीति अघि सारेका थिए । सम्भवतः बीपीको यो नीति राष्ट्र या राष्ट्रियतालाई बलियो पार्ने निर्विकल्प उपाय थियो । बीपीजस्ता नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व एवम् दूरदर्शी राजनेताले हचुवा तालमा मेलमिलापको नीति पक्कै ल्याएनन् । तर, उनले अघिसारेको यति गम्भीर नीतिको उनले नै जन्माएको पार्टीले अत्यन्त निर्मम ढङ्गले उपहास गरिदियो । अर्थात्, बीपीले अपरिहार्य ठानेर अङ्गीकार गरेको राष्ट्रिय मेलमिलापको नीति उनकै कान्छाभाइले पार्टीनेतृत्वको बोझ उठाएको कालखण्डमा पत्रुसरह रछ्यानमा मिल्काइयो । त्यसयता सैद्धान्तिक निष्ठाबाट ओरालो लागेको काङ्ग्रेस बाटो बिराएको यात्रुझैँ अलमल अवस्थामै रहेको छ । काकतालीले सत्ताको लगाम हात पर्दैमा सफलताको शिखर चढिरहेको भ्रम पाल्न मिल्दैन ।
प्रजातन्त्रको मूल्य, मान्यता र आदर्शप्रति हरदम प्रतिबद्ध रहँदै संसदीय शासन व्यवस्थाको स्थापना, पुनस्र्थापना र विकासमा समर्पित भई जननायकको विशेषण पाएका थिए बीपी कोइरालाले । जतिसुकै घुमाइफिराई व्यक्त गर्न खोजिए पनि त्यसरी अनेक मान–भुक्तमान सहँदै संसदीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना र विकासमा उनी अनवरत लाग्नुको सोझो अर्थचाहिँ समस्त नेपालीलाई प्रजातान्त्रिक वातावरणमा आफ्नो व्यक्तित्व विकास गर्ने, आर्थिक समृद्धि हासिल गर्ने अनि शान्त र सुरक्षित वातावरणमा जीवनयापन गर्ने अवसर जुराइदिनु नै थियो । कुनै पनि शासक वा शासन–व्यवस्थाले आफ्ना नागरिकलाई दिनुपर्ने आधारभूत कुरा पनि यत्ति नै हो । यति अवसर पाएपछि व्यक्तिले आफ्नो विवेक, क्षमता तथा कार्यकौशलका आधारमा जीवनमा हासिल हुनसक्ने अवसर आफैँ सिर्जना गर्छ या आफ्नो स्थान आफैँ बनाउँछ । रुचि, जाँगर र खुबी हुनेले आफ्नो दायरा फैलाएर व्यापक तुल्याउँछ, यी गुण नहुनेहरू पनि प्रजातान्त्रिक मुलुकको एक स्वतन्त्र नागरिक हुनुमै सन्तुष्ट रहन सक्छन् वास्तविक प्रजातन्त्रमा । सार्वभौम प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनुको औचित्य मूलतः यत्ति नै हो । आमनेपालीलाई यस्तो अवसर प्रदान गर्नका निम्ति जननेता बीपीले जति इमानदारीपूर्वक आफूलाई राजनीतिक अग्निकुण्डमा होमेका थिए, त्यसको एक छेउसम्म पनि आजका कुनै राजनीतिकर्मी पुग्न सकेनन् । काङ्ग्रेसका नेताहरूले पछिल्लो समय बीपीको आदर्श र बाटो छोडेको आलोचना सघन हुँदै जानु बीपी विचारयात्रा जारी रहेको सन्दर्भबीच विषद् विषय बन्न पुगेको छ ।
बीपी आफ्ना अनुयायी (काङ्ग्रेसजन)लाई सम्बोधन गर्दा भन्ने गर्थे, ‘म नरहेको अवस्थामा पनि यदि नीतिगत कुरा या लाइनको सम्बन्धमा जब मनमा कुनै द्विविधाको स्थिति उत्पन्न हुन्छ– तपाईं उभिएको ठाउँको एक मुठी माटो हातमा लिएर त्यसलाई सोध्नुहोस्, तपाईंको कर्तव्य के हो भन्ने जवाफ त्यसले दिनेछ । एउटा भाङ्ग्रो लगाएका नेपालीको तस्बिर छातीमा टाँसेर सोध्नुहोस्, सोच्नुहोस्– तपाईंलाई राष्ट्रप्रतिको जिम्मेवारी बोध हुनेछ ।’ हो, आज बीपी छैनन् । यस परिवेशमा बीपीलाई आदर्श ठान्नेहरूले उनको यस अभिव्यक्ति कति मनन गरिरहेका छन्, कति व्यवहारमा उतारिरहेका छन् त ?