‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज–सरस्वती र मनाङ–एपीएफ भिड्दै

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज–सरस्वती र मनाङ–एपीएफ भिड्दै


शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग अन्तर्गत आज चौथो चरणका दुई खेलहरु हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आजको पहिलो खेलमा लिगको नवौं स्थानमा रहेको सरस्वती र दशौं स्थानमा रहेको ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ । यसअघिका तीन खेलमा दुवै टोलीले एक जित र दुई हारका साथ समान तीन अंक जोडेका छन् । त्यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे साविक विजेता मनाङ मस्र्याङदी र बिभागीय टोली एपीएफ भिड्नेछन् । आजको खेलमा जित हासिल गरे मनाङ पुनः लिगको शीर्ष स्थानमा उक्लिनेछ ।

हिजो भएको खेलमा संकटाबिरुद्ध ५–१ गोलको जितसँगै त्रिभुवन आर्मी एक अंकको अग्रताका साथ शीर्ष स्थानमा उक्लिएको थियो । आर्मीको ४ खेलबाट १० र मनाङको ३ खेलबाट ९ अंक छ । हिजो भएको खेलमा थ्रीस्टारले एनआरटीलाई तथा पुलिसले च्यासल युथ क्लवलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो ।