दक्षिण एसियाली क्षेत्रीय ब्याडमिन्टन शुरु

दक्षिण एसियाली क्षेत्रीय ब्याडमिन्टन शुरु


दोस्रो दक्षिण एसियाली यू– २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंसिर ११ गते मंगलबारदेखि काठमाडांैमा शुरु हुने भएको छ । ब्याडमिन्टन एसियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनसिपमा नेपाललगायत भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला चार र पुरुष चार गरी ८ खेलाडीको सहभागिता रहनेछ । यस्तै, अन्य टिमका ३–३ पुरुष तथा महिला खेलाडीको सहभागिता रहनेछ ।

दक्षिण एसियामा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण भारतको गुहावटीमा भएको थियो । जसमा नेपालले मिक्स टिम स्पर्धामा रजत र पुरुष युगलमा कांस्य पदक जितेको थियो ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ कभर्डहलमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुष–महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम इभेन्ट्स गरी ६ स्पर्धामा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी गराए । विजयी खेलाडीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।