सडकमा मौलाएको अराजकता– राजेश खनाल

सडकमा मौलाएको अराजकता– राजेश खनाल


bicharसवारीका विभिन्न माध्यममध्ये सडक यातायात बढी सुरक्षित माध्यम मानिन्छ । सडक यात्रामा यदाकदा दुर्घटना हुने गरे पनि सडक यातायातलाई नै ‘सुरक्षित’को पगरी लगाइएको पाइन्छ । हुन पनि केही असामान्य घटना भएबाहेक सडक यातायात केही हदसम्म सुरक्षित रहेको स्वीकार्नैपर्छ । हामी माझ यस्ता धेरै व्यक्ति छन् जो सडक दुर्घटनामा परेर पनि सवारीसाधनको प्रयोग गरी नै रहेका छन् । सडकमा दुर्घटनाको सङ्ख्या वृद्धि भए पनि सडकमा सवारीको चापमा कमी आएको छैन । मुलुकको राजधानी काठमाडौंमा सवारीको चाप देख्दा कसैले पनि महसुस गर्न सक्छन् कि नेपाल भन्नलाई मात्र गरिब मुलुक हो, यहाँका अधिकांश मानिस भने धनी छन् । सडकमा गुडेका दुईपाङ्ग्रेदेखि १६ पाङ्ग्रेसम्मका सवारीसाधनले त्यही दर्शाइरहेको छ ।
चाबहिल चोकमा बस्दा मूल सडकमा गएर गुच्चा खेलेको अचेल हरदम सम्झना आउँछ । करिब सैंतीस वर्षअगाडिको त्यो घटनाले त्यतिखेर दिमाग रन्काउँछ जब चाबहिल चोकलाई वारिपारि गर्न मुस्किल पर्छ । कहिलेकाहीँ त गणेशस्थान जाने बाटोबाट बौद्धतर्फ जाने बस बिसौनी पुग्नलाई पनि पन्ध्रौँ मिनेट लाग्छ । त्यसो त गौशाला ट्राफिकमा सीताराम हाथेछु रहँदा ट्राफिक लाइट जडान भएको हो चाबहिलमा । तर, त्यो लाइट जडान मात्र भयो, हामी–तपाईंजस्ता यात्रुले बिनाट्राफिकलाइट नै गएको पाँच–६ वर्षदेखि सडक वारिपारि गरिरहनुपरेको छ । लाइट छ तर बल्दैन । चारैतिर दैनिक दश–बाह्र घन्टा लोडसेडिङ भए पनि चाबहिल ट्राफिकलाइटमा बाह्रैमास लोडसेडिङ छ ।
आममानिसले सहज ढङ्गबाट सडक वारपार गर्न नसक्नु सडकमा विद्यमान अराजकताका कारण नै हो । सर्वत्र अराजकता मौलाएको बेला सडकमा मौलाएको अराजकताले सडक यात्रुहरूलाई सधैँ आक्रान्त बनाएको छ । विशेषगरी सडकमा हिँड्ने पैदल यात्रु नै यस अराजकताको चरम चेपुवामा पर्ने गरेका छन् । तिनकुनेछेउमा एक महिला सडक पार गर्न अगाडि बढ्थिन्, तर तुफान गतिमा आएको गाडी देखेर पुनः पछाडि सर्थिन् । ती महिला निकैबेरसम्म अगाडि–पछाडि गरिरहिन् । ती महिलाको दुर्दशाप्रति केही दूरीमा रहेका ट्राफिक प्रहरीको दृष्टि सायद पुगेको थिएन । सडक यातायातलाई व्यवस्थित बनाउनेले ध्यान नदिएको अवस्थामा अन्य आमनागरिकको ध्यान पुग्ने अपेक्षा गर्न कसरी सकिएला र ?
राजधानीको सडकमा सबैभन्दा हतार मोटरसाइकलचालकलाई भइरहेको हुन्छ । ट्राफिक नियमअनुसार अगाडि खडा भएको गाडीभन्दा पछाडि गाडी वा मोटरसाइकल बस्नुपर्ने हो, एक पछि दुई, दुईपछि तीन, चार, पाँचजस्तै । तर, मोटरसाइकलचालकलाई त्यति धैर्यता हुन्न । मोटरसाइकल सवार त राष्ट्रपतिभन्दा पनि ठूलो हो सायद, त्यसैले त जतिसुकै पछि आए पनि सानो प्वाल भेट्यो कि त अगाडि बढ्यो र हुइँकियो । त्यसले अरूलाई दुःख देओस्, बाल मतलब छैन । सडकमा पैताला खियाएर हिँड्ने यात्रु त को हुन् र तिनका अगाडि । तर, त्यसलाई नियन्त्रण गर्न सकेका छैनन् ट्राफिक प्रहरीले । यदि सडकमा अराजकता फैलाउने मोटरसाइकलहरूलाई ट्राफिक प्रहरीले व्यवस्थित गर्ने हो भने सडकमा देखिएको ट्राफिकजामले कसैलाई पनि दुःख दिने थिएन ।
सडक अराजकताको गजबको नमुना गएको गत शुक्रबार दिउँसो रत्नपार्कमा देखियो । रत्नपार्क आकाशेपुलमुनि केही ट्राफिक प्रहरी जाँच गर्दै थिए । त्यसैबेला एउटा मोटरसाइकल आइपुग्यो । ट्राफिकले रोक्ने इसारा गरे, तर आश्चर्य ती युवकले मोटरसाइकल रोकेनन् र ट्राफिक प्रहरीलाई माथ दिन खोज्दै अगाडि बढे । त्यहाँ रहेका प्रहरी पनि कम थिएनन्, उनले मोटरसाइकलचालकको पाखुरा समाते । मोटरसाइकलचालक झनै गति बढाउन थाले र सीधा बागबजारतिर मोटरसाइकल लान थाले । बीचसडकमा मोटरसाइकल पुगिसकेको थियो र ट्राफिक प्रहरीले पनि सारा बल निकालेर मोटरसाइकलचालकको हात समाएर तानेका थिए । र, यसरी मोटरसाइकल रोकिएको थियो । तीनपाङ्ग्रे ट्याम्पुमा बसेको पङ्क्तिकारलगायत अरूले पनि यो घटनालाई आँखा तानेर हेरेका थिए । अत्यन्तै चल्तीको त्यो सडकमा एउटा सम्भावित दुर्घटना टरेको अनुमान गर्दै थिए उक्त खतर्नाक दृश्य देख्नेहरू । वास्तवमा ती ट्राफिक प्रहरी जो थिए, तिनले विकृत मनस्थितिका मोटरसाइकलचालकलाई पक्रने काम गरेका थिए ।
अहिलेका युवाको महत्वपूर्ण सवारीसाधन भएको छ मोटरसाइकल । विभिन्न मोडेलका मोटरसाइकल र स्कुटरको बाढी राजधानीको सडकमा देख्न सकिन्छ । र, त्यसैले नै राजधानीको सडकमा जाम पनि बढाएको स्वीकार्नुपर्छ । आजभोलि सवारीचालक अनुमतिपत्र लिन सहज नभएको हुँदा कतिपय युवा–युवतीले बिनालाइसेन्स मोटरसाइकल कुदाइरहेको पाइन्छ । सम्भवतः रत्नपार्कलाई सीधा क्रस गरेर बागबजारतिर हुत्तिन खोज्ने मोटरसाइकलचालक पनि त्यही कोटिमा थिए अथवा अरू कुनै कारण थियो, त्यसतर्फ नजाऊँ । तर, यस सडकमा मौलाउँदै गएको अराजकता रोक्नका लागि ट्राफिक प्रहरीले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अन्यथा सडकमा देखिएको यो विकृतिले झनै विकराल रूप लिन सक्छ ।
साना गाडी मात्र नभएर ठूला हेभी गाडीका चालकको गतिविधि पनि अराजक नै रहेको पाइन्छ । राजधानीको व्यवस्थित सडकमा गुडाउँदा पनि एक–अर्कालाई प्रतिस्पर्धी ठान्ने सार्वजनिक सवारीसाधनका चालकको बानीले कतिपय अवस्थामा यात्रुहरूको मुटुमा ढ्याङ्ग्रो बजाएको छ । भक्तपुर जडीबुटीनजिक केही दिनअगाडि नेपाल यातायातको बस र एउटा हेभी ट्रकबीच यस्तै जुहारी चल्यो । ट्रकचालक देब्रे मोड्न खोज्ने र नेपाल यातायातका चालक सीधा जान खोज्ने, ट्रकचालक आफूलाई ठूलो ठान्ने र सिटभन्दा बढी यात्रु बोकेको नेपाल यातायातका चालक आफूलाई ठूलो मान्ने । यी दुई गाडीचालकको ‘इगो’को चेपुवामा आमयात्रु नराम्ररी पर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
एकपटक कुनै बसबिसौनीमा नीलो माइक्रोले गलत काम गरेको भन्दै ट्राफिक प्रहरीले चालकलाई जरिवानाको चिट काटे । निकैबेरको गनथन र मन्थनपछि चालकले चिट बोके र खलाँसीलाई भने, ‘भाइ, यो दुई सय त उठाउनैपर्छ । कहाँ खल्तीबाट तिर्ने ? झुन्ड्याएर भए पनि दुई सय अर्को बनाउनैपर्छ ।’ चालकले यसो भनिरहँदा ट्राफिक प्रहरी अर्को गाडीतर्फ गइसकेका थिए । तिनले सुनेको भए पनि के नै गर्थे र ?
सडकमा यस्ता दुर्वृत्ति कति दृष्टिगोचर हुन्छ कति ! भन्नलाई त ट्राफिक नियम पालना गराउने कुरा जोडतोडका साथ गराइएको हुन्छ, तर जेब्रा क्रसिङबाट पैदल यात्रुले वारपार गर्दा पनि ज्यान हत्केलामा लिएर गर्नु परिरहेको अवस्था आजको छ । जेब्रा क्रसिङमा पनि गाडी कुदाएको देख्दा लाग्छ– चालकको दृष्टिमा क्रसिङ एरियाको सेतो धर्को किरण मानन्धरको अमूर्त कला पो हो कि ?
के यस किसिमको सडकयात्रालाई सुरक्षित मान्न सकिएला ?