झन्डै एक दशकपछाडि नेपाली विद्यार्थी आन्दोलनको अग्रणी संस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशन हुन गइरहेको छ । सामाजिक सञ्जालका भित्ताहरूमा नभएर देशभरको क्याम्पस, जिल्ला–जिल्ला तथा राजधानीका भृकृटीमण्डप, पुतलीसडकदेखि नेताका निवासहरूमा भावी नेतृत्वका लागि समूह–समूहमा अभ्यास भइरहेका देखिन्छन् । लामो समयदेखि विचार मन्थन निर्माण कार्यान्वयन मात्र नभएर निर्वाचित नेतृत्वको अभावमा नेताले तोकिदिएका व्यक्तिहरूद्वारा नेपाल विद्यार्थी सङ्घका कुुर्सीहरू भरिएका थिए । विद्यार्थी कुर्सीमा बस्ने पक्ष नभएर निरन्तर प्रगतिका लागि आवाज बुलन्द बनाइरहनुपर्ने सडक, विद्यालय तथा क्याम्पस, विश्वविद्यालयका कक्षाकोठाहरूमा आ–आफना प्राध्यापकहरूसँग वैचारिक, सैद्धान्तिक तथा प्राज्ञिक ज्ञान भण्डार प्राप्तिका लागि लड्नुपर्ने वर्ग हुनुपर्ने हो । उमेरले नेटो काटेका अवसर पाएमा देश सञ्चालन गर्नुपर्ने जीवनको अवस्थामा विद्यार्थीको नेतृत्व गर्न चाहनु त्यति नै गलत र असान्दर्भिक हो जति समयमा गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नगर्नु । पाँच वर्ष पहिले सम्पन्न हुनुपर्ने महाधिवेशन आज आएर हुन्छ भन्ने आशा ती विद्यार्थीले गरेका छन् जसमध्ये बहुसङ्ख्यक क्याम्पस–विश्वविद्यालय जाँदैनन् वा जान छाडेका छन् । भलै कर्मकाण्डका लागि कतै भर्ना गरिएका होलान् ।
विद्यार्थीले राजनीति गर्न हुन्छ वा हुँदैन भन्ने विषय लामो समयदेखि बहसमा नै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिप्रतिको ज्ञान प्राप्तिभन्दा बाहिर सचेत वर्ग अवश्य रहन सक्दैन । राजनीतिको क्षेत्रमा विद्यार्थीले प्रत्यक्ष संलग्नता जनाउने वा नजनाउने भन्ने विषय त्यस देशको नागरिक सूचकहरूमा भर पर्छ ।
आज प्रजातान्त्रिक पद्धतिलाई विकसित हुनबाट रोकिएको छ । मानवीय स्वतन्त्रता तथा अधिकार क्षेत्र कुण्ठित पारिएको छ र शासक वर्गले मनोमानी पूर्ण निरङ्कुशता लादिएको अवस्था भएको समाजमा सचेत वर्गको प्रत्यक्ष नेतृत्व जरुर आवश्यक हुन्छ । जनअधिकार स्थापित गर्न किसान, मजदुर, पेसाकर्मीजत्तिकै विद्यार्थी पनि आन्दोलित हुनु जरुरी छ । प्रजातान्त्रिक पद्धति भएको देशहरूमा विद्यार्थीहरू आफ्नो ज्ञान वृद्धि गर्ने सीप सिक्न सुवर्ण समयमा भाषणकला वा ढुङ्गामुढाकला मात्र सिक्न लाग्यो भने अन्ततः त्यस देशको आर्थिक उन्नतिको बाटोमा तगारो बनेर त्यही विद्यार्थीतर्फ युवापङ्क्ति तेर्सिएको हुन्छ । चाहेर–नचाहेर प्रजातान्त्रिक पद्धतिभित्र नेतृत्व विकासका अवसरहरू सुलभ हुन्छन् । नेतृत्व भन्नाले दलगत स्वार्थकेन्द्रित राजनीतिलाई मात्र लिइनु पनि त्यत्तिकै घातक छ । विद्यार्थी सधैँ आन्दोलन मात्र गर्दछन् भन्ने भ्रम हाम्रोजस्तो पराश्रित देशमा मात्र रहने गर्छ ।
छिमेकी भारत वा चीन कतै पनि आफ्ना कक्षा छाडेर दिनहुँ सडकमा भौँतारिने राजनीति विद्यार्थीले गर्दैनन् । त्यहाँ विविध विद्यार्थी समिति त हुन्छन्, तर ती विशुद्ध विद्यार्थी हकहितका लागि स्थापित युनियनहरू हुन्छन् । संसारका विकसित देशहरूमा कहीँ कतै पनि राजनीतिक पार्टी नै हल्लाउने, ठेक्कापट्टा सञ्चालन गर्ने, चन्दा मागेर उद्योगी–व्यापारीलाई निराश पार्ने विद्यार्थी सङ्गठन हुँदैनन् । विद्यार्थी कल्याण क्षमता अभिवृद्धि तथा सभ्य र सुसंस्कृत व्यक्तित्व निर्माणका लागि सहयोग पु-याउने हेतुले खोलिएका विद्यार्थी कल्याण सभा वा सम्मेलनहरू आयोजना गरिन्छन् राजनीतिको प्रत्यक्ष लाभ र नोक्सानको व्यापारमा लागेका हुँदैनन् ।
त्यसो भए विद्यार्थी देशबाट निरङ्कुशता हटाउन मात्र आन्दोलित हुनुपर्ने हो त । अवश्य त्यही हो । राजनीति गर्न सक्छन् नागरिकले, तर पूर्वविद्यार्थीको हैसियतमा । विश्वविद्यालयसम्मको अध्ययन नगरेका मानिसले कसलाई नेतृत्व गर्ने । चाहे जुनै क्षेत्र वा विषय होस् कुनै एकको अनुसन्धनात्मक अध्ययन नभएको मानिसले युगको दिशा र गति कसरी बुझ्ला ? दश मिनेटको चर्को उत्तेजक भाषण र केही खुरापाती कलाको नक्कल गरेर राष्ट्रको राजमार्गमा आइपर्न सक्ने अवरोध हटाउने काइदा सिक्न सक्ने कुरा छैन । देशभित्र वा बाहिर अनगिन्ती विद्वान् छन् । किसान र मजदुर छन्, पेसाकर्मी छन् । उद्योगी–व्यापारी छन् । ती सबैका आ–आफ्नो क्षमता र दक्षता छन् । विशेषता छन् ती सबैको । समायोजन र नयाँ तौरतरिका जसले यी सबैलाई नेतृत्व प्रदान गर्न सकून् आजको आवश्यकता हो । विचारले मानिस आजन्म निर्देशित हुन्छ तर क्षणिक भौतिक लाभले क्षणिक मात्र निर्देशित ।
अतः अबको विद्यार्थीले राजनीतिको नाममा पेसालाई चटक्कै बिर्सने, क्षमता अभिवृद्धिमा नलाग्ने, सभ्यता र संस्कृतिलाई नजरअन्दाज गरेर ग्वारारा कुदेर केही हुनेवाला छैन । विद्यार्थीले स्तरीय शिक्षा, सामाजिक सुरक्षा तथा राष्ट्रको स्तर उन्नतिका लागि आवाज उठाउने कार्यमा आफ्नो क्षमता र सीप प्रदर्शित गर्नुपर्छ न कि हाम्रो देशमा परम्परागत रूपमा चल्दै आएको जस्तो मपाइँवादी चिन्तन । जति हिँडे पनि कहीँ नपुग्ने जाँते पिङ क्याम्पस, विश्वविद्यालयको चौर होइन कक्षाकोठामा प्रवेश गर्ने राजनीति अपेक्षित हुन्छ नै ।
(लेखक बीपी चिन्तन प्रतिष्ठान गोरखाका अध्यक्ष हुन्)
प्रतिक्रिया