नेपाल प्रेस युनियनको आठौँ महाधिवेशन (२०७१ भदौ २१ र २२ गते पोखरामा) सफलताका साथ सम्पन्न भएको छ । अधिवेशन सम्पन्न गराउन मूलतः वर्तमान कार्यसमितिका अध्यक्ष बद्री सिग्देल र त्यसपछि केन्द्रीय कमिटीका साथीहरू, कास्की शाखा, पार्टी नेतृत्व र शुभचिन्तकहरूको भूमिका महत्वपूर्ण रह्यो । त्यसैले अधिवेशनबाट सबै पक्ष विजयी भएको अवस्था छ । केन्द्रीय अध्यक्ष किरण पोखरेलले राजीनामा दिनुभएको, एकपटक अधिवेशन रोकिइसकेको र काङ्ग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन हुने कुरा करिब जोक्स (कतिपय पत्रपत्रिकाले भनेअनुसार) भएको अवस्थामा प्रेस युनियनको अधिवेशन गराएर वर्तमान कार्यसमितिका सबै साथीले विजय हुने काम गर्नुभएको हो । पदीय जिम्मेवारीअनुसार विजयको श्रेयको ठूलो हिस्सा बद्री सिग्देललाई जान्छ । अधिवेशन गर्न नसकेको भए अथवा अधिवेशनमा विवाद भएको भए त्यसको जिम्मवारी पनि सिग्देललाई नै जान्थ्यो । यो प्राकृतिक कुरा हो ।
अधिवेशन हुनु आफैँमा सफलता हो । अधिवेशन भनेपछि नेतृत्व पक्षको पनि पनि कुरा आउँछ । पछिल्ला वर्षहरूमा नेपाली काङ्ग्रेसका जुनसुकै भ्रातृ वा शुभेच्छुक संस्थाका नेतृत्वको इलेक्सन गर्नुअघि केही पक्षले सेलेक्सन गर्ने र त्यसलाई अधिवेशनको नाटकबाट अनुमोदन गराउने प्रचलन बढेको छ । प्रेसको सन्दर्भमा पनि यही नियम लागू भएको थियो । कुनै पनि संस्थामा जिम्मेवार नेतृत्व आओस् भन्ने कामना गर्नु पार्टी र नेतृत्वको जिम्मेवारीभित्रै पर्दछ । तर, पार्टी नभएर पार्टपार्टले नेतृत्व खोज्ने कामले गर्दा कतिपय अवस्थामा पार्टी हार्ने र पार्ट जित्ने हुँदै आएको छ । प्रेस युनियनका सन्दर्भमा पनि यही भयो । अध्यक्षका आकाङ्क्षी सिग्देल र शिव लम्सालसहितका साथीहरूबीच चर्चा हुँदा नेतृत्वले मतदातासँग अन्तरक्रिया नगरी केही व्यक्तिको आग्रहलाई पार्टीको संस्थापना र इतर संस्थापना भनेर दुःखद् विभाजन गर्ने काम गरियो । पार्टबाट गरिएको बढी हस्तक्षेपलाई मतदाताले मन पराएनन् । नेपाल पत्रकार महासङ्घ तथा प्रेस युनियनको सन्दर्भमा उम्मेदवार चयन गर्ने केही सनातनी अनुहारले जसलाई च्याप्यो त्यही हार्ने अवस्था थियो । यसको सही मूल्याङ्कन हुनुपर्ने थियो । विभिन्न पेसा, व्यवसायमा आबद्ध केही पत्रकार जो आफूलाई युनियन वा महासङ्घको निर्वाचनमा युनियन पक्षीय उम्मेदवार खोज्ने लमी ठान्दछन् उनीहरूकै कारण युनियनमा संस्थापना र इतर संस्थापनाको कृत्रिम विभाजन गर्ने प्रयास भएको छ । पत्रकार र पत्रकारितामा के संस्थापना के इतर संस्थापना ? लमीद्वारा घेराबन्दीमा परेको पार्ट र पार्टपार्टमा विभाजित नेतृत्वले प्रेस युनियनको अध्यक्ष कसलाई बनाउने भनेर जुन प्रयास ग-यो त्यो प्रयास ओभर पोस्टिसाइज्ड भयो । आधारबिना, आमसल्लाह र सहमतिबिना उम्मेदवार तोक्ने अनि त्यसको प्रतिकार ग-यो भने ‘उताको मान्छे’ बनाइदिने कर्मकाण्डी नामाकरणले युनियनलाई यो अवस्थामा पु-याएको हो ।
अर्कोतिर उम्मेदवार चयन गर्ने जिम्मेवारी पाएकामाथि स्वविवेकले निर्णय गर्न नदिने केही व्यक्तिले ‘आफ्ना मान्छे’को लिस्ट लिएर दबाब गर्ने प्रवृत्तिले पनि त्यो जिम्मेवारी पाएकालाई निष्पक्ष हुन दिएनन् । प्रेस युनियनको सन्दर्भमा केही यस्ता व्यक्ति छन् उनीहरूको सिफासिरमा पर्नु संस्थापनापक्षीय हुनु हो र उनीहरूको सिफासिरमा नपर्नु गैरसंस्थापनापक्षीय हुनु हो । यिनै केही व्यक्ति जो पत्रकारितालाई आधार बनाएर आफ्ना आग्रह युनियनमा लागू गर्न खोज्छन् उनीहरू वर्तमान नयाँ पुस्ता, हस्तक्षेपको विरोध गर्ने जोसिला मतदाताको चहना बुझ्नै सक्दैनन् । वास्तविक धरातलमा उनीहरूको जानकारी नै हँुदैन । भूपि शेरचनले कवितामा भनेजस्तै श्रवण शक्ति नभएका व्यक्ति नै सङ्गीत प्रतियोगिताको जज भएजस्तै ।
निर्वाध रूपमा अधिवेशन सकिएको छ । निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन भएको छ । ०४८ मा स्थापित प्रेस युनियनले यो अधिवेशनबाट थप इतिहास रचेको छ । धेरै मतदातालाई फेरि पनि पार्टी नेतृत्वले युनियनको अध्यक्ष छानिदिने हो कि भन्ने संशय थियो पोखरा पुग्दासम्म पनि । पार्टी नेतृत्वले प्रजातान्त्रिक अभ्यासमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने वातावरण मिलाइदियो । चुनावी प्रचारमा आफँैले आफैँलाई ‘संस्थापनाको, लिस्टमा परेको, दाइहरूले भन्नुभएको’जस्ता रणनीतिलाई त्यति अस्वाभाविक भन्न मिल्दैन । कुरो यति हो कि पार्टीले यस्ता भ्रातृ र शुभेच्छुक संस्थाका नेतृत्व चयनमा हात हाल्नै हुँदैन । यदि राम्रो नेतृत्व आओस् भन्ने कामना गर्ने हो भने भरपर्दो संयन्त्रबाट सूचना÷जानकारी लिएर निर्णय लिनुपर्दथ्यो । युनियनको सन्दर्भमा पूर्वअध्यक्षहरू अथवा पूर्वपदाधिकारी, अझ सकिन्छ भने पूर्व सबै सदस्यलगायतबाट मत सङ्कलन गरेर निर्णयमा पुगेका भए संस्थापना र गैरसंस्थापनाको विभाजन कोरिने थिएन । नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले आफ्ना कार्यकर्तालाई संस्थापना र गैरसंस्थापनापक्षीय भन्न सक्दैन । पार्टीका लागि सबै पत्रकार संस्थापनावादी नै हुन् । पार्टीभित्रका केही प्रवृत्ति छन् जो विभिन्न बहानामा पत्रकारहरूलाई यो वा त्यो कित्तामा विभाजन गर्न चाहन्छन् । त्यो पनि आफ्ना स्वार्थका लगि ।
यसपटक युनियनले जितेको छ । पुनः ट्रयाकमा आएको छ युनियन । यसका लागि पार्टी नेतृत्वले देखाएको सहिष्णुता र विशालताको प्रशंसा भएकै छ । पार्टी नेतृत्वले कसैलाई संस्थापना र गैरसंस्थापनापक्षीय भनेको छैन, तर आफ्ना स्वार्थका लागि केही व्यक्तिले पार्टीलाई अगाडि राखेर (ढाल) बनाएर कृत्रिम रूपमा संस्थापना र गैरसंस्थापनापक्षीय बनाएकै हुन् । पार्टी र पार्टी नेतृत्वको विशालतालाई मनन गरेर निर्वाचित नेतृत्वले पनि आफूलाई सहिष्णु र फराकिलो पार्नुपर्दछ । संस्थापना र गैरसंस्थापनापक्षीय भन्ने जुन परम्परागत सङ्ग्रहिणी रोगको आरोप छ यसलाई पखाल्ने मुख्य जिम्मेवारी वर्तमान निर्वाचित नेतृत्वको खासगरी अध्यक्ष बद्री सिग्देलको छ । संस्थापना र गैरसंस्थापनापक्षीय आरोप लगाउनेहरूलाई झुटा सावित गर्न पनि युनियनका साथीहरूले विशेष ध्यान दिनुपर्छ ।
युनियनमा धेरै खेल्न रुचाउनेहरूले अबका दिनमा आफूलार्ई सच्याउनुपर्छ । पुस्तान्तर, चिन्तन, शैली र व्यवहारका कारण आफूहरूमाथि नयाँ युवा मतदाताहरूको दबाब पर्दै छ भन्ने बुझ्नुपर्छ । सधँै जनैको साँचो देखाएर सन्दुसको लोभमा नयाँ पुस्तालाई लोभ्याउन सकिन्छ भन्ने पुरातन चिन्तनमा परिमार्जन नगर्ने केही पात्र र ती पात्रबाट माथि उठ्न नसक्ने पार्टी प्रवृत्तिमा परिवर्तन नहुँदासम्म प्रेस युनियनमा केही अप्ठेरा रहन्छन्, तर यस्ता पात्र र प्रवृत्तिको व्यवहारलाई नै पार्टीको व्यवहार सम्झेर कसैले आफूलाई संस्थापन र गैरसंस्थापनपक्षीय ठान्यो भने त्यो उसैको कमजोरी हुनेछ । काङ्ग्रेसका लागि युनियन आबद्ध सबै पत्रकार संस्थापनापक्षीय हुन् । पार्टीले त्यही ठानेको छ । पार्टी सभापति सुशील कोइरालाले निष्पक्ष निर्वाचन गरी युनियनको नेतृत्व चयनका लागि निर्देशन दिनुभएको हो । उहाँको नाम लिएर कसैले कसैलाई संस्थापना र गैरसंस्थापनापक्षीय भन्छ भने त्यस्तो आरोपको सामना गर्ने आँट युनियनको वर्तमान नेतृत्वले गर्नुपर्छ । व्यक्तिका व्यवहार हेरेर पार्टी नेतृत्वप्रति असन्तुष्टि र अविश्वास राख्ने काम गर्नुहुँदैन । त्यसो भयो भने संस्थापना र गैरसंस्थापनापक्षीयको बिल्ला भिराउनेहरू सत्य र युनियनमा संस्थापना र गैरसंस्थापनापक्षीय हुँदैन भन्नेहरू असत्य हुनेछन् । यस्ता परिस्थिति नआओस् भन्नाका लागि सिग्देलको नेतृत्व बढी जिम्मेवार हुनुपर्छ ।
प्रतिक्रिया