सानातिना कुरामा अल्झिएको नदेखाएर आफूलाई ‘विशेष’ दर्शाउन खोज्ने अर्थमन्त्री डा. युवराज खतिवडाले ‘ज्वाइँ’को व्यापक दुरुपयोग गर्ने गरेको चर्चा अर्थ मन्त्रालय र मातहतका निकायहरूमा हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकका कनिष्ट कर्मचारी रहेका ज्वाइँ रामशरण खरेललाई गभर्नर रहँदा आईएमएफमा पोस्टिङ दिने खतिवडाले आफू अर्थमन्त्री भएलगत्तै सल्लाहकार बनाएका थिए । अहिले वरिष्ठहरूलाई पन्छाएर खरेललाई नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीमा बढुवा गरिएको छ । मन्त्री खतिवडाले आफू ‘एक्स्पोज’ हुन नचाहेका कामहरू ज्वाइँ खरेलमार्फत गराउने गरेका छन् । खरेलले अचेल सबै सरकारी बैंक (रावा बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायत) का कार्यकारी प्रमुखहरूलाई बिनाधितो ऋण उपलब्ध गराएर त्यसको व्यापक प्रचार गर्न ताकेता गरिरहेका छन् ।
शैक्षिक योग्यताको प्रमाणपत्र राखेर विभिन्न व्यक्तिलाई तत्काल ऋण उपलब्ध गराउने र त्यसरी ऋण उपलब्ध गराएको समाचार व्यापक रूपमा प्रचार गराउने भनी खरेलले अर्थमन्त्रीको हवाला दिँदै बारम्बार ताकेता गर्न थालेपछि सरकारी बैंकका प्रमुखहरू धेरै ठूलो दबाबमा परेका छन् । चर्को दबाबमा परेपछि कृषि विकास बैंकका कार्यकारी प्रमुख आफ्नो कार्यकाल एक महिना बाँकी रहँदै बिदामा बसेका छन् । कार्यकाल बाँकी भए पनि उक्त बैंकमा सीईओ नियुक्तिका निम्ति अर्थमन्त्रीले आवेदन आह्वान गरिदिएका छन् । माधवकुमार नेपालका भाइ अनिल उपाध्यायलाई सीईओ बनाएर ‘काम लिने’ योजनामा खतिवडा र उनका ज्वाइँ रहेको बताइन्छ ।
सरकारी स्वामित्वका भए पनि नियमले कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतले स्वायत्त संस्थाका हैसियतले काम गर्ने गर्दथे र, स्वायत्त भएकै कारण ती संस्थाहरूको पछिल्लो समयमा उल्लेखनीय सुधार भएको पनि हो । ज्वाइँमार्फत बैंकहरूमा हस्तक्षेप हुन थालेपछि अहिले अर्थ मन्त्रालयको अनुमति लिएर मात्र निर्णय लिन सक्ने अवस्थामा बैंकहरू पुगेका छन् । मन्त्रालयको हस्तक्षेपसँगै बैंकहरूमा नकारात्मक सङ्केतहरू देखापर्न थालिसकेको छ ।
प्रतिक्रिया