प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको जन्मशताब्दी नेपाली काङ्ग्रेसले वर्षभरि (२४ भदौ २०७० देखि २४ भदौ २०७१ सम्म) विभिन्न कार्यक्रम आयोजना गरी देशभरि मनाएको छ । गत वर्ष २४ भदौ २०७० का दिन बीपी जन्मशताब्दी बीपी सङ्ग्रहालय सुन्दरीजलमा एक कार्यक्रम आयोजना गरी मनाएर प्रारम्भ गरिएको थियो । यसैगरी पचहत्तरै जिल्लामा बीपी ट्रस्ट, भ्रातृ संस्था, शुभेच्छुक संस्था एवम् नोली जनसम्पर्क समितिले पनि विभिन्न देशमा यस्ता कार्यक्रम गरी बीपी जन्मशताब्दी मनाएका थिए । बीपी जन्मशताब्दीको उपलक्ष्यमा नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले वर्षभरि नै देशभर विभिन्न कार्यक्रमको आयोजना बडो सक्रियताका साथ ग-यो । यसमध्ये देशका चौधै अञ्चलमा गरेको प्रशिक्षण कार्यक्रम नेता–कार्यकर्ताका लागि निकै उत्साहपूर्ण थियो । पचहत्तरै जिल्लाका कार्यकर्ता परिचालित भए र नेता–कार्यकर्ताबीच विचार आदानप्रदान गर्ने एवम् बीपीको आदर्श– राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे जान्ने–बुझ्ने सुअवसर मिल्यो । लामो समयपछि यस्तो जीवन्त कार्यक्रमहरू आयोजना गरिएको थियो । सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति, पूर्वसभामुख एवम् केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेल, महामन्त्री एवम् पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलासहित अन्य नेता एवम् मन्त्रीहरू कार्यक्रममा सक्रियताका साथ सहभागी भएका थिए ।
बीपी जन्मशताब्दीको प्रारम्भमा २४ भदौ ०७० का दिन बीपी सङ्ग्रहालय सुन्दरीजलले ०१८ सालमा जनकपुरमा तत्कालीन राजा महेन्द्रलाई बम प्रहार गर्ने जिउँदो सहिद अरविन्द ठाकुर (अब स्वर्गीय)लाई सगौरव सम्मान गरेको थियो । बीपी जन्मशताब्दीको समापन गर्ने शौभाग्य पनि २४ भदौ ०७१ मा बीपी सङ्ग्रहालय सुन्दरीजलले नै पायो र यस अवसरमा नेपाली काङ्ग्रेसका एक मात्र जीवित संस्थापक, गान्धीवादी नेता एवम् पूर्वमन्त्री रामहरि जोशीलाई सम्मान गर्ने अर्को सुअवसर पायो ।
बीपी जन्मशताब्दीको उत्तराद्र्धमा १ भदौ ०७१ देखि नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले वि.सं. २००३ चैत १२ गतेका दिन बीपी, गिरिजाबाबु, तारिणीबाबु, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीसहितका नेतालाई तत्कालीन एकतन्त्रीय राणाशाही सरकारले गिरफ्तार गरी विराटनगरबाट हिँडाएर काठमाडौं ल्याएको बाटो (आदर्श विद्यालय विराटनगर, भुटाहा सुनसरी, धरान, भेडेटार, धनकुटा बजार, हिले, लेगुवा, प्याउली, तेवारी भञ्ज्याङ, भोजपुर बजार, दाँवा, छिनामखु, अन्नपूर्ण, चखेवा खोटाङ, निर्मली डाँडा, दोप्टी, चिउरी डाँडा, दिक्तेल, नन्थला, बिजुली भञ्ज्याङ, लामीडाँडा, रबुवा, भदौरे, नारायणस्थान, ओखलढुङ्गा बजार, कुन्तादेवी, कटुञ्जे, घलेपाटी, फेदीगुट, फुलबारी, घोराखोरी, रानीबन, सिंहदेवी, साँघुटार, बाँकीमैरी, देउराली, सालु, रामेछाप बजार, भँगेरी, सेलेघाट, खुर्कोट, चैनपुर, शित्खा, झाँगाझोली रातमाटा, दुम्जा, मङ्गलटार, भकुण्डेबेसी, धुलिखेल, श्रीखण्डपुर, बनेपा–जनागाल, भक्तपुर) हुँदै बीपी विचारयात्रा २३ गते विशालनगर काठमाडौं र २४ गते बीपी सङ्ग्रहालय सुन्दरीजलमा बीपी जन्मशताब्दीको समापन कार्यक्रम गरिएको छ । बीपी जन्मशताब्दीमा गरिएका विभिन्न कार्यक्रमहरूले काङ्ग्रेस कार्यकर्तामा जागरुकता आएको छ र सक्रियता थपिएको छ भने आमजनतामा पनि जागरण आएको छ । यसरी वर्षभरि नै देशभर जनताले बीपीको स्मरण गरिरहे ।
बीपीको जन्मशताब्दीमा मात्रै होइन, निरन्तर रूपमा बीपीका आदर्श एवम् विचार जनतामा यसैगरी प्रवाहित गरिरह्यौँ भने नेपाली काङ्ग्रेसलाई त जीवन्त राख्ने नै छ साथै राष्ट्रलाई पनि बीपीका विचारले अनुप्रेरित गरिरहनेछ । राजनीतिमा होस् कि साहित्यमा बीपीको स्थान अग्रगण्य छ । बीपीका विचार सामयिक मात्र नभएर सर्वकालिक छन्– त्यसैले सदैव समाजलाई अभिप्रेरित गरिरहनेछन् । बीपीको जन्मशताब्दीको यस अवसरमा बीपीलाई स्मरण गर्दा उहाँका केही विचारप्रति मनन् एवम् उल्लेख गर्नु अझ सान्दर्भिक हुनेछ ।
वि.सं. २००३ मा नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन गरी बीपी एक शताब्दीदेखिको जहानियाँ राणाशासनबाट जनतालाई उन्मुक्ति दिलाउन अहोरात्र कसिएर लाग्नुभयो । यसै सिलसिलामा वि.सं. २००५ मा गठन भएको नेपाल प्रजातान्त्रिक काङ्ग्रेसलाई पनि एकीकरण गरी (नेपाली राष्ट्रिय काङ्ग्रेस–बीपी नेतृत्वको र नेपाल प्रजातान्त्रिक काङ्ग्रेस–सुवर्ण नेतृत्वको) वि.सं. २००६ चैतमा ‘नेपाली काङ्ग्रेस’ गठन गरी झन् सक्रियताका साथ लाग्नुभयो । परिणामस्वरूप वि.सं. २००७ को जनक्रान्तिले फागुन ७ गते १०४ वर्षीय जहानियाँ राणाशासन सदाका लागि अन्त्य गरी प्रजातन्त्रको स्थापना ग-यो ।
प्रजातन्त्र आए पनि अधिकारका लागि तत्कालीन राजाहरूसँग पुनः सङ्घर्ष गर्नुप-यो । वि.सं. २०१४ को सत्याग्रह आन्दोलनपछि ०१५ मा भएको आमनिर्वाचनमा बीपीको नेतृत्वमा नेपाली काङ्ग्रेसले दुईतिहाइ (१०९ मध्ये ७४ सिट विजयी) बहुमत प्राप्त ग-यो । तत्कालीन राजा महेन्द्र र दरबारको अनिच्छाका बाबजुद ०१६ मा बीपी प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री बीपीले राष्ट्रिय योजना आयोगको पहिलो बैठकमा निर्देशन दिँदै भन्नुभयो– दिवालमा राजाको फोटोसँगै गरिब झोपडी भएको किसानको फोटो पनि टाँग्नोस् र योजना बनाउँदा त्यो गरिबको अनुहार हेरी उसलाई फाइदा पुग्नेगरी बनाउनोस् । त्यो समयको कल्पना गर्दा– यातायातको कुनै आधार नभएको, हिँडेरै यात्रा गर्नुपर्ने, सञ्चारका साधन नभएको, केही ठूलाबडाका घरसम्म मात्र रेडियो सीमित भएको, पत्राचार नै एक ठाउँबाट अर्को ठाउँ पुग्न महिनौँ लाग्ने, सीमित विद्यालय भएको आदि अत्यन्त अविकसित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीले विगतका राणाकाल र शाहीकालमा पाएको जेलनेल र यातनाको पर्वाह नगरी राजासँग गरिबको फोटो टाँग्ने र त्यो गरिबलाई हेरी विकास योजना बनाउन निर्देशन दिनु कम साहस एवम् जोखिमपूर्ण कुरा थिएन । तर, बीपीमा एउटा अठोट थियो– किसान, मजदुर र गरिब–निमुखा जनताका पक्षमा दृढता एवम् मिहिनेतका साथ काम गर्ने । त्यसैले बीपीले तत्कालीन राजा महेन्द्रसँग भन्नुभएको थियो, ‘१५ वर्षमा सबै नेपाली मजस्तै मध्यमस्तरको होस्, जसको घरमा एक हल गोरु होस्, खान पुग्ने जग्गा होस्, दुध दिने गाई होस्, औषधिमूलो गर्न सकोस् र केटाकेटी पढाउन सकोस् ।’ यसरी बीपी विचार र व्यवहारले पनि जनहितमा काम गर्ने सच्चा समाजवादी नेता एवम् चिन्तक हुनुहुन्थ्यो ।
प्रधानमन्त्री बीपीले जनहित एवम् राष्ट्रको उन्नतिका लागि धेरै लामो समय काम गर्ने अवसर पाउनुभएन । १ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले १८ महिनामै ‘कु’ गरी प्रधानमन्त्री बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, जमानसिङ गुरुङ, योगेन्द्रमान शेरचन, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, प्रेमराज आङदम्बेसहित नेता, सभामुख एवम् मन्त्रीहरूलाई गिरफ्तार गरी लामो समय (आठ वर्ष) सेनाको ब्यारेक सुन्दरीजलमा बन्दी बनाएर राखे । ०२५ मा सुन्दरीजलको बन्दीजीवनबाट रिहा भएपछि देश भ्रमणमा निस्किँदा स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अनुकूल परिस्थिति नभएपछि बीपी भारत प्रवासमा जानुभयो । भारतमा सात वर्षको प्रवासजीवनकै बेला बीपीले दक्षिण एसियामा विकसित भइरहेको राजनीतिक परिस्थिति सिक्किमको भारतमा विलय, पाकिस्तानको विभाजन एवम् बंगलादेशको उदय, अफगानिस्तानको घटना, इरानका शहंशाहविरुद्धको जनमत एवम् आन्दोलन आदि घटनाको विश्लेषण गरी यस्तो विषम अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाललाई बचाउनुपर्छ भनेर १६ पुस ०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किनुभयो । यता नेपालमा पञ्चायतकालीन गाउँफर्कको नाममा कडा तानाशाही शासन थियो । बीपीमाथि सातवटा देशद्रोहका मुद्दा सर्वोच्च अदालतमा थिए । एउटा मुद्दा हार्दा पनि मृत्युदण्डको सजाय हुन्थ्यो । पञ्चहरूले देशभर बीपीलाई फाँसी दिनुपर्छ भन्ने माग उग्र रूपमा उठाइरहेका थिए भने ७३ जिल्ला पञ्चायतले बीपीलाई फाँसी दिनुपर्छ भन्ने प्रस्ताव नै पारित गरेका थिए । यस्तो विषम परिस्थितिमा पनि बीपी राष्ट्र बचाउनुपर्छ भनी आफ्नो जीवनको पर्वाह नगरी स्वदेश फर्कनुभयो । बीपी, गणेशमान सिंह, शैलजा आचार्यसहितका नेता त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिनुभयो र सुन्दरीजलमा पुनः बन्दीजीवन बिताउन बाध्य पारिनुभयो । बीपीको राष्ट्रिय भावनाले ओतप्रोत भई राष्ट्रलाई नै समर्पित हुने यो ठूलो प्रेरणादायी कदम थियो । बीपी नाराले होइन आस्था एवम् हृदय (मन, वचन, कर्म)ले नै राष्ट्रवादी हुनुहुन्थ्यो । उहाँ नारामा होइन यथार्थ एवम् आदर्शले नै महान् राष्ट्रवादी, प्रजातन्त्रवादी एवम् समाजवादी नेता हुनुहुन्थ्यो ।
बीपीको बहुआयामिक व्यक्तित्व थियो । उहाँले राष्ट्रलाई मात्र होइन अन्तर्राष्ट्रियस्तरमा पनि अनेक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनुभएको थियो । भारतको स्वतन्त्रता सङ्ग्राममा बीपीले सक्रियतासाथ सहभागिता जनाउनुभयो र आन्दोलनको क्रममा पटक–पटक गरी झन्डै चार वर्ष भारतमा जेलजीवन बिताउनुभयो । यसै क्रममा बीपीको महामा गान्धी, डा. राजेन्द्रप्रसाद, पं जवाहरलाल नेहरू, जयप्रकाश नारायण, राममनोहर लोहिया, आचार्य नरेन्द्रदेवसहित अनेक नेताहरूसँग अत्यन्त घनिष्ट एवम् सौहर्दपूर्ण सम्बन्ध स्थापित भयो । यसैगरी अन्तर्राष्ट्रिय समाजवादी नेताहरू विलिब्रान्टसहित युरोप–अमेरिका आदि देशका थुप्रै नेता पनि बीपीका आत्मीय एवम् घनिष्ट मित्रहरू थिए । समग्रमा अन्तर्राष्ट्रियस्तरमा पनि बीपीको व्यक्तित्व एवम् नेतृत्व सराहनीय थियो । यस्तै, साहित्यिक क्षेत्रमा पनि बीपीको अग्रगण्य स्थान छ । दोषी चस्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदी आइन्, हिटलर र यहुदी, बाबुआमा र छोरा, श्वेतभैरवी, आत्मवृत्तान्त, जेलजर्नल फेरि सुन्दरीजल आदि अत्यन्त उच्चस्तरका कथासङ्ग्रह, उपन्यास र आत्मवृत्तान्त हुन् । बीपी उच्चकोटिको सम्मानित साहित्यकार पनि हुनुहुन्थ्यो ।
‘बाबु, तिमी ठूलो मान्छे होइन असल मान्छे हुनू’ भन्ने सन्दर्भ स्वयम्ले ‘मोदी आइन्’मा उल्लेख गर्नुभएअनुरूप बीपी अत्यन्त सरल, भद्र, विनम्र, असल तर स्वाभिमानी, आदर्शवादी, सिद्धान्तनिष्ठ एवम् राष्ट्रवादी, प्रजातन्त्रवादी तथा समाजवादी नेता हुनुहुन्थ्यो र जीवनभर नै यिनै आदर्शका लागि सङ्घर्षरत रहनुभयो । आजको ‘मै लाऊँ मै खाऊँ, सुखसयल वा मोज म गरूँ’ भन्ने राजनीतिक माहोल भएको समयमा बीपीको आदर्शको मार्गमा एक पाइला पनि चल्न सक्थ्यौँ भने त्यो राष्ट्रहितमा र लोकतन्त्रको हितमा हुनेछ र बीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । बीपीमा सत्–सत् श्रद्धञ्जली ।
(लेखक संविधानसभाका सभासद् एवम् बीपी सङ्ग्रहालयका महासचिव हुनुहुन्छ ।)
प्रतिक्रिया