दुई छुट्टाछुट्टै सडक दुर्घटनामा तीनको मृत्यु

दुई छुट्टाछुट्टै सडक दुर्घटनामा तीनको मृत्यु


सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे.१च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं. १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उनका अनुसार आज बिहान ८ बजे धामीगाउँनजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थिए ।

यसैगरी नम्बर नखुलेको सवारीको ठक्करबाट आज बिहान काठमाडौंको टेकुमा एकजनाको मृत्यु भएको छ ।

टेकु पुलस्थित कनक पेट्रोल पम्पअगाडि नम्बर नखुलेको सवारीसाधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको कालिमाटी प्रहरी वृत्तले जनाएको छ । दुर्घटनापछि सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।