काठमाडौंमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

काठमाडौंमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै


‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुने भएको छ ।

यही कात्तिक ११ र १२ गते आयोजना हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुने कार्यतालिका छ । यस्तै, दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् ।

साथै, विगतमा असन्तुष्ट समूहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै वार्षिक साधारणसभालाई एकताको सभा बनाइने विषयमा छलफल भइरहेको एनआरएनए (केसी समूह)का अध्यक्ष डा. बद्री केसीले बताउनुभयो ।

एनआरएनए केसी समूहका उपाध्याक्ष रामशरण सिंखडाले पनि एनआरएनएमा देखिएका कमीकमजोरीलाई सच्याउँदै सबैलाई एकतामा ल्याउने प्रयास गरिने बताउनुभएको छ । अर्का उपाध्यक्ष डा. हेमराज शर्माले सम्मेलनले एनआरएनका लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन दिने बताउनुभएको छ । सोही पक्षका उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनका कारण महिला तथा बालबालिकामा परेको असरका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभएको छ ।

परिषद्का महासचिव गौरीराज जोशीले एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड)को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीज्यूलगायत सरोकारवालासँग छलफल हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार कात्तिक १२ गते गैरआवासीय नेपाली सङ्घको विधानअनुसार नियमित वार्षिक साधारणसभा आयोजना गरिने छ । सङ्घका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने उहाँले बताउनुभयो ।

साधारणसभामा सहभागी हुन गैरआवासीय नेपाली सङ्घका अधिकांश पदाधिकारीहरू तथा साधारणसभा प्रतिनिधिहरू काठमाडौं आइसक्नुभएको छ ।

  • रासस