कलेजतर्फ पुरुष सिंगलमा स्यान्टु च्याम्पियन

कलेजतर्फ पुरुष सिंगलमा स्यान्टु च्याम्पियन


सफ्टावारिकाका स्यान्टु श्रेष्ठ १०औँ पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा च्याम्पियन बनेका छन् ।

स्यान्टुले फाइनलमा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपालीलाई ११–८, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरेका हुन् । सोही स्पर्धाको महिलामा सीसीआरसीकी दीक्षा तामाङले लिभरपुलकी सिक्का सुवाललाई ११–९, ४–११, ११–६ र ११–९ को सेटमा पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।

कलेजतर्फ टिम इभेन्टको पुरुषमा टाइम्स र महिलामा सीसीआरसी पहिलो भए । विजेता दुवैले फाइनलमा लिभरपुललाई समान ३–२ को नतिजामा पाखा लगाएका थिए । स्कुलतर्फ यू–१० ब्वाइज सिंगल्समा सिद्धार्थ वनस्थलीका उज्ज्वल मानन्धर तथा छात्रामा युलेन्सकी सुभश्री श्रेष्ठ पहिलो बने । फाइनलमा उज्ज्वलले ब्लुबर्डका रितेश खड्कालाई ११–८, ११–६ र ११–५ तथा सुभश्रीले नेसनल चिल्ड्रेनकी अनामिका कस्तीलाई ११–१३, ११–५, ११–५ र ११–४ ले निराश पारे ।

पाराको बहिरातर्फ पुरुष सिंगल्स फाइनलमा दिनेश महर्जनले मनोज बस्नेतलाई ११–९, ११–८, ९–११, ७–११ र १६–१४ ले पन्छाउँदै पहिलो भएका थिए ।