अल्ट्रादौडमा नेपाली खेलाडीद्वारा उत्कृष्ट प्रदर्शन

अल्ट्रादौडमा नेपाली खेलाडीद्वारा उत्कृष्ट प्रदर्शन


१६ नोभेम्बर २०१८ मा हङकङमा सम्पन्न भएको ओक्सफाम ट्राइल वाकर रेसमा सहभागिता जनाई पदक जित्न सफल नेपाली खेलाडी मंसिर ११ गते मंगलबार स्वदेश फर्किएका छन् । उक्त प्रतियोगितामा सय किलोमिटर अल्ट्रा दौडतर्फ नेपाली महिला टिमले दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेको थियो । नेपाली महिला टिमले उक्त दूरी १६ घन्टा ३० मिनेटमा पार गरेको थियो ।

गत वर्ष महिला टिमतर्फ च्याम्पियन बनेको चिनियाँ टिम सय किलोमिटरको निर्धारित दूरी १८ घन्टा १३ मिनेटमा पार गर्दै प्रथम भएको थियो । नेपाली महिला टिमले गत वर्ष चिनियाँ टोली राखेको समयभन्दा १ घन्टा ४७ मिनेटअघि दौड पूरा गरे पनि दोस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो । सय किलोमिटरको दौड चारजना खेलाडीले मिलेर पूरा गर्नुपर्छ । यो खेलमा प्रत्येक देशबाट चारजना खेलाडीको टिम रहेको हुन्छ ।

यो सय किलोमिटरको प्रतिस्पर्धामा नेपालको तर्फबाट सुनमाया बुढा, रसिला तामाङ, छेती शेर्पा (राई) र छोकी शेर्पाले प्रतिस्पर्धा गरेका थिए । चारजनाले २५ किलोमिटरको दौड पूरा गर्नुपर्ने भएकाले यो दौड पूरा गर्न निकै कठिन हुन्छ । यसका लागि लामो प्रशिक्षण र शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा तयार हुनुपर्छ । दरिलो आत्मविश्वास भएका खेलाडी यस्तो प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने बालाजु कराते डो प्रतिष्ठान नेपालका अध्यक्ष ध्रुवबहादुर मल्लले बताए । प्रतियोगितामा सहभागी हुन खेलाडीले १ वर्षदेखि तयार गरेको मल्लले बताए ।

त्यस्तै ५० किलोमिटर प्रतियोगितामा प्युठानकी हुमी बुढा मगरले ७ घन्टा ८ मिनेटमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरेकी थिइन् । दोस्रो स्थान हासिल गरेकी हङकङकी खेलाडीले ७ घन्टा ११ मिनेटमा उक्त दूरी पार गरेर रजत पदक जितेकी थिइन् । त्यस्तै जापानकी खेलाडीले ७ घन्टा ५५ मिनेटमा दौड पूरा गरी कांस्य पदक जितेकी थिइन् ।

प्रसिद्ध अल्ट्रा धाविका मीरा राईको नेतृत्वमा ‘मीरा राई इनिसियटिभ’ र एक्सचेन्ज एन्ड इमपावरको सहयोगमा नेपाली खेलाडीले यो प्रतियोगितामा सहभागिता जनाएका थिए ।