पहिलोपटक लिम्बू भाषा सरकारी कामकाजमा ल्याउने तयारी

पहिलोपटक लिम्बू भाषा सरकारी कामकाजमा ल्याउने तयारी


नेपालमै पहिलोपटक इलामको माङसेबुङ गाउँपालिकाको लारुम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारुम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिए ।

वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताए । कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं. २ का प्रदेश सांसद धीरेन्द्र शर्मा (रमण) ले भोलि गर्ने वडा कार्यालयले जनाएको छ ।

वडामा दोभासे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजंघा लिपि’को आधार क्षेत्र भएकाले माङसेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताए ।

गत १५ कात्तिकमा वडामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघसंस्थाको संयुक्त बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । ‘मैले एक्लैले यस्तो निर्णय गरेको होइन, स्थानीयवासी, बुद्धिजीवी तथा राजनीतिक दलको सहयोगमा निर्णय भएको हो,’ उनले भने, ‘यो निर्णयले लिम्बू समुदायका नागरिकलाई ठूलो टेवा पुग्नेछ ।’ यहाँ ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । स्थानीय भाषा कामकाजी भाषाका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभासे कर्मचारी नियुक्त गर्न माग गरिने वडाध्यक्ष राईले बताए । तत्काल लिम्बू भाषा जान्ने स्थानीय पाँच स्वयंसेवकबाट सहयोग लिइने उनको भनाइ छ । त्यसका लागि स्वयंसेवक समितिसमेत गठन गरिएको छ ।

समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केसेहाङ्मा थेगिमले काम गर्नेछन् ।

संविधानले स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले बताए । यसअघि गाउँपालिकाले पालिकाभरिका सरकारी कार्यालयको साइनबोर्ड देवनागरी र किराँत सिरिजंगा लिपिमा राख्ने निर्णय गरिसकेको छ ।