बन्दीपुरमा नक्सापासमा ५० प्रतिशत छुट पाउन यस्ता छन् सर्त

बन्दीपुरमा नक्सापासमा ५० प्रतिशत छुट पाउन यस्ता छन् सर्त


तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको पाँच मिटर क्षेत्रभित्र बन्ने घरको नक्सापासका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाले बन्दीपुर चक्रपथभित्र र चक्रपथबाहिर पाँच मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड ०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

बन्दीपुर बजारमा भएका पुराना घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले यस क्षेत्रभित्र घर बनाउँदा आधुनिक र पश्चिमेली शैली झल्काउन नपाइने निर्णय लागू गरिएको उनले बताए ।

बजार क्षेत्रभित्र बनिसकेका घरको अगाडिको भाग प्राचीन शैलीमा निर्माण गर्न अनुरोध गरिने थापाले बताए । बजार क्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकारका काठका झ्याल, ढोका पसलको कबलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभिर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गाह्रोमा प्लास्टर नगरी प्रस्टसँग इँटा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा स्लोप छाना हुनुपर्नेलगायतका नियम बनाइएको छ ।

कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा, स्मारक वा स्मारकको कम्पाउण्डको वरिपरिका पहिलो पंक्तिका घर स्मारकभन्दा होचो हुने गरी निर्माण गर्नुपर्नेछ ।

बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यको रूपमा परिचित भइसकेको छ । यहाँ वर्षेनी लाखौँ पर्यटक घुम्न आउने गर्दछन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृंखला देखिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।