एउटा सुनसान ठाउँको सानो घर जहाँ सदियौँदेखि अखण्ड बत्ती बलिरहेको छ । वरिपरि घना जङ्गल र अलिकति माथि पर्दाले ढोका ढाकिएको सानो घर, नजिकै धर्मशालाको रूपमा रहेको ठूलो घर, तलपट्टि अविरल बगिरहेको खोला, वरिपरि मानवबस्ती छैन, मानिस पनि छैनन्, बत्ती बलिरहेको सानो घरको ढोका खुला छ । दक्षिणपट्टिबाट जोडले हावा चल्दा बत्ती झ्याप्पै निभ्नुपर्ने हो, तर जति ठूलो हावा हुरी चले पनि बत्ती निभ्दैन । दैलेखको प्रसिद्ध स्थल शिरस्थानमा अवस्थित ‘ज्वाला घर’को दृश्य हो यो । विश्वका धेरै मन्दिरमा अनेक बत्तीहरू जलाइए र निभेर गए, तर ज्वाला घरमा सदियौँदेखि आश्चर्यजनक रूपमा अखण्ड बत्ती बलिरहेकै छ । दियोमा बालेको बत्तीलाई लामो समयसम्म राख्नुपर्दा तेल थपिरहनुपर्छ, तर त्यहाँ न त दियो छ न तेल, न त बत्तीको सलेदो नै । पृथ्वीबाट आगोको ज्वाला बाहिर आएको छ जुन सधैँ एकनास छ । शिरस्थानमा मात्र होइन त्यहाँ नजिकको खोलापारि र नाभीस्थानमा पनि ठाउँठाउँमा आगो बलेको देखिन्छ । पानीमा आगो बलेको दृश्य हेर्न पनि दैलेख एकपल्ट पुग्नैपर्ने हुन्छ । दैलेख ज्वालाबारे दुईथरी मान्यता छन्, एक– धार्मिक र अर्को प्राकृतिक । शिवजीले सतीदेवीको लास बोकेर हिँड्दै गर्दा उनको शिर खसेको स्थान भएकाले शिर स्थान भनिएको र शिर खस्नासाथ त्यहाँ ज्वाला उत्पन्न भएको पौराणिक भनाइ छ । श्री स्वस्थानी कथामा शिवजीले सतीदेवीको लास बोकेर हिँडेको र ठाउँठाउँमा उनका अङ्गहरू पतन भएको उल्लेख छ । ज्वाला मन्दिरसँगै बगिरहेको नदीको दोभानलाई घाटका रूपमा प्रयोग गर्ने गरिएको छ । दैलेख सदरमुकाम तथा वरपरका मानिसको मृत्युपछि सोही घाटमा दाहसंस्कार गरिन्छ । दाहसंस्कारका क्रममा चितामा आगो लाउन ज्वालाबाट आगो सल्काई दागबत्ती दिने गरिएको छ । स्थानीयवासीका अनुसार उक्त घाट प्रयोग गर्ने इतिहास बोकेका दैलेखीहरू युरोप, अमेरिका जहाँ पुगे पनि आफ्नो मृत्युपछि दाहसंस्कारचाहिँ शिरस्थानमा भए हुन्थ्यो भन्ने चाहना राख्छन रे ।
पृथ्वीबाट उत्पन्न आगोको ज्वालालाई प्राकृतिक ग्यास मान्नेहरूले यसलाई ग्यासको खानीका रूपमा लिने गरेका छन् । तर कस्तो ग्यास ? यदि ग्यास नै हो भने त्यसलाई हामीले मुलुकको हितमा कसरी प्रयोग गर्न सक्छौँ ? भनेर सरकारले यसको सोधखोज गरेको छैन । देश–विदेशका विशेषज्ञहरू जम्मा गरेर सम्भावनाहरूको खोजी गरेको छैन । सयौँ वर्षदेखि एउटै आकार–प्रकारका आगोको लप्को बनेर ग्यास बलिरहेको छ, तर हामीले केही गर्न सकेका छैनौँ । न त उचित प्रचारप्रसार न त खोजी अनुसन्धान नै । अरू धेरै कुराको अपेक्षा के गर्नु, त्यति आश्चर्यजनक स्थलमा पुग्नलाई गतिलो बाटोसम्म बन्न सकेको छैन । वर्षा लागेपछि कच्चा बाटोमा गाडी जान गाह्रो हुन्छ । हिँडेर जाँदा सदरमुकामबाट करिब दुई घन्टा लाग्छ, गाडीमा भए ४५ मिनेटजति । कम्तीमा सदरमुकामबाट त्यहाँसम्म पुग्नका लागि सडक पिच गर्न पाए आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्न सक्थ्यो र प्रचार पनि सोहीअनुरूप हुने थियो भन्न सकिन्छ । यदि यो प्राकृतिक ग्यास हो भने आफ्नै देशमा भएको त्यति ठूलो खानीलाई हामी किन बेवास्ता गरिरहेका छौँ ? होइन भने यसलाई धार्मिक पर्यटकीय स्थलका रूपमा किन विकास नगर्ने ? अचम्म त के छ भने यदि यो प्राकृतिक ग्यास नै हो भने यसमा अलिकति केही न केही त तलमाथि हुनुपर्ने, आगोको ज्वाला घटबढ हुनुपर्ने, पानी पर्दा र खडेरी परेको बेला फरक–फरक अवस्था देखिनुपर्ने, तर त्यस्तो कुनै प्रकारको फेरबदल अहिलेसम्म नदेखिएको स्थानीयवासीको भनाइ छ । जिजुबुबाले जस्तो देखेका थिए, हजुरबा–हजुरआमाहरूले पनि त्यस्तै देखे, अहिले छोराछोरी हुँदै नातिनातिनीले पनि उस्तैदेखि रहेका छन् । ज्वालाबाट निस्किएको कालो ध्वाँसोको तिलक बनाएर कतिपयले लगाउने गरेका छन् । ध्वाँसो जम्मा होस् भनेर आगोको लप्का माथि ठूलो पुन्यौँ जस्तो सामान राखिएको छ । शिरस्थान पुग्नेहरूले ज्वालाको कालो तिलक प्रसादको रूपमा लिने गर्छन् । ज्वाला मन्दिरभन्दा माथि रहेको सानो अर्को मन्दिर भने सधैँ कपडाले ढाकिने गर्छ । पर्दाको रूपमा रहेको कपडा उघारेर भित्र हेर्न नमिल्ने धार्मिक विश्वास रहेकाले मन्दिरभित्र के छ भन्ने कुरा कसैलाई थाहा छैन । कसैले कपडाको पर्दा पन्छाएर भित्र के होला भनेर हेर्ने हिम्मत गर्दैैनन् पनि । यसैगरी बत्ती बलिरहने अर्को ठाउँ नाभीस्थानमा सतीदेवीको नाभी खसेको थियो भन्ने धार्मिक विश्वास रहेको छ । यस्तै, सदरमुकामबाट आधा घन्टा मात्रै टाढा रहेको पञ्चदेवल पनि आश्चर्यजनक ऐतिहासिक धरोहर स्थल हो जहाँ २२ वटा अनौठा देवल छन् । वनवास गएका बेला पञ्च पाण्डवले बनाएको देवलका रूपमा परिचित पञ्चदेवल कलात्मक र अनौठा छन् । त्यसो त महाभारतकालमा उल्लेख भएका विभिन्न स्थान र धरोहरहरू ठाउँठाउँमा पाइएका समाचारहरू यदाकदा सुन्ने गरिन्छ । पाण्डवहरूले आफूहरू जहाँजहाँ गए त्यहाँ आफ्ना निशानीहरू छोडेको महाभारतमा उल्लेख छ । सदियौँ बितिसक्दा पनि यी देवलहरू ढलेका छैनन् ।
दैलेख पुगेर त्यहाँका ऐतिहासिक एवम् धार्मिक स्थलहरूबारे सुन्ने, बुझ्ने र देख्ने अवसर पाएकाहरूलाई लाग्छ–ओहो, यस्ता ठाउँहरू छिमेकी मुलुकतिर भए कति चर्चा पाउने थिए होला ? यो जिल्ला कति ठूलो पर्यटकीय स्थल बन्ने थियो होला ? तर, हामीकहाँ त आश्चर्यजनक ती स्थलहरूसम्म पुग्ने बाटोसमेत बनाउन सकिएको छैन । हामीसँग के छ भनेर सोच्ने, सोधखोज गर्ने र भएका कुराको संरक्षण गर्ने चलन पनि छैन । दैलेखमा अरू पनि धेरै ऐतिहासिक धरोहर छन् जसको उचित प्रचारप्रसार हुन सके यो जिल्ला गजबको पर्यटकीय स्थल बन्न सक्छ । हामीसँग के छ भन्नेभन्दा पनि के छैन ? भनेर खोजी गर्ने बानी परेका हामीले आफ्नो देशका ऐतिहासिक स्थलहरूलाई महत्व नै दिएका छैनौँ । भएका कुराको जगेर्ना पनि हुन सकेको छैन । राजनीतिबाहेक मुलुकमा अरू केही छैन झैँ गरी सबै राजनीतिमा झुम्मिँदा मुलुकमा धेरै कुरा छायामा परेका छन् । तर, ऐतिहासिक स्थलहरूको जगेर्नाका लागि संविधान नै बनिरहनुपर्दैन, राज्यले बाटो, खानेपानीलगायतका आधारभूत कुरा पु-याइदिएर अलिकति सरोकार मात्रै राखिदिए पुग्छ ।
प्रतिक्रिया