पुष्पसदनका आभाष चौलागाईं र स्वर्णिमकी आभा पन्तले १०औँ पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत स्कुलतर्फ यू–१६ सिंगल्समा बुधबार स्वर्ण जितेका छन् ।
लैनचौरमा भएको ब्वाइज फाइनलमा आभाषले प्रोक्सिमाका रेखन तामाङलाई ११–४, १२–१४, ११–८ र १२–१० को सेटमा पराजित गरे । छात्राको उपाधि भिडन्तमा आभाले विजेश्वरीकी मारिया थापामगरलाई ७–११, ९–११, ११–८, ११–६ र ११–८ ले हराइन् ।
यू–१४ ब्वाइज सिंगल्समा न्यु होराइजन, बुटवलका रविन सुनारी पहिलो भए । उनले फाइनलमा आफ्नै स्कुलका प्रवेश बस्नेतको चुनौती ११–९, ९–११, ११–६, ६–११ र ११–८ ले समाप्त पारे । सोही स्पर्धाको छात्रा फाइनलमा ब्लु बर्डकी सतिश्मा थापाले ब्लु बर्डकै प्रणिका कुँवरलाई ११–७, ११–९ र १८–१६ को सोझो सेटमा पाखा लगाउँदै पहिलो भइन् ।
काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यू–१२ गल्र्स सिंगल्सको उपाधि विजेश्वरीकी सुस्मिता खड्काले जितिन् । सुस्मिताले प्रोक्सिमाकी दिया देउलामाथि ११–७, ११–९ र ११–८ को जित दर्ता गरिन् ।
स्कुलकै टिम इभेन्टको ब्वाइजमा पुष्प सदन तथा छात्रामा स्वर्णिम पहिलो बने । फाइनलमा पुष्प सदनले न्यु होराइजन, बुटवललाई ३–१ तथा स्वर्णिमले विजेश्वरीलाई ३–० ले पराजित गरे ।
प्रतिक्रिया