नेपाल र भारत फाइनलमा

नेपाल र भारत फाइनलमा


नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एसियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा उपाधिनजिक पुगेका छन् ।

नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० को जित निकाल्दै उपाधिनजिक पुगेको हो । नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे । यस्तै, महिलातर्फ रसिला महर्जनले बंगलादेशकी फारविन विन्ते इमडाडलाई २१–८, २१–५ ले तथा नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउँदै विजयी भएका हुन् । अब उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ । यसअघि नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘बी’को विजेता हुँदै बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उपविजेता टिम हो ।

यस्तै अर्को सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले नै पराजित गर्दै फाइनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलंकाका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए । यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलंकाकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका विष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलंकाका चामथ दियास र चिराथ इलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।