मुस्ताङमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति


मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीय मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा एक करोड ६५ लाख मूल्यबराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार १४ कोठा भएको दुईतले घर, त्यहाँ भएका लत्ताकपडा, खाद्यान्नलगायतका धनमाल जलेर रु. एक करोड ५० लाखको क्षति भएको छ । यसैगरी सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि रु. पन्ध्र लाखको क्षति पुगेको अनुमान गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घन्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । पीडितलाई जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए ।