नेपाललाई ‘अर्गानिक देश’ बनाउने अभियान– देवमान हिराचन

नेपाललाई ‘अर्गानिक देश’ बनाउने अभियान– देवमान हिराचन


debmanकाठमाडौं उपत्यकामा मात्र यतिबेला ६०–७० प्रतिशत मानिस रोगी रहेको विज्ञहरूको भनाइ छ । अल्सर, प्रेसर, सुगर, क्यान्सरजस्ता रोग यहाँ छ्यासछ्यास्ती भइसक्यो । पेटमा विष हालेपछि त पाचन क्रियामार्फत शरीरमा विष नै फैलिने हो । अनि यसबाट अनेक रोगको सिकार हुनु पनि स्वाभाविक नै हो । यहाँ विषैविष खाइँदोरहेछ भन्ने पुष्टि भइसक्यो । अहिले काठमाडौंका तरकारी कति विषाक्त छन् भनी जाँचेको ठाउँमा प्रत्यक्ष हेरियो भने यहाँको बजारका चिजबिज केही पनि खानै नसकिने अवस्था छर्लङ्ग हुन्छ । सब्जीमा रङ लगाइएको छ, माछा–मासुमा चाँडै नसडोस् भनी अखाद्य इन्जेक्सन लगाइएको हुन्छ । यसैले मानिसलाई रोगी बनायो । रोग लागेपछि अलिअलि कमाएको पैसा पनि औषधोपचारमा खर्च हुने भयो । रोगका कारण व्यक्तिको काम गर्ने क्षमता र जाँगर घटेपछि उत्पादन या आम्दानी पनि घट्ने नै भयो । यसका साथै औषधि आयात गर्न अर्बौं रकम सालिन्दा खर्च गर्नुपर्ने भएपछि राज्यलाई पनि अतिरिक्त भार पर्न जान्छ । तीन अर्बभन्दा बढीको औषधि त छिमेकी भारतबाट मात्र आयात हुने गरेको तथ्याङ्क छ अहिले । शिक्षा र विकास निर्माणमा लगाउनुपर्ने पैसा विष र औषधि किन्नमै खर्च गरेपछि मुलुक आर्थिक रूपमा कसरी तङ्ग्रिन सक्छ ?
हामीकहाँ विषको प्रयोग यति बढिसक्यो कि परम्परागत रूपमा बालीनालीमा प्रयोग गरिँदै आएको विषको मात्राले नपुग्ने भइसक्यो । कीराको औषधिले कीरा नमर्ने भएपछि मुसा मार्ने औषधि प्रयोग गर्न थालियो, मुसाको औषधिले पनि नभेटेपछि बिरालो मार्ने औषधि हाल्नुपर्ने अवस्था आयो । अब भन्नुस्, बिरालो मार्ने औषधिले मानिस मार्न सक्दैन त ? सागसब्जी, तरकारी अन्य खाद्य पदार्थमार्फत अलि–अलि गरेर त्यो विष खाँदै हामी जिउँँदै मर्दै छौँ । यही विडम्बनाबाट नेपाली र नेपाललाई मुक्त र स्वस्थ तुल्याउने अभियान हामी सुरु गर्दै छौँ ।
नेपालको अर्थतन्त्रलाई ‘एग्रिकल्चर’बाटै परिवर्तन गर्नुपर्छ र बढीमा चार–पाँच वर्षमै नेपाल एक अग्र्यानिक देशका रूपमा चिनिनुपर्छ भन्ने उद्देश्यका साथ ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट (जीसीआई) कर्मक्षेत्रमा उत्रिएको छ । नेपालको अर्थतन्त्रलाई स्वस्थ तुल्याउने अभियान नि हो जीसीआईको । नागरिक स्वस्थ भएपछि देश त स्वस्थ भइहाल्छ भन्ने व्यवहारबाटै सिद्ध गर्न चाहन्छौँ हामी ।
एक रोपनी जमिनलाई तन्काएर हामी दुई रोपनी बनाउन सक्दैनौँ, तर एक मुरी फल्ने ठाउँमा चार मुरी बनाउनचाहिँ अवश्यै सक्छौँ । टेक्नोलोजीबाट यो सम्भव छ यो कुरा व्यवहारमै देखाउने कोसिस हामी गर्दै छौँ । यहाँनेर म जापानको उदाहरण दिन चाहन्छु । धानको एउटा बियाँबाट दश हजार धान उत्पादन गरिन्छ जापानमा, तर नेपालमा एउटा बियाँबाट बढीमा जम्मा दुई सय पचास बियाँ धान मात्र उत्पादन हुन्छ । टेक्नोलोजीका कारण यति फरक पर्छ । श्राद्ध गर्दा दुःख दिन्छ भनेर बाजेले बिरालो बाँधेका थिए, तर श्राद्धमा बिरालो बाँध्नैपर्ने होला भनेर छोरोले पनि खोजी–खोजीकन बिरालो बाँधेको भन्ने उखानजस्तै छ हाम्रो तौरतरिका । यसैकारण पछि परिरहेका छौँ हामी ।
विडम्बनाको कुरा के छ भने कृषिमा आधारित नेपालको अर्थतन्त्रलाई हामीले पूरै भुलिसकेका छौँ । रेमिट्यान्सलाई आफ्नो जीवनाधार मान्न थालेका छौँ । यो पटक्कै उचित होइन । कृषिबाटै मुलुकको अर्थतन्त्र उकास्न सकिन्छ, नेपालको अर्थतन्त्र तङ्ग्य्राउन आधुनिक प्रविधि र अर्गानिक विधिको कृषि व्यवसायलाई नै बढावा दिनुपर्छ । जीसीआईमार्फत म यही अभियानमा होमिएको छु । नेपालको अर्थतन्त्र तङ्ग्य्राउन यो गर्नैपर्छ ।
ग्लोबल क्यापिटल इन्भेस्टमेन्टले नेपालमा मल, बिउलगायतका जापानी प्रविधि भित्याएर अर्गानिक खेती सुरु गरेको छ । काठमाडौंको रामकोटबाट हामीले यो अभियान सुरु गरिसकेका छौँ । नेपालभरकै कृषकमाझ अर्गानिक खेतीको प्रविधि पु-याउने हाम्रो अभियान हो । एक सय ३० प्रकारका बिउविजन जापानबाट ल्याएका छौँ । किसानलाई जापानी विज्ञहरूबाटै ओरेन्टेसन पनि दिन्छौँ हामी । यसका लागि कृषकसँग काम गर्ने जाँगर र केही जमिन हुनुप-यो । सस्तो मूल्यमा मल, बिउ र निःशुल्क रूपमा खेतीको विधि हामी उपलब्ध गराउँछौँ र कृषकहरूबाट तयार भएको अर्गानिक उत्पादन हामी खरिद गरिदिन्छौँ । देशभरका कृषकलाई यस अभियानमा संलग्न गराउन चाहन्छौँ । अहिले विषेशगरी तरकारी, सागसब्जीहरूमा फोकस गरे पनि दैनिक जीवनमा आवश्यक सबै खाद्य सामग्री नै अर्गानिक विधिबाट उत्पादन गर्ने–गराउने हाम्रो लक्ष्य हो ।
जति उत्पादन भए पनि बजारको खाँचो पर्दैन । चाइना, भारतलगायत अन्य केही मुलुकबाट अर्गानिक सब्जीको माग आएको छ । यो माग पूर्तिका लागि हामी या हाम्रा कृषक दाजुभाइ–दिदीबहिनी सक्षम हुनुप-यो । सिङ्गो नेपाल नै अर्गानिक हुनुप-यो । नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर कृषिमा खास केही गर्न सकिरहेको छैन । यो लज्जाको विषय हो । यसबाट दुखित उत्प्रेरित हुँदै हामी नेपाललाई अर्गानिक बनाउने अभियानमा होमिएका हौँ ।
आज किसानले आवश्यक प्रविधि र ज्ञान पाउन सकेका छैनन्, उनीहरू ठगिएका छन् । पुरानै विधिबाट कृषि पेसा गर्दा लागत पनि नउठ्ने अवस्था छ । आफैँलाई खान पनि पुग्दैन भने बेचेर आम्दानी गर्ने कसरी ? अलिकता मौसम बिग्रियो– किसानको तरकारी नबिक्ने या कममा बिक्ने अवस्था आउँछ । दलालहरूले पनि त्यत्तिकै दुःख दिन्छन् । यो पीडाबाट हामी किसानलाई मुक्त गराउन चाहन्छौँ । मूल्य हामी निर्धारण गरिदिन्छौँ । एउटा बिउबाट १ किलो मुला फल्ने ठाउँमा हाम्रो बिउ र विधि अपनाउँदा चार किलो फल्छ । उत्तिकै दुःख गरेर चार गुणा उत्पादन हुन्छ भने आम्दानी पनि स्वतः चार गुणा बढ्छ । किसान मालामाल बन्छन् । उत्साह बढ्छ । त्यसले थप उत्पादन बढ्छ र मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । तसर्थ, जीसीआईले मल दिन्छ, बिउ दिन्छ, टेक्नोलोजी पनि दिन्छ । हामीले सिकाएअनुसार उत्पादन गरिदिनुस् सामान पनि हामी नै तत्काल नगदमा किनिदिन्छौँ ।
नेपाली किसान अति मिहिनेती छन्, तर परिश्रमअनुसारको फल पाउन सकेका छैनन् । परिवारका सबैजना किसानीमा लागेर पनि आफैँलाई खान नपुग्ने अवस्था छ । अवैज्ञानिक विधिले गर्दा यस्तो भएको हो । जापान सानो ठाउँ भए पनि त्यहाँ वैज्ञानिक विधिले खेती गरिएकोले मारामार खान पुगेको छ । नेपालको एक रोपनीमा दश मुरी उब्जनी हुन्छ भने जापानीले त्यहीँ पचास मुरी उब्जनी गराइदिन्छन् । टेक्नोलोजीको अभावले हामी अभावको समस्या भोगिरहेका छौँ । विकसित टेक्नोलोजी सस्तो र सुलभ मूल्यमा भित्याएर मुलुकलाई सम्पन्न तुल्याउने उद्देश्य हाम्रो छ । यसरी नेपालको अर्थतन्त्रमै परिवर्तन ल्याउने कुरा भएकाले सरकारी निकायसँग पनि समन्वय गर्ने कोसिस गरिरहेका छौँ । सरकारबाट पैसा लिने हाम्रो योजना होइन, तर सरकारी निकायले पनि सिक्नु–बुझ्नु आवश्यक छ र सरकारले नै चाहेमा धेरै काम हुन्छ भनेर समन्वय गर्न खोजिएको हो ।
फेरि एकपटक जापानकै उदाहरण दिऊँ । आज जापानका सामानलाई विश्वले नै किन पत्याउँछ भने ऊ जे गर्छ आफू एक नम्बरमै आउनुपर्छ भन्ने सोचका साथ गर्छ । अत्यन्त मिहिनेती र इमानदार छन् जापानी । जापानबाट सिक्नुपर्ने अर्को मूल कुरा समयको महत्व कति छ भन्ने पनि हो । जापानी एक सेकेन्ड पनि खेर फाल्न चाहँदैनन् । हामीजस्तो रत्नपार्क र टुँडिखेलमा बरालिएर समय बिताउने भन्ने कुरा त उनीहरू सपनामा पनि सोच्न सक्दैनन् । उनीहरू ‘भोलि’ भन्दैनन्, ‘आजै’लाई महत्व दिन्छन् । अनावश्यक गफमा समय बर्बाद नगर्ने र विनम्रता पनि जापानीबाट हामीले सिक्नुपर्ने कुरा हो । संसारभरका प्रत्येक मानिसका लागि भगवान्ले उत्तिकै समय दिएका छन् । यसलाई कसरी सदुपयोग या उपभोग गर्ने भन्ने कुराचाहिँ आफैँमा भर पर्छ । यस्तै, एउटा मान्छे हुर्काउन पचास वर्षको समय लिनुपर्छ भने एउटा रूख हुर्काउन सय वर्षको समय लिनुपर्छ भन्ने मान्यता जापानिजहरू राख्छन् । हामीचाहिँ आज बिउ रोपेर भोलि नै फल खान खोज्छौँ । मतलब, उनीहरूमा धैर्य छ हामीमा छैन । कुनै योजनालाई धेरै अघिदेखि नै उनीहरू प्लान गर्छन्, हामीचाहिँ अहिलेका लागि अहिले नै प्लान बनाउँछौँ । अनि हतारको काम लतरपतर हुन जान्छ ।
सरकारले व्यवस्था गरिदिएको छैन भन्दै आफ्नो कमजोरी छुपाउने र अरूलाई दोषी देखाउन खोज्ने प्रवृत्ति पनि हामीकहाँ निकै छ । तर, काम भन्ने कुरा आफैँले सिर्जना गर्ने हो । जे अनुकूल पर्छ त्यो काम गर्ने हो । काम ठूलो–सानो हुँदैन । ‘नो’ भन्ने शब्द भरसक सोच्नैहुन्न, जे पनि सम्भव छ र गर्न सक्छु भनेर लाग्नुपर्छ । जे काम पनि सकभर आफँैले गर्ने प्रयत्न गर्नुपर्छ । यसले व्यक्तिलाई सुखी र खुसी बनाउँछ ।
सफल व्यक्तिका पछाडि धेरै दुःखका कहानी पनि लुकेको हुन्छ । संसारमा जन्मेपछि सबैलाई सुख, दुःख आइपरेकै हुन्छ । आफ्नै उदाहरण दिनुपर्दा जम्मा डेढ सय डलर बोकेर म जापान गएको थिएँ । त्यसबेला साढे दश रुपैयाँ थियो एक डलरको । जापानमा मैले करिब चालीस वर्ष बिताएँ । यसबीच असफलताले आत्तिएर दुईपटक त आत्महत्यासमेत गर्न खोजेको थिएँ । तर, त्यही कारणले मैले जीवनको सत्य पनि फेला पारेँ । सत्य फेला परेपछि कुनै कुरामा डर पनि लाग्दो रहेनछ र गर्न सक्दिनँ भन्ने कुरा पनि हुँदोरहेनछ । जापानमा सुरुमा भाषाको समस्या आयो, आर्थिक समस्या प-यो । सात दिन सात रातसम्म लगातार नसुतेर पनि मैले काम गरेँ । यसले यो जिन्दगी नै बेकार रहेछ किन यत्रो कष्ट गरेर बाँच्नुपरेको होला भन्ने भाव जाग्यो । राति दुई बजे उठेर समुद्रमा मर्न जाँदा मलाई अनुभूति भयो कि मर्नु नै छ भने जापानमा किन मर्ने ? देशै फर्केर मरे भयो नि भनी फर्किएँ । फर्कंदै गर्दा लाग्यो कि मर्नेजस्तो ‘अन्तिम कष्ट’ गर्न सक्छु भने अरू काम गर्न म किन सक्दिनँ ? मर्न सक्नेले त जस्तोसुकै कठिन काम पनि गर्न सक्छ नि ! अनि, म जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो । अरूलाई एक वर्ष लाग्ने ठाउँमा मलाई चार वर्ष लाग्ला, तर गर्छु भन्ने लाग्यो ।
प्रत्येक पचास करोड प्राणीमा एउटाले मानवको जुनी पाउँछ भन्ने शास्त्रीय मत छ । यस्तो अमूल्य जीवन छ मानिसको भने काम पनि त अमूल्य नै गर्न खोज्नुपर्छ भन्ने हरदम सम्झिएर म काम गर्छु । आफ्नो जिन्दगी आफैँले सफल पार्ने हो, अरूको भर परेर सम्भव नै छैन । जे गर्ने हो, आफैँले गर्ने हो । आफैँ लाग्नुपर्छ, आफ्नो असफलताका लागि अरूलाई दोष दिनु पनि व्यर्थ छ ।
०००
अर्गानिक मल उत्पादन गरेर मुलुकभर वितरण गर्ने सोचले काम गरिरहेको छु । स्वदेशको माग पूरा गरी विदेशमा समेत बेच्ने हो त्यो ‘जीवित मल’ । त्यस मलका लागि आवश्यक ‘ब्याक्टेरिया’ जापानबाट ल्याए पनि बाँकी कच्चा पर्दा सबै स्वदेशी नै हुनेछन् । आगामी माघ–फागुनतिरबाट चितवनको फ्याक्ट्रीबाट कम्पोस्ट मल उत्पादन हुन्छ । अहिले किसानले रासायनिक मललाई तिरेकोभन्दा कम मूल्यमा उपलब्ध गराउने सोचले काम गरिरहेका छौँ ।
अहिले भारतलगायत विदेशबाट आएका मल हामीले जाँच गरी हेर्दा माटो र ढुङ्गा पिसेर मिसाएको पाइयो । यस्तो नक्कली काम भइरहेको छ भने हामीले त विशुद्ध अर्गानिक मल सस्तो मूल्यमा दिने सोच बनाएका छौँ । यस्तो स्वदेशी उत्पादनलाई सरकारले पनि र जनताले पनि प्रोत्साहित गर्नुपर्छ र गर्छन् भन्ने लाग्छ । नक्कली मल बेचेर अनुचित लाभ लिइरहेकाहरूले हाम्रो अभियानमा अवरोध पु-याउन पनि सक्छन् भनी साथीहरूले चिन्ता व्यक्त गरेका छन् । तर, राम्रो काम गर्न डराउनुहुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ म । कसैले यस्तो काममा भाँजो हाल्न खोज्छ भने नेपाली कृषकले नै त्यसको प्रतिकार गर्नुपर्छ र गर्छन् भन्ने मेरो बुझाइ छ । सत्यको एक दिन विजय भएरै छाड्छ ।
अन्तमा, अर्गानिक अभियानलगायत अन्य विविध कर्ममा होमिएको म अहिले ६१ वर्षको भएँ । अहिलेसम्म जे–जति सिकेँ, यो अनुभवलाई अब बाँकी १५–२० वर्षको सक्रिय जीवनमा आफ्नो देशका लागि उपयोग गर्नुपर्छ भन्ने मेरो सोच हो । मैले जीवनको चार दशक अवधि जापानमा गुजारेकाले त्यहाँबाट सिकेका, सिक्न सकिने र सिक्नुपर्ने कुरा त अथाह देखेको छु । जति सिकियो त्यसमध्येबाट सक्दो आफ्नो मुलुकलाई लगाउँm भन्ने मेरो चाहना छ । फेरि पनि भन्छु– सरकारको मुख नताकौँ, अरूलाई दोष दिएर नबसौँ, आफैँले केही गरौँ । अरूका लागि सोच्ने बानी बसालौँ, अरूका लागि सोचे आफ्नो लागि पनि हुन्छ भन्ने जड कुरा बुझौँ ।
(पूर्व एनआरएन अध्यक्ष हिराचनसँग कुराकानीमा आधारित)
प्रस्तुति : जयप्रकाश