प्लाष्टिकमुक्त अभियानको शुरुवात राराबाट गरिँदै

प्लाष्टिकमुक्त अभियानको शुरुवात राराबाट गरिँदै


प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मंसिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।

समुद्र सतहदेखि दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एन्ड टुर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको हो । हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ ।

उक्त कार्यक्रममा पाँच सय मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करिब सात किलोमिटरमा सरसफाइ गरी फोहोर व्यवस्थापन गरिनेछ । कार्यक्रमअन्तर्गत यही मंसिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ ।

प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको बताए । उनले देशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियानलाई निरन्तरता दिने बताए ।

सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरूलाई आकर्षित गर्न सकिने जनाइएको छ ।