नेपालीको मन हिमालजस्तै स्वच्छ : अभयकुमार

नेपालीको मन हिमालजस्तै स्वच्छ : अभयकुमार


funtimeसार्क राष्ट्रहरूको शिखर सम्मेलन हुन करिब अढाइ महिना मात्र बाँकी रहँदा काठमाडौंमा सम्मेलनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू अघि बढाइएका छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सहभागीहरूलाई औपचारिक निमन्त्रणा दिने क्रम पनि आरम्भ गरिसकेका छन् । यसपटकदेखि ‘सार्कगीत’ प्रयोगमा आउनुपर्छ भन्ने आवाज उठिरहेको छ र यसक्रममा पृथ्वी गीतका रचयिता कवि अभयकुमारले एक ‘सार्कगीत’ रचना गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको पनि धेरै भइसकेको छ । तर, सार्कगीतलाई आधिकारिक मान्यता दिलाउनेतर्फ कुनै ठोस पहल नहुनुलाई दुःखद् मानिएको छ । कवि एक कूटनीतिज्ञसमेत भएकोले सार्कगीतको आधिकारिकताका निम्ति आफैँ दौडधुप गर्न सक्ने अवस्थामा शायद अभयकुमार हुनुहुन्न । तथापि सार्क सचिवालय र नेपालको परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसमक्ष विभिन्न माध्यमबाट यस सम्बन्धमा जानकारी पुगिसकेको छ । भारतीय राजदूतावास काठमाडौंमा प्रथम सचिव अभयकुमारले लेख्नुभएको सार्कगीतका सङ्गीतकार सपन घिमिरे हुनुहुन्छ भने गायक–गायिकाहरूमा आभा मुकारुङ, कला राई र सुमी सिंह रहनुभएको छ । गीतकार रचनाकार कवि अभयकुमारलाई तपाईं सार्कगीत लेख्न कुन कारणले पे्ररित हुनुभयो भनी घटना र विचारले जिज्ञाशा राख्दा उहाँको भनाइ छ, ‘मैले रचना गरेको पृथ्वीगीतको राम्रो ‘रेस्पोन्स’ मिल्यो, मानव जगत्लाई समेट्ने भावका सिर्जना मेरो रुचिको क्षेत्र पनि हो । पृथ्वीगीतले पाएको ‘रेस्पोन्स’ले मानवको एकता र एकताभाव झल्कने सिर्जना गर्न मलाई थप पे्ररणा दियो । ‘सार्क’को कुनै गीत नभएको मेरा लागि खट्कने विषय थियो । गीत आवश्यक छ भन्ने लाग्यो । सार्कगीत यस्तो होस् कि पूरा दक्षिण एसियाको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताको सुन्दरता त्यसमा प्रतिबिम्बित होस्, आफ्ना–आफ्नै पहिचान र आकाङ्क्षाको सुवास पनि रहोस् र सहयात्राका निम्ति दक्षिण एसियाली मुलुकहरूलाई पे्ररित गर्ने प्रकारको होस् भन्ने मेरो चाहना थियो । यिनै पे्ररणाबाट म सार्कगीत सिर्जना गर्ने निष्कर्षमा पुगेको हुँ ।’
दक्षिण एसियाली जनता र देशहरूबीच सद्भाव र पे्रमभाव जगाउने पवित्र मनसायले गीत सिर्जना त गर्नुभएछ, तर सार्कले आधिकारिकता दिन आनाकानी गरेकोजस्तो लाग्दैन तपार्इंलाई ?
– कुनै निकाय वा व्यक्तिले आनाकानी गरेको भन्न मिल्दैन । मेरो सिर्जना एउटा मोडल हो । औपारिकताको लागि सार्क सङ्गठन र मुलुकहरू आफैँले पहल गर्नुपर्छ ।
० तपाईंको आफ्नैतर्फबाट चाहिँ यसनिम्ति कुनै पहल भएका छन् कि छैनन् ?
– सार्क सचिवालय र भारतको सार्क विभाग प्रमुखसमक्ष गीत पुगेको छ । यस गीतका गायक र सङ्गीतकारहरूले नेपालका परराष्ट्रमन्त्रीको ध्यान पनि आकर्षित गराएको जानकारी मैले पाएको छु । तर, आधिकारिक ढङ्गले ‘प्रपोजल मुभ’ गर्न आवश्यक हुन्छ ।
० अन्त्यमा, तपार्इं कवि हृदयको मान्छे, नेपाल कस्तो लागिरहेछ ?
– मलाई नेपाल धेरै मन पर्छ । नेपालीको मन हिमालजस्तै स्वच्छ पाउँछु म । यहाँको प्राकृतिक विविधताबाट आकर्षित नहुने कुनै मानिस संसारमा होलान्जस्तो मलाई लाग्दैन । वास्तवमा नेपालमा मेरो पोस्टिङलाई मैले धेरै राम्रो अवसरका रूपमा महसुस गरेको छु ।

अभयकुमार रचित सार्कगीत :
हिमालदेखि हिन्दसम्म नागा हिल्स हिन्दु कुश
महावेली गंगासम्म सिन्धुबाट ब्रह्मपुत्र
लक्षद्वीप, अण्डमान, सगरमाथा, आदम्स् पिक्
काबुलदेखि थिम्पुसम्म मालेदेखि काठमाण्डु
दिल्लीदेखि ढाका, कोलम्बो, इस्लामाबाद
हरेक पाइला साथ–साथ्, हरेक पाइला साथ–साथ्
जोङ्खा, नेपाली, सिंहला, हिन्दी, पास्तो, बङ्ला
उर्दू, इङ्ग्लिस, धिवेही, हरेक पाइला साथ–साथ् हरेक पाइला साथ–साथ्
आफ्ना–आफ्नै आकाङ्क्षा आफ्ना–आफ्नै पहिचान
शान्ति रोजौँ, शान्ति खोजौँ सबै मिली साथसाथ्
हरेक पाइला सार्क–साथ्, हरेक पाइला साथ–सार्क
हरेक पाइला सार्क साथ्, हरेक पाइला साथ सार्क

‘भ्वाइसेस’मा यसरी खुले महानायक
‘मेरो जन्म अत्यन्त परम्परावादी परिवारमा भयो । भविष्यका बाटाबारे बाल्यकालमा मसँग अत्यन्त कम विकल्प थिए । अर्थात्, म के चाहन्छु भन्ने कुराबाट होइन बरु मैले के गर्नुपर्छ भन्ने कुराबाट निर्देशित हुनुपथ्र्यो । मेरा पिताजी परराष्ट्र मन्त्रालयका कर्मचारी हुनुभएकाले मैले कहिले यो मुलुक त कहिले अर्को गर्दै बाल्यकाल गुजारेँ ।’
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको आयोजनामा गत शुक्रबार सम्पन्न ‘भ्वाइसेस’को १७औँ संस्करणमा नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल उपस्थित स्रोतामाझ आफ्नो बाल्यकालबारे यसरी अनुभूति बाँड्दै थिए ।
भारतबाट स्नातक भएका राजेश हमालले त्यहीँको एक फेसन पत्रिकामा मोडलिङ गरेर करियर सुरु गरेका थिए । आफ्ना बुबा मस्कोमा कार्यरत रहँदा कला, संस्कृति तथा धर्मप्रति गहिरो झुकाव बढ्न पुगेको उल्लेख गर्दै उनले भने, ‘छोरो डाक्टर, पाइलट या इन्जिनियर बनोस् भन्ने परम्परागत चाहना परिवारको थियो, तर म भने कला क्षेत्रसँग जोडिन चाहन्थेँ । म यो कुरा बुबासँग व्यक्त गर्न सक्दिनथेँ । वास्तवमा आफ्नो मनको कुरा व्यक्त गर्ने कुनै माध्यम नै नपाएर म छटपटिनुपथ्र्यो । त्यसैले मैले फिल्म ज्वाइन गरेको पनि एउटा अभिनेता बन्नभन्दा पनि मानिसहरूसँग सामूहिक रूपले आफ्ना भावना साट्ने माध्यमका लागि नै थियो ।’
उनका अनुसार त्यतिबेला नेपाली फिल्म क्षेत्रलाई पेसागत रूपले अङ्गाल्ने भन्ने कुरा एउटा ‘अविश्वसनीय य अनिश्चित’ कुराजस्तै थियो । ‘जब पहिलोपटक कुनै व्यक्तिले मसँग फिल्म खेल्ने प्रस्ताव लिएर आयो, मैले सहर्ष स्वीकार गरेँ,’ हमाल सुरुवातका कठिन परिस्थिति सम्झँदै भन्छन्, ‘सुटिङ सुरु भएको दश दिनमै मलाई आउट गरियो । मेरो त्यो हार मैले फिल्ममा कदम राखेको पटक्कै मन नपराउने बुबाका लागि एक ठूलो जितसरह थियो । उहाँले गम्भीरतापूर्वक आफ्नो करियरबारे फैसला लिन भन्नुभयो । मैले तीन वर्ष समय दिए आफूलाई प्रमाणित गरेर देखाउने चुनौती दिएँ । बुबाले त्यो सर्त त मान्नुभयो तर उक्त अवधिभर मैले आफ्नो जिम्मेवारी आफ्नै काँधमा लिनुपर्ने भयो । मेरो करियरको वास्तविक सुरुवात त्यसरी भएको थियो ।’
सन् १९८८ मा जब राजेश हमाल अभिनीत ‘युगदेखि युगसम्म’ नामक चलचित्रले व्यावसायिक सफलता पायो, तब नेपाली सिनेमामै काम गरेर अघि बढ्न सकिन्छ भन्ने आशा उनमा भरपूर जगायो । पारम्परिक बाधा–विरोधविरुद्ध राजेश चुपचाप जुधिरहे ।
२५ वर्षअघि एउटा फिल्म रिलिज हुन झन्डै तीन वर्ष लाग्थ्यो । राजेश सम्झन्छन्, ‘तर, मेरो पहिलो फिल्म सिनेमाघरमा चलिरहेकै बेला म तेस्रो चलचित्रमा अनुबन्ध भइसकेको थिएँ । त्यसबाट आफ्नो फिल्मी करियरप्रति म विश्वस्त भएँ र आफैँलाई भाग्यशाली यसकारण पनि महसुस गर्न थालेँ कि एक वर्षमै २२ वटा फिल्ममा काम गर्ने अभिनेताका रूपमा उभिन पाउने समयसमेत आयो ।’
‘भ्वाइसेस’मा उपस्थित दर्शक–स्रोतासँग खुलस्त हुँदै राजेशले व्यक्तिसँग एक वैकल्पिक योजना त हुनुपर्छ, तर आफूले अपनाइरहेको काम या योजनालाई सफलतासम्म पु-याउन भरपूर मिहिनेत भने गर्नैपर्ने सुझाव दिए ।
कार्यक्रमको अन्त्यमा उनले भने, ‘जब कोही व्यक्ति नयाँ बाटो हिँड्न खोज्छ, त्यतिबेला या त ऊ हराउँछ, या उसलाई मानिसहरूले पछ्याउनुपर्ने अवस्था आउँछ । म सफल भएँ या भइनँ, अर्थात् सफलता केलाई भन्ने, त्यो म जान्दिनँ, तर जब मेरो फिल्मी चरित्रमा सडकका बालबालिका, कुनै भिखारी, मजदुर या यस्तै आममानिसले आफ्नो कथा बोकेको अनुभूत गर्छन्, त्यतिबेला म आफूलाई भाग्यशाली ठान्दछु । मलाई लाग्छ, एक अभिनेताको रूपमा मैले यस्तै पात्रहरूको चरित्र बाँचिरहेको छु ।’

अर्घाखाँचीमा विमलले शुभकामना साट्ने
चर्चित युवा लोकगायक विमलराज क्षेत्रीले यसपटकको दशैँको शुभकामना अर्घाखाँची ठूलापोखराका आफ्ना शुभचिन्तकसँग साट्ने भएका छन् । कलाकार क्षेत्रीलगायत झन्डै एक दर्जन राष्ट्रिय कलाकार र त्यही हाराहारीका स्थानीय कलाकारलाई त्यो अवसर ठूलापोखरा–काठमाडौं सम्पर्क समाजले जुटाइदिएको हो ।
अर्घाखाँचीका लोक संस्कृतिप्रेमीलाई मनोरञ्जन दिने उद्देश्यले ठूलापोखराको एक विद्यालयको प्राङ्गणमा गरिने बृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटनका लागि आयोजकले नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेललाई आमन्त्रण गरेको छ । आयोजक सम्पर्क समाजका अध्यक्ष शिवदेव पाण्डेका अनुसार अर्घाखाँचीका दाजुभाइ, दिदबहिनीलाई बडादशैँमा मनोरञ्जन दिलाउनका लागि मात्र नभएर १० वर्षे द्वन्द्वले रन्थनिएको जनताको मन मस्तिष्कलाई ०६३ को परिवर्तनले ल्याएको खुसियालीलाई पुनर्ताजगी गराउने लक्ष्य पनि कार्यक्रमको मूल्य उद्देश्य रहेको छ । दिनप्रतिदिन पश्चिमेली छाडा संस्कृतिले हाम्रो संस्कृतिमाथि ठाडो प्रहार गरिरहेका अवस्थामा भावी देशका कर्णधार युवा वर्गलाई आफ्नो संस्कृति संरक्षणमा लाग्ने प्रेरणा दिलाउन कार्यक्रम कोसेढुङ्गा हुने कुरामा आफू विश्वस्त रहेको समाजका अध्यक्ष शिवदेव पाण्डेले बताए । असोज १५ गते हुने बृहत् सांस्कृतिक कार्यक्रममा क्षेत्रीका अलवा कस्तुप पन्त, कुलेन्द्र विक, कुमार केसी, जुना श्रीस, मधुसुधन बञ्जाडे, केशव सापकोटा, तेजश रेग्मी, निर्मला थापामगरलगायतका कलाकारले भरपूर मनोरञ्जन दिने भएका छन् ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन उपत्यकामा भएका अर्घाखाँचीवासी र पश्चिम क्षेत्रमै रहेकालाई जानकारी गराउन प्रचारप्रसार गर्ने उद्देश्यले मिडिया सहयोगीका रूपमा घटना र विचार राष्ट्रिय साप्ताहिक, कमान्डर पोष्ट राष्ट्रिय दैनिक, रेडियो अर्घाखाँची, रेडियो देउराली, नयाँ एफएम, सूर्योदय एफएम र जनप्रतिज्ञा राष्ट्रिय साप्ताहिक रहेका छन् ।