अख्तियार भन्छ– सार्वजनिक सेवामा अतिरिक्त दस्तुर कायमै

अख्तियार भन्छ– सार्वजनिक सेवामा अतिरिक्त दस्तुर कायमै


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा सेवा लिँदा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याएको छ ।

आयोगले सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी कायमै भएको भन्ने गुनासो सेवाग्राहीले गरेकाले सार्वजनिक सेवा प्रवाहमा सुधारको आवश्यकता देखिएको जनाएको छ । नागरिकको गुनासोलाई सम्बोधन गर्ने विषयमा सेवाप्रवाह तथा विकास निर्माणसम्बद्ध विभिन्न ३४ वटा विभागका महानिर्देशकसँग आयोगले नियमित छलफल गर्दै आएकोमा बुधबारसमेत त्यस्तो छलफल गरेको र समस्या समाधानका लागि आवश्यक निर्देशनसमेत दिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सार्वजनिक सेवालाई जनअपेक्षाअनुरूप छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले निरन्तर समन्वय बैठक र छलफल गरी सुधारका लागि सुझाव दिने र सुझावबमोजिम अवलम्बन गरिएका कार्यको अनुगमनसमेत गर्न आयुक्त डा. गणेशराज जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिलाई आयोगले सेवाप्रवाह सुधार समन्वय समिति नाम दिएको छ । समितिमा आयोगका सचिव महेश्वर न्यौपाने, सहसचिवहरू रामेश्वर दंगाल, प्रदीपकुमार कोइराला तथा सदस्यसचिवमा उपसचिव लक्ष्मीदत्त कलौनी तोकिनुभएको आयोगले जनाएको छ ।

सरकारी निकायमा सुधारका प्रयास गरिए पनि सेवाग्राहीले अनुभूत गर्न नसकेको, आफ्नो पहिचान नदिई सेवा लिन गएमा सरकारका उच्च अधिकृतस्तरका व्यक्तिले समेत समयमा सेवा पाउने अवस्था नरहेको, सर्वसाधारणले सास्ती खेप्नुपरेको पाइएको छ । आयुक्त डा. सावित्री थापा गुरुङले सदाचार र इमानदारीपूर्वक जनसेवामा समर्पित हुन, असहाय, निमुखा, महिला, वर्गलाई सेवामा पहुँचको लागि सुधार जरुरी रहेको बताइन् ।

अर्का आयुक्त राजनारायण पाठकले सेवा प्रवाह गर्ने कर्मचारीले समयको महत्व बुझेर सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नुपर्ने, अनावश्यक मोबाइल र इन्टरनेटमा झुन्डिने बानीमा सुधार आउनुपर्ने तर्फ जोड दिए । उनले सेवा दिने काउन्टरमा बस्ने कर्मचारीले कार्यालय समयमा मोबाइल स्विच अफ गर्दा राम्रो हुनेसमेत सुझाए । कार्यक्रमका संयोजकसमेत रहेका डा. जोशीले सेवा प्रवाहमा सरलीकरण गर्न, जनअपेक्षाअनुरूप सेवामा समसामयिक सुधार गरी प्रभावकारी ढंगले सेवा प्रवाह तथा विकास निर्माणका कार्य तोकिएको गुणस्तरमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी सबै विभागले विभागमातहत कार्यालयबाट प्रवाह हुने सेवालाई गुणस्तरीय, प्रभावकारी, छिटोछरितो बनाउन आगामी एक महिनाभित्र कार्यविधि र सुधारको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको आयोगले जानकारी दिएको छ ।