विद्रोही मास्दाको परिणाम

विद्रोही मास्दाको परिणाम


nisedhसन् २००२ मा पहिलोपल्ट श्रीलंका आउँदा साँझ ६ बजेपछि सधैं कर्फ्यु लागेको हुन्थ्यो । कर्फ्यु नलागे पनि ६ बजेपछि सडक सुनसान हुन्थ्यो । केटाहरूलाई मोटरसाइकल चढ्न बन्देजजस्तै थियो । २६ वर्षसम्म लगातारको युद्धपछि मुक्ति पाएको श्रीलंकामा अहिले धेरै कुरामा परिवर्तन आएको रहेछ । राति १० बजेसम्म बजार घुम्नु, किनमेल गर्नु, समुद्रवरिपरि आनन्दले बस्नु अहिले राजधानी कोलम्बो सहरवासी र पर्यटकका लागि सामान्य कुरा हो । पहिला र अहिलेको फरकको कुरा गर्दा धेरैको भनाइ उस्तै हुने गर्छ– ‘विकासका लागि शान्ति ठूलो कुरा रहेछ, हामीले शान्ति र विकास दुवै पाएका छौँ ।’ लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)ले सन् १९८३ मा स्वतन्त्र तमिल राज्यको माग राख्दै गरेको आन्दोलनमा विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब एक लाख मानिस मारिएका थिए । सन् २००९ मा विद्रोहीका नेता भेलुपिल्लाई प्रभाकरण तथा उनका प्रमुख सहयोगीहरूलाई मारेपछि श्रीलंकामा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो । विद्रोही नेताहरूको हत्यालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट विरोध भए पनि यसलाई राज्यले गरेको आतङ्कवादको राजनीतिक समाधान भन्दै सो घटनाबारे कुनै पनि अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घ तथा बाह्य पक्षलाई प्रवेश गर्न दिइएको छैन । शान्ति स्थापनाका लागि राष्ट्रपति महेन्द्रा राजापक्षेले चालेको यो कदमलाई ठीक भनेर समर्थन गर्नेहरू मुलुकमा करिब ६० प्रतिशत छन् भनिन्छ । घटनाको पाँच वर्ष बितिसक्दा अहिले पनि मानवअधिकारवादी तथा विदेशी पत्रकारहरूका लागि श्रीलंका प्रवेश त्यति सहज छैन । विशेषगरी पश्चिमा पत्रकारहरूको भिसाका लागि राष्ट्रपति आफैँले निर्णय गर्छन् भनिन्छ । मुलुक द्वन्द्वमा रहेको बेला मुलुकको विकास बजेट सबै हातहतियार तथा युद्ध सामग्री खरिद तथा युद्ध–व्यवस्थापनमा सकिने गरेको थियो । अहिले श्रीलंकावरिपरि बग्दै गरेको समुद्रजस्तै शान्त छ । विद्रोही हत्याका कतिपय विरोधीहरूले भने यसलाई शान्ति नभएर मूर्दाशान्ति छाएको प्रतिक्रिया दिने गरेका छन् । तर, यस्ता प्रतिक्रिया पनि औपचारिक रूपमा भने दिइँदैन ।
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिड)को विज्ञ समूहको कार्यक्रममा भाग लिन श्रीलंका पुगेका बेला यसपटक संयोगले कोलम्बोमा बस्ने नेपालीसँग पनि भेटघाट गर्ने मौका मिल्यो । वरिष्ठ अधिवक्ताद्वय सपना प्रधान मल्ल र पूर्णमान शाक्यको व्यावसायिक छवि राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय जगत्मा पनि त्यत्तिकै ओजपूर्ण छ । सपना प्रधान मल्ल सिडका लागि अन्तर्राष्ट्रिय स्रोतव्यक्ति हुन् । विषयगत विज्ञका रूपमा उनीसँग बोल्न मात्र पाउनुलाई पनि अन्तर्राष्ट्रिय फोरममा मानिसहरू गर्व मान्छन् । पूर्णमान शाक्यका नातेदारका रूपमा चिनजान हुन पुगेका डा. प्रेमराज वैद्य छोटो समयमै हामी सबैका उत्तिकै मिल्ने साथी बने । डा’साब कोलम्बोको नवलोक अस्पतालमा हार्ट सर्जन रहेछन् । श्रीलंकामा मुटुका रोगीहरूको सङ्ख्या प्रशस्तै हुने रहेछ, कारण खानामा नरिवल र चामलको भातको अत्यधिक प्रयोग रहेको उनले बताए । हामीले बिहान–बेलुका दुई छाक दाल–भात खाएजस्तै श्रीलंकामा ब्रेक फास्ट, लन्च र डिनर तीन समय नै भात खाइँदो रहेछ । कार्बोहाइड्रेडको मात्रा बढी भएका कारण मोटोपन एवम् सुगर बढ्ने र सुगरले मुटुको रोग हुने रहेछ । साथै खानेकुराका परिकारमा नरिवलको अत्यधिक प्रयोगले कोलोस्टोरल बढ्ने र त्यसले पनि मुटुलाई नै असर गर्ने रहेछ । कहिलेकाहीँ दिनमा चारवटासम्म मुटुको अपरेसन गर्ने डा. प्रेम कोलम्बोमा लोकप्रिय सर्जन रहेछन् । विदेशी भूमिमा नेपाली डाक्टरको हाइफाइ देखेर मनभित्रैबाट रमाइलो लाग्यो । श्रीलंकामै घरबार बसाएकी अनिता परियार काठमाडौंमा हुँदा महिला तथा मानवअधिकारको क्षेत्रमा काम गर्थिन् । अहिले सार्क विमेन एसोसिएसनसँग सम्बन्धित अनिता र उनको परिवारसँगको छोटो भेटघाट पनि अविष्मरणीय रह्यो । कोलम्बोमा बुहारीलाई असाध्यै माया गरिँदोरहेछ । एक छोरा एक छोरी र माया गर्ने श्रीमान्सहितको व्यक्तिगत जीवनको खुसी र राष्ट्रियताको भावना कहिलेकाहीँ विरोधाभास भएर आफूसामु रहने उनले बताइन् । ‘म यहाँ खुसी छु, तर नेपाली नागरिकता त्याग्नेबारेमा म सोच्नै सक्दिनँ, विदेशीको रूपमा पनि कति बस्ने, के गर्ने–के गर्ने भएको छ । बाबुआमा छोड्नेभन्दा नागरिकता छोड्ने कुरा गाह्रो हुँदोरहेछ ।’ उनको यो भनाइले अन्तर्राष्ट्रिय विवाहको असमन्जस्यतालाई झल्काइरहेको थियो ।
श्रीलंकामा रहेर व्यापार–व्यवसायमा संलग्न ज्ञानेन्द्र श्रेष्ठ र उनकी पत्नी दीप्ति राई यसपटकको भ्रमणमा भेटिएका अर्का नेपाली परिवार हुन्, जो नेपाली भनेपछि सहयोगको हात बढाइहाल्छन् । मुलुकबाहिर नेपाली कामदारका रूपमा मात्र होइन अरूलाई काम दिने हैसियतमा पनि छन् भन्ने कुराको पनि उदाहरण हुन् ज्ञानेन्द्र । उनको क्यासिनो व्यवसायमार्फत केही नेपाली र श्रीलंकनले काम मात्र पाएका छैनन्, श्रीलंकाको क्यासिनो व्यवसायमा नेपालीको उपस्थिति पनि उनले दर्ज गरेका छन् । भन्छन्– अर्काको देशमा त्यति सजिलो त छैन, तैपनि कोसिस गरिरहेको छु । नेपालमा जस्तो कर्मचारी युनियनहरू नभएका कारण व्यापार–व्यवसाय गर्न कोलम्बोमा सहज भएको उनको ठम्याइ छ । शान्ति भएपछि श्रीलंकामा लगानी ह्वात्तै बढेको छ ।
नेपालमा जन्मिएका बुद्धको सम्मान विश्वमै छ । श्रीलंकामा बुद्धप्रतिको सम्मान र बुद्धका थरीथरीका प्रतिमा देख्दा मनै ढक्क फुलेर आउँछ । हजारौँ थरीका बुद्धका प्रतिमा श्रीलंकामा छन् । बुद्धधर्मलाई उनीहरू यति मान्छन् कि बुद्ध जन्मिएको तिथि हरेक महिनाको पूर्णिमाको दिन श्रीलंकामा अफिसियल छुट्टी नै दिइन्छ । पूर्णिमाका दिन कोलम्बो सहर तथा अन्य स्थानमा माछा, मासु र रक्सी बेच्न पाइँदैन । मानिसहरू पनि धूर्त खालका छैनन् । आफ्नै तालमा काम गर्ने उनीहरू सकेसम्म धेरै बोल्न पनि चाहँदैनन् । कोलम्बो सहरको सडक र घरहरू हेर्दा आफूलाई दक्षिण एसियामा छु जस्तो पनि लाग्दैन । मानिसहरू भन्छन्—‘श्रीलंकाको अभिशाप विद्रोही थिए, विद्रोहीलाई मासेपछि धेरै कुरा ठीक भएको छ ।’ यति हुँदा हुँदै पनि धनी र गरिबको खाडल भने मुलुकमा ठूलो छ । सहरलाई सहरजस्तो बनाउन सुकुम्बासीहरूलाई गाउँमा स्थापित गरिएको छ । राजापक्षे सरकारले भ्रष्टाचारको अन्त्य गर्न नसकेको, महँगी बढेको र नातावादलाई महत्व दिएको आरोप राष्ट्रपतिमाथि छ । युद्ध अन्त्य भएपछि तमिललाई आरक्षणको व्यवस्था गरिएको छ । आरक्षण बढाइनुपर्ने माग पनि उनीहरूको छ । श्रीलंकामा सिंघाली र तमिलको बसोबास छ । यी दुवै भाषा एक–अर्काले बुझ्दैनन् । यद्यपि सिंघाली, तमिल र अङ्ग्रेजी तीनवटै भाषा अफिसियल भाषा हुन् । एक–अर्काको भाषा नबुझ्ने भएकाले सिंघाली र तमिल एक–अर्कामा अङ्ग्रेजी बोल्छन् । कुनै बेला मुलुक अधीनस्थ हुनुको फाइदा भाषा, शिक्षा, विकास र सभ्यता अन्य कतिपय मुलुकमा जस्तै श्रीलंकनहरूले पनि उपभोग गरिरहेका छन् ।