खेलकुदमन्त्रीको आक्रोश, मेरो ‘मन्त्री पद’ जाने भो

खेलकुदमन्त्रीको आक्रोश, मेरो ‘मन्त्री पद’ जाने भो


युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले आकस्मिक रूपमा मंसिर १३ गते बिहीबार दशरथ रंगशालाको निरीक्षण गरेका छन् । मन्त्री सुनार बिनाजानकारी आकस्मिक रूपमा दशरथ रंगशालाको निरीक्षणमा आएको स्रोतले जनाएको छ । सो अवसरमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना सँगै भए पनि अन्य पदाधिकारी नभएको बुझिएको छ ।

दशरथ रंगशालाको निरीक्षणपछि निकै चिन्तित र आक्रोशित देखिएका मन्त्री सुनारले त्यसपछि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र निर्माण प्रमुख अरुण उपाध्यायप्रति खनिएको परिषदका कर्मचारीले घटना र विचारलाई जानकारी गराएका छन् ।

समयमा काम भएन, दशरथ रंगशालाको निर्माणमा ढिलाइ भो, १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा हुन नसक्ने भो । उनले भने, ‘मेरो मन्त्री पद जाने भो, राखेपका पदाधिकारीहरूले मेरो मन्त्री पद खाने भए ।’ मन्त्री सुनारले आक्रोश पोखेको निरीक्षण क्रममा मन्त्रीसँगै रहेका एक कर्मचारीले बताए । ०७२ सालमा आएको विनाशकारी भूकम्पले दशरथ रंगशाला नराम्रोसँग प्रभावित भएको थियो । जसको निर्माण ०७४ को अन्तिमतिरबाट मात्रै मात्रै शुरु भएको थियो ।

दशरथ रंगशालाको निर्माणप्रति पहिल्यैदेखि चिन्ता प्रकट गर्दै आएका मन्त्री सुनारले दशरथ रंगशालाको निर्माण पूरा नभएसम्म १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बारेमा कुनै निर्णय नगर्ने बताउँदै आएका छन् । वर्तमान अवस्थामा दक्षिण एसियाली मुलुकका राष्ट्रहरूले १३औँ सागको मिति तोक्न दबाब दिए पनि दशरथ रंगशालाकै कारण देखाएर मन्त्री सुनारले अहिलेसम्म निर्णय गरेका छैनन् ।