पञ्चैबाजा संरक्षणमा युवा

पञ्चैबाजा संरक्षणमा युवा


नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन पाल्पाका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हुँगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो ।

पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगालेपछि उनका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा जुटेका हुन् । अहिले स्थानीय युवाहरुसमेत शुभकार्यमा बाजा बजाउन आकर्षित हुँदै आएका छन् । पहिला दमाईंका समुदायले मात्र पञ्चैबाजा बजाउने र अन्य समुदायका मानिसले नाचगान गरी रमाइलो गर्ने चलन थियो ।

स्थानीय अगुवा तथा प्रशिक्षक धनबहादुर परियारका अनुसार बालबालिका, युवा र वृद्धसम्मका सबै पञ्चैबाजा बजाउन सिपालु बन्नाका साथै बाजाको संरक्षण र परम्परागत संस्कृतिको जगेर्ना हुँदै आएको छ । पञ्चैबाजा बजाउने दक्ष कलाकारको अभाव भएका बेला यहाँका परियार समुदायका साना बालबालिकालाई विद्यालय बिदाका समयमा पञ्चैबाजा बजाउन सिकाउन थालिएको छ भने विवाह, व्रतबन्धलगायत शुभकार्यमा यो बाजा प्रयोग हुनाका साथै आफूहरूको ज्ञान, सीप र क्षमता पनि अभिवृद्धि भएको प्रशिक्षक परियारको भनाइ छ ।

परम्परादेखि चलिआएको पञ्चैबाजा बजाउन पाउँदा, खुशी लागेको स्थानीय युवा सन्दीप दर्नाल बताउँछन् । यस पेशालाई व्यावसायिक बनाउन सके थप आय–आर्जनसमेत हुने सम्भावना रहेको उनको भनाइ छ ।

पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पञ्चैबाजा धार्मिक तथा सामाजिक उत्सवका अवसरमा बजाउने गरिन्छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत स्थानमा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाजस्ता शुभकार्यमा बाजा बजाउने परम्परा छ । पछिल्ला वर्षमा युवा पुस्ता विदेश पलायनसँगै परम्परागत कला तथा संस्कृति लोप हुन थालेको थियो ।

नेपालको पहाडी भेकमा विशेष शुभकार्यमा पञ्चैबाजा बजाउने परम्परा रहे पनि पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले गर्दा नेपाली पञ्चैबाजा बजाउने चलन हटेका बेला यहाँका युवामा पलाएको जोस र जाँगरले कला तथा संस्कृतिको संरक्षणमा चासोको बढेको छ । नेपालको पहाडी भेग र भारतको सिक्किम तथा दार्जलिङ क्षेत्रमा पञ्चैबाजा बजाइने गरिन्छ । यो बाजा नेपालको धार्मिक एवं सांस्कृतिक बाजाका रुपमा प्रयोग हुँदै आएको र मौलिक संस्कृतिको धरोहर पनि भएकाले यसको संरक्षणका लागि राज्यको चासो हुनुपर्ने दतिल अगुवाहरुको भनाइ छ ।

नेपाली संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा साइत खोजिने र साइतमा मङ्गल धून बजाउने चलन छ । मङ्गल धूनका लागि पञ्चैबाजा नै सबैभन्दा प्रचलित बाजा भएकाले यसको महत्व बढ्न थालेको हो ।

अहिले शहरी भेकमा प्रचलित आधुनिक ब्याण्ड बाजासँग पञ्चैबाजाले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । परम्परागत रूपमा नेपालका दमाईं समुदायले मात्र यो बाजा बजाउने गरेकामा पछिल्ला वर्ष मगर तथा बाहुन समुदायका युवा समेत पञ्चैबाजा बजाउन आकर्षित बनेको परियार समुदायका अगुवा बताउँछन् ।