माथिल्लो भोटेकोसीको पुनर्निर्माण ३० प्रतिशत मात्रै

माथिल्लो भोटेकोसीको पुनर्निर्माण ३० प्रतिशत मात्रै


जडित क्षमता ४५ मेगावाट ।रहेको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको पुनर्निर्माणको कार्य ३० प्रतिशत सकिएको छ । बाढी, पहिरो र विनासकारी भूकम्पले थलिएको यो आयोजना आगामी एक वर्षमा पूरा गर्ने लक्ष्यसहित पुनर्निर्माण भइरहेको हो ।

भोटेकोसी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिक्रम स्थापितका अनुसार २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाखको भूकम्प र २०७३ को भोटेकासी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको आयोजनाको मूख्य संरचनाको पुनर्निर्माण भइरहेको छ । उनले बाँधको गेट, डिसेन्डिङ बेसिन (बालुवा थिग्र्याउने पोखरी) को पर्खाल, र विद्युतगृह पुनर्निर्माण भइरहेको र क्षतिग्रस्त बाँधको एक तिहाइ हिस्सा भत्काएर नयाँ संरचना निर्माण गरिने बताए ।

चीनको सिनो हाइड्रोले २०७४ पुसबाट आयोजना पुनर्निर्माणको काम सुरु गरेको हो । कुनै प्रकारको अवरोध नआए २०७६ मंसिरबाट विद्युत उत्पादन गर्ने तालिका छ । सम्भव भएसम्म तालिकाभन्दा अघि नै विद्युत उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ । आयोजना पुनर्निर्माण गर्न ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सरकारले विद्युत ऐन जारी गरेपछि निजी क्षेत्रलाई निर्माण गर्न दिएको भोटेकोसी दोस्रो आयोजना हो ।