विकसित देशका नागरिक आफू समीप हरेक क्षण राज्यको उपस्थिति महसुस गर्छन् । सडकमा गुड्दा, गाडी पार्किङमा राख्दा, उपचारका लागि अस्पताल जाँदा, खेतमा काम गर्दा, कुनै पनि उद्यम व्यापार–व्यवसायमा संलग्न रहँदा या विपत्तिका ठूलठूला घटना हुँदा सभ्य र सम्पन्न मुलुकका नागरिकले राज्यलाई निरन्तर आफ्नै वरिपरि पाइरहेका हुन्छन् । राज्यको मूल उद्देश्य, कर्तव्य र गन्तव्य नै नागरिकहित हो भन्ने आभास विकसित मुलुकका सत्ता सञ्चालक एवम् बासिन्दालाई हरदम भइरहन्छ । तर, सभ्य बन्न बाँकी र विपन्न मुलुकका नागरिक सुकुम्बासीबस्तीका सन्तानजस्तै ‘बेवारिसे’ हुन्छन् । कङ्गाल बस्तीमा सन्तान उत्पादन कर्मले ज्यादा महत्व पाए पनि सन्तानप्रतिको जिम्मेवारीबोध गर्ने या माया–ममता प्रदर्शन गर्ने प्रवृत्ति ज्यादै कम देखापर्ने गर्दछ । हामी नेपाली नागरिक कङ्गाल बस्तीका तिनै बेसहारा सन्तानजस्ता भएका छौँ जसले राज्यको अग्रसरतामा सुख प्राप्तिको अवसरबाट सधैँ वञ्चित हुनुपरेको छ, दुःखमा साथ र विपत्तिमा राहत एउटै सपना मात्र बनिरहेछ । वर्तमान प्रधानमन्त्री सुशील कोइराला राष्ट्रको भन्दा आफ्नै स्वास्थ्यको चिन्ता गर्नुपर्ने अवस्थाबाट गुज्रँदै हुनुहुन्छ, उहाँबाट कुनै आशा र भरोसा राख्नु भनेको आफैँलाई धोखा दिनु मात्र हो भन्ने आमजानकारीको विषय हो । सक्षम र स्वस्थ प्रधानमन्त्री या मन्त्रीहरू पनि जनताको समस्या र समाधानप्रति उदासीन रहँदै आएका छन् । करको मात्रा र दायरा फराकिलो बनाउँदै लैजाने, तर जनताले राज्यबाट सुविधा प्राप्त गरेको अनुभूति नगर्ने जुन परिस्थिति हामी व्यहोर्दै छौँ यसले नागरिक र राज्यबीचको दूरी विस्तार गरेको छ । नागरिक र राज्यबीचको बढ्दो दूरीले विद्रोह जन्माउने खतराको सम्भावना मात्र दर्शाउँदैन, राज्य विघटनको तहसम्मको परिस्थिति निर्माण हुन पनि सक्छ भन्नेतर्फ नीति–निर्माण तहमा रहेकाले हेक्का राखेका छैनन् ।
नागरिक, व्यक्ति हुन् या समूह तिनले राज्यबाट सबैभन्दा बढी अपेक्षा विपत्तिको समयमा राख्ने गर्दछन् । विपत्ति आफैँमा खराब भए पनि राज्यले नागरिकप्रति पे्रम, सद्भाव, ममता र जिम्मेवारी दर्शाउने सर्वाधिक सुन्दर मौकाको रूपमा विपत्तिलाई लिन सकिन्छ । दृष्टान्तका रूपमा छिमेकी मित्रराष्ट्र भारतको कास्मिरलाई यहाँ उल्लेख गर्नु उपयुक्त हुनेछ ।
कुनै समय हिन्दु बहुल जम्मु–कास्मिरमा जनमतसङ्ग्रहमार्फत समस्याको समाधान खोज्ने अवधारणा बन्नेबित्तिकै आक्रामक रूपमा सुरु गरिएको इस्लामिक घुसपैठले त्यहाँको स्थितिलाई अन्ततः ठीक उल्टो पारिदिएको ऐतिहासिक तथ्यबारे हामी जानकार छौँ । यतिबेला जम्मु–कास्मिर मुसलमान बहुल प्रदेशको रूपमा रहेको छ । पश्चिमी किनाराबाट आप्रवासीको ओइरो लागेसँगै उक्त भूक्षेत्रलाई भारतबाट मनोवैज्ञानिक र भौतिक रूपमा अलग्याउन त्यहाँ वैध–अवैध अनेकौँ प्रयास हुँदै आएका छन् । अहिले नेपालको मध्यतराईमा कुनै सीके राउत नामक व्यक्तिले तराईको केही भूभागलाई नेपालबाट अलग्याएर स्वतन्त्र देश बनाउन प्रारम्भिक अभ्यास गरेजस्तै जम्मु–कास्मिरमा वर्षौंदेखि विखण्डनकारी सक्रिय हुँदै आएका हुन् । हिंसात्मक र आतङ्ककारी क्रियाकलापमा संलग्न केही इस्लामी समूहले दिल्ली र सिङ्गै भारत कास्मिरवासीको हितमा नभएको र कहिल्यै नहुने सन्देश प्रवाह गर्दै आएका थिए । निजी महत्वाकाङ्क्षा र पराई स्वार्थबाट पे्ररित ती अतिवादीले आफूहरू मात्र कास्मिरी जनताको वास्तविक सेवक भएको दाबी गर्दै जम्मु–कास्मिरको हितमा नयाँदिल्ली कहिल्यै नरहने विश्वास स्थानीय बासिन्दालाई दिलाउने प्रयास गर्दै आएका थिए । तर, यसपटक कास्मिरमा प्रकृतिले विनासलीलाको जुन भयङ्कर रूप देखायो, त्यसले कास्मिरी जनताको हिमायती र दुश्मन को हो भनी स्पष्ट हुने अवसर दिलाएको छ । जम्मु–कास्मिरको वास्तविक हितैषी ठान्ने विखण्डनकारी इस्लामिक जत्था र तिनका नाइके जनतालाई दुःख परेका बेला बेपत्ता भएका छन्, भारतको केन्द्रीय सरकार र भारतीय सेनाले कास्मिरी जनताको लागि जे गरिरहेको छ त्यसले वास्तविक मित्र या हितैषी को रहेछ भन्ने आभास स्थानीय बासिन्दालाई अवश्य दिलाएको छ । जनतामा उत्पन्न यही आभास नै नयाँदिल्लीसँग कास्मिरी जनताको भावनात्मक तथा मानसिक सम्बन्धको गाँठो कस्सिने आधार बनेको छ । विपत्तिको यस घडीमा भारत सरकार र भारतीय सेनाले दर्शाएको व्यवहारले कास्मिरी जनतामा आफू भारतीय भएकोमा गौरव गर्न सक्ने थप सबुत जुटाइदिएको छ । र, विखण्डनकारीहरूप्रतिको भ्रम हट्ने स्थिति बनेको छ । कास्मिरी जनताको विपत्ति नै अब भारतको राष्ट्रिय एकता थप मजबुत हुने कारण बनेको छ भनियो भने अत्युक्ति हुनेछैन । भारतको कास्मिरमा उत्पन्न भएस्तरकै विपत्ति यसपालि नेपालको सिन्धुपाल्चोक र सुर्खेतसहित पश्चिम नेपालका केही जिल्लामा पनि आइप-यो । सयौँ नागरिकले मृत्युवरण गरे, हजारौँ व्यक्ति घाइते तथा घरवारविहीन भए, नेपालका प्रधानमन्त्री सुशील कोइरालाले यस दुःखद् घटनाको जानकारी सम्भवतः प्रधानमन्त्री राहत कोषमा नगद जम्मा हुन थालेपछि मात्र पाउनुभयो या विपत्ति र क्षतिबारे पूर्ण जानकारी पाउन उहाँले अझै सक्नुभएको छैन । राज्यसत्ता या सत्तामा रहेकाहरूमा देखिने संवेदनाहीन चरित्र उहाँले धेरै राम्ररी प्रस्तुत गरिरहनुभएको छ । क्यान्सर पचाइसकेको दाबी सार्वजनिक रूपमै गर्ने व्यक्तिले एकपटक हेलिकोप्टरमै सयर गरेर भए पनि पीडितको व्यथा बुझिदिएको भए तिनले आफ्नो पीडामा राज्यको वेदना रहेको महसुस गर्न सक्थे । आफ्नो जीर्ण शरीर रक्षाका निम्ति करोडौँ रुपैयाँ खर्चन बिनाग्लानि भाव तत्पर रहेका प्रधानमन्त्री कोइरालाले विपत्तिपीडित जनतालाई राहत उपलब्ध गराउन दर्शाएको कञ्जुस्याइँले नागरिक र राज्यबीचको दूरी बढाउन मद्दत पु-याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपत्तिमा साथ दिएर कास्मिरी जनतासँग जुन स्तरको नाता जोड्नुभयो, त्यसले भारतीय जनता पार्टी र व्यक्तिगत रूपमा नरेन्द्र मोदीलाई भन्दा भारत र भारतको एकतालाई इतिहास स्मरणीय बनाउने निश्चित छ । तर, हाम्रा प्रधानमन्त्रीको यस प्रकरणमा प्रकट व्यवहारले काङ्गे्रस र प्रजातन्त्रको मात्र खिल्ली उडाएको छैन, राज्यप्रतिको भरोसा, विश्वास र आस्थामा खिया पनि लगाएको छ । राज्यसत्ताका प्रतिनिधि मानिएका प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहारले राज्य र नागरिकबीचको सम्बन्धलाई प्रभावित गर्दछ । विपत्तिमा मोदीको व्यवहारले भारतीय राज्यसत्ताप्रति नागरिकको सोच–व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँदै छ भने सुशील कोइरालाको व्यवहारले राज्यप्रति थप अनास्था र वितृष्णा बढाउने काम गरेको छ ।
इराकमा १२ जना निर्दोष नेपाली छपाछप काटिँदा नेपाली राज्यले प्रस्तुत गरेकी निरीहपन अमेरिका या त्यस्तै सभ्य र सम्पन्न देशले दर्शाएको भए सम्बद्ध मुलुकका नागरिकले आफ्नो देशप्रति सायदै गौरव गर्ने थिए । एकजना नागरिक (पत्रकार) काटिएको समाचार सार्वजनिक हुनेबित्तिकै ‘आईएस’विरुद्ध अमेरिका जुन स्तरको युद्ध लड्ने तयारीमा जुटेको छ, त्यस्तै युद्ध नेपालले इराकसँग लड्नुपथ्र्यो या सक्थ्यो भन्ने होइन, पीडित परिवारलाई क्षतिपूर्ति दिन र आततायीविरुद्ध लड्न योगदान पु-याउने साङ्केतिक पहल नेपालले गर्न सक्थ्यो, गरेन । नागरिकको दुःख–पीडाप्रति बेसरोकार रहने राज्यप्रति कालान्तरमा जनताले पनि सरोकार राख्न छोड्नेछन्, यो स्थिति भनेको राज्य विघटनको प्रारम्भ बिन्दु हो । नागरिकका हरेक दुःखमा राज्यको साथ रहन्छ भन्ने पुरानो विश्वास नेपाल भूमिबाट प्रायः हटिसकेको छ । राजस्व या करको दायरा फराकिलो या गहिरो बनाएर वा ठाउँ–कुठाउँ प्रहरीको ‘डण्डा’ बजाएर अनुभूत गराइने राज्यको उपस्थिति दिगो हुन सक्दैन । सुख प्राप्तिको मार्ग प्रशस्त गरिदिन नसक्ने र दुःखमा साथ दिन पनि असमर्थ रहने राज्यभन्दा परायाभूमि नै उपयुक्त ठान्ने स्थिति जुन बनेको छ, यसले अन्ततः नेपाल राज्यको औचित्यमाथि नेपालीबाटै प्रश्न नउठ्ला भन्न सकिन्न । कुनै पनि मुलुकमा विद्रोहको कारण राज्यप्रतिको अनास्था या घृणाभाव बन्ने गरेको छ । त्यसैले आस्था कायम राख्नका लागि पनि राज्यसत्ताले जनसरोकारका विषयमा चासो प्रकट गरिरहनुपर्ने हुन्छ । विपत्तिको समयमा समेत राज्य उदासीन बन्छ भने सुकुम्बासी पिताबाट जवान हुँदानहुँदै सन्तान टाढिएझैं राज्यबाट नागरिक टाढिने छन् । जसले विद्रोहलाई सहज आमन्त्रण गर्नेछ । सुशील कोइरालाहरूले यो गम्भीर पक्षमाथि ध्यान नपु-याए पनि सम्बद्ध सबै पक्षले यसबारे चासो प्रकट गर्न ढिलाइ गर्न नहुने भएको छ ।
प्रतिक्रिया