ब्याडमिन्टनमा भारतलाई मिक्स टिम स्पर्धाको उपाधि

ब्याडमिन्टनमा भारतलाई मिक्स टिम स्पर्धाको उपाधि


भारतले दोस्रो दक्षिण एसियाली यू– २१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा उपाधि हात पारेको छ । भारतले फाइनलमा नेपाललाई ३–१ ले पराजित गर्दै उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको सम्पन्न फाइनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित गरेको थियो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको बेस्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२, २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीले लय समात्न सकेनन् ।

महिला एकलमा नेपालकी रसिला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८, २१–५ ले पराजित भइन् । यस्तै पुरुष जोडीमा नवीन र प्रिन्स दाहालको जोडीले भारतका विष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१–१५, २१–१७ अंकको जित सुम्पे । अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेसिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्रास्टोसँग २१–५, २१–५ ले पराजित हुँदै ३–१ को अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो ।

नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको प्रतियोगितामा बंगलादेश र श्रीलंका तेस्रो स्थानमा रहे ।